भानु भक्त

सोरूमभित्र मजस्ता अरू पनि बाइक थिए तर किन हो कुन्नी उसले मलाई नै किन्यो।

बाहिर निकाल्नुअघि सेल्फ अन बटन थिचेर उसले दायाँ हात दुई/तीन पटक छाती हुँदै निधारमा पुर्‍यायो। मैले सोचें- खप्पर त मेरो इन्जिनभन्दा पनि बलियो छ कि क्या हो, कस्तो ज्ञानीध्यानी मान्छे फेला पर्‍यो!

सोरूमबाट घरसम्म उसले मलाई यसरी लियो कि संसारको सबैभन्दा बहुमूल्य चिज मै हुँ। न टायर खाल्डोमा हाल्यो न प्याँप्याँ र पुपु गर्दै हर्न बजायो। न कसैलाई ओभरटेक गर्न एक्सिलेटर बेस्सरी बटार्‍यो न त जिब्राक्रसमा बाटो काटिरहेकालाई छुँलाछुँलाझैं गरी ह्यान्डिल मोड्यो।

घर पुर्‍याएपछि उसले मलाई सुम्सुम्याएर, एकोहोरो हेर्दै मुस्कुराएको देख्दा म भावुक बनें-उसले वर्षौंदेखि मलाई किन्ने सपना बुनेको रैछ।

त्यो सपना कति रंगीन थियो भने त्यसमा उसको सान जोडिएको थियो, भविष्यको योजना मिसिएको थियो अनि प्रेमिल संसारको कल्पना कोरिएको थियो।

त्यो रात ऊ मलाई किनेको खुसीमा अबेरसम्म जागा बस्यो। म ऊसँगको बाँकी यात्रा कल्पना गर्दै डबल स्ट्यान्ड लगाएर उभिइरहें।

अर्कोदिन बिहानै उसले फेरि  सेल्फअन बटन दबायो। उसैगरी दुई/तीन पटक दायाँ हात छाती हुँदै निधारमा पुर्‍यायो। केही भन्यो तर मैले राम्ररी सुनिनँ।

एकछिनमा हामी चोभार पुग्यौं। अर्कोतिरबाट आइरहेका बाइक र स्कुटी निकै फोहोरी देखिन्थे। तिनीहरूका टायर, साइडलाइट र भ्याइजरको त कुरै छौडौं लुकिङ ग्लासमा पनि मयल परेको थियो। कोहीकोही त हजुरबुवा भन्नुपर्ने खालका थिए- कालो धुँवाको मुस्लो फाल्दै कनेजस्तो गरेर गए।

उसले एक्सिलेटर बटारेपछि म दौडिनै पर्‍यो। बाटोमा थुप्रै खाल्डाखुल्डी थिए। बत्तिएर आउने सुमो र बेलाबेलामा भेटिने बसले धुलोको कुइरीमण्डल बनाउँथे। म फोहोर हुँला भन्ने पीर मलाईभन्दा बढी उसैलाई थियो।

निकैबेरपछि एउटा मन्दिरको छेउमा लगेर उसले ब्रेक हान्यो। गियर घटाएर न्युट्रलमा ल्यायो। ह्याण्डिल लक गरेर ऊ हिँड्यो।

हामी बाइकको जात म मन्दिर पुगें, मेरा साथीहरू कहाँकहाँ पुगे होलान्? तिनीहरूसँग अब यो जुनीमा भेट होला कि नहोला!

त्यहाँ ऊजस्ता थुप्रै मानिस थिए। कहिल्यै नपुगेको मन्दिर देखेर मलाई अनौठो लाग्यो। त्योभन्दा अनौठो त ती मान्छेहरू देखेर लाग्यो जो कुखुरा, हाँस र बोका बोकेर मन्दिरतिर गइरहेका थिए।  मेरा मनमा प्रश्न खेल्न थाले। बाइकको पनि मन हुन्छ र भन्नुहोला, मान्छेको मन पनि कसले देखेको छ र?

सर्वश्रेष्ठ भइपल्टेको मान्छे यी बोल्नै नसक्ने बिचाराहरूलाई बली दिएर भगवानसँग के माग्छन् होला?, आफूले चाहेको काम आफैं गर्न नसकेर भगवानलाई अरूको ज्यान ‘घुस’ दिने मान्छे कसरी सर्वश्रेष्ठ भयो? कि भगवानले पनि मान्छेका काम मिलाएर गर्ने गर्छन्?

उसले छेउमै आएर नरिवल फोडेको आवाजले म झल्याँस्स भएँ।

नरिवलभित्रको पानी अलिकति उसले मेरो ह्यान्डिलतिर छर्कियो। हेडलाइटभन्दा माथि रातो टीका लगायो। अगाडिपछाडिका साइडलाइटमा रातो र सेतो धजा बाँध्यो। दुबै लुकिङ ग्लासबाट माला पहिर्‍याउँदै भन्यो- हे दक्षिणकाली माता रक्षा गरे!

दशैंमा केटाकेटी खुसी भएजस्तै म गदगद भएँ- खप्पर त मेरो इन्जिनभन्दा पनि बलियो छ कि क्या हो कस्तो ज्ञानीध्यानी मान्छे रैछ!

हामी आएकै बाटो फर्कियौं। मलाई आफ्नो हेडलाइटमाथि टीका लगाएको कस्तो देखिन्छ?  हेर्न खुब मन थियो। तर के गर्नु हामी बाइकको जात दायाँबायाँ लुकिङ ग्लास भए पनि आफ्नै हेडलाइट हेर्न सक्दैनौं।

मन्दिरबाट फर्केर उसले मलाई आफ्नो अफिस लियो। सबैलाई प्रसाद र लड्डु खुवायो। उसका साथीहरू मलाई हेर्न आए। कतिले ‘चाबी दे न एकछिन चलाउँछु’ भने। उसले टारिदियो।

फेसबुकमा मेरो र आफ्नो फोटो हालेर लेख्यो-यात्राको नयाँ साथी।

संगत गरेको दुई दिनमै मैले उसको अनुहारको रङ खुट्याउन थालिसकेको थिएँ किनकी ऊ मनको कुरा मनमै लुकाउन सक्दो रैनछ। दिनभरि फेसबुकमा बधाई पाएर होला अफिसबाट निस्कँदा त्यो साँझ उसको अनुहारमा बेग्लै चमक थियो। त्यो चमक हात हुँदै  एक्सिलेटर र खुट्टाबाट गियर र ब्रेकमा मैले पनि फिल गरें।

हरेक दिन अफिस जानुअघि ऊ मलाई अगाडिपछाडि राम्ररी पुछ्थ्यो। सिटको दायाँबायाँ बार्सिलोनाका स्टिकर टाँसेको थियो। काठमाडौंको धुलो-धुँवामा अस्तव्यस्त भएका अरू बाइकका बीच सुरूसुरूमा म भर्खरको  बहरजस्तो देखिन्थें।

ऊ मलाई जहाँ पायो त्यहाँ लिँदैनथ्यो। कसैले ‘एकछिन चलाउँछु दे न’ भन्दा उसलाई कलेजो नै मागेजस्तो लाग्थ्यो। आफूलाई यति धेरै केयर गर्ने मालिक देखेर म दंग पर्थें- खप्पर त मेरो इन्जिनभन्दा पनि बलियो छ कि क्या हो कस्तो ज्ञानीध्यानी मान्छे छ!

दिन गए, महिना बिते। दशैं आयो। घटस्थापनापछि काठमाडौंका सडक खालीखाली भए। ऊ सडकमा मेरो स्पिड बढाउन थाल्यो।

टीकाको दुई दिनअघि उसले उज्यालो नहुँदै मलाई उठायो। एक्सिलेटर बटार्‍यो। बेस्सरी घ्यारघुर पार्‍यो। अघिल्लो दिन नै तेल हालेर ट्यांकी फुल बनाएको थियो। मलाई शंका त लागेको थियो- यति धेरै खाना दिएको छ, निकै टाढा जानु पर्ने होला।

नभन्दै उसले मलाई थानकोट पुर्‍यायो।

ओह्रालो लागेपछि परपर डाँडाका बस्ती देखिए।  मैले सोचें- नेपाल त यस्तो पनि रैछ! काठमाडौंमै जन्मी हुर्की पहिलो पटक थानकोट कटेका धेरै नेपालीले पनि यस्तै सोच्छन् रे।

बाटोमा गाडी यसरी गुडिरहेका थिए कि मानौं ती गाडी होइनन् चीनबाट आउने चुच्चे रेलका डिब्बा हुन्।

जाम लामै थियो। ऊ मलाई घरि दाँयातिर घरि बाँयातिरबाट घुसाउँथ्यो। कत्ति पटक त लुकिङ ग्लासले अरूलाई छोइहाल्थ्यो।

बडेमानका ट्रकहरू आधा सडक नै आफ्नो बनाएर उभिएका थिए। गजक्क परेका ती ट्रक मलाई निकै रोमान्टिक लागे। अधिकांशका पछाडि लेखिएको थियो- हँस मत पगली प्यार हो जायगा।

हाँस्नासाथ प्यार भइहाल्ने मान्छेको जात विचित्रै हो! पढेर मनमनै हाँसो उठ्यो। बाइकको पनि मन हुन्छ र भन्नुहोला, मान्छेको मन पनि कसले देखेको छ र?

गुड्दागुड्दै ऊ झ्याप्पै ब्रेक लगाउँथ्यो। म आत्तिएर रोकिन्थें। अगाडि हान्ने साँढेझैं फाइँफुइँ गर्दै टिपर दाजु आउनुहुन्थ्यो। तिनमा लेखिएको हुन्थ्यो- हिम्मत है तो आजा!

विश्वकर्मा बाबाले हतारहतारमा बनाएको यमराजको साक्षात् रूप टिपरसँग भिड्न जाने हिम्मत म दुई पांग्रे फुच्चेमा कहाँबाट हुन्थ्यो र।

नौबिसे कटेपछि जाम अलि कम भयो। उसले क्लज लियो, गेयर बढायो, एक्सिलेटर बटार्‍यो। मलाई कहिल्यै नदेखेका गाउँ, पहाड, नदी र  मान्छे  हेर्ने मन थियो, उसलाई घर पुग्न हतार।

खाली सडकमा स्पिड ९० कट्न थाल्यो। डर लाग्थ्यो-कतै त्रिशुलीमा पो खस्छु कि।

नारायणघाट पुगेपछि म फेरि अचम्ममा परें- नेपाल त यस्तो पनि रैछ। जताततै सम्मैसम्म।

बाटो खालीखाली थियो। छेउमा त्रिशुली पनि थिएन। उसले निर्धक्क एक्सिलेटर बटार्‍यो।

बुटवल कटेपछि राजमार्ग छोडेर उसले उकालो बाटो समात्यो।

बाटो कच्ची थियो। उकालोमा हिँड्दा परपरका डाँडामा डोजर देखिन्थे, कोही त बाटोमै भेटिए।

मलाई ट्रक जति रोमान्टिक लागेका थिए डोजर त्यति नै मेहनती। कोही जरासहित रूख उखेल्दै थिए, कोही ढुंगा खोस्रिँदै त कोही पहाड काटिरहेका थिए। उनीहरूले काम गरेको हेर्न दुई-चार जना मान्छेहरू पनि भेला भएका रैछन्।

मलाई पनि आफ्नो बाटो आफैं खन्ने डोजरजस्तै हुने रहर पलायो तर के गर्नु हामी बाइकको जात अर्काले बनाइदिएको बाटोमामात्र कुद्नुपर्छ।

साँझपख पहाडको टुप्पोभन्दा अलिकति तल पत्थरले छाएको घरको छेउमा लिएर उसले ब्रेक लगायो। उसलाई हो कि मलाई हेर्न परिवारका सबै बाहिर निस्किए।

काठमाडौंमा जागिर खाएर मैले पनि बाइक किनेको छु भन्ने भावमा छाती फुलाएर उसले डबल स्ट्यान्ड लगायो।

त्यो रात मैले पहिलो पटक आकाशभरि चम्किला तारा देखें।

अर्को दिन बिहान मलाई फेरि लाग्यो- नेपाल त यस्तो पनि रैछ है। काठमाडौंमा कफी सपमा मान्छे भेट्ने, मलमा फिलिम हेर्ने, कम्प्लेक्समा सपिङ गर्ने उसको घरमा एउटा चर्पी रहेनछ। उसका जस्ता घर नेपालका गाउँभरि कति होलान्?

टीका सकियो। आमाले उसलाई ‘एक/दुई दिन बसेर जा न त बाबु’ भनिन्। उसले काठमाडौं नगई हुँदैन भन्यो।

निधारमा अक्षता लगाउँदै आमाले आशिर्वाद दिइन् र अन्तिममा थपिन्- बाइक राम्ररी चलाउनु, मेसिनजस्तो चिज के हो के हो!

सुनेको नसुनेझैं गरी झोला बोकेर ऊ ममाथि चढ्यो।  राति आकाशभरि तारा देखिने उसको घर छोड्नुपर्दा मलाई नरमाइलो लाग्यो तर उसले केही मानेन। पहिलापहिला छोरालाई गाडी चढाउन बजारको बस स्टपसम्म आउने आमाबुवाले उसलाई हेरिरहे। एक पटक फर्केर पनि नहेरी उसले एक्सिलेटर बटारिरह्यो।

फर्केर काठमाडौं आएपछि म पहिलाजस्तो नयाँ रहिनँ। न त मेरो कुनै इज्जत बाँकी रह्यो।

पहिला बिहान-बिहान अगाडिपछाडि पुछेर मलाई सफाचट बनाउने ऊ  पछिपछि टालोले सिटमा आफू बस्ने ठाउँमात्र पुछ्न थाल्यो। लुकिङ ग्लास सफा गर्नु त परको कुरा मिलाउनै छाड्यो।

चामलको बोरादेखि ग्यासको सिलिन्डर बोक्न ऊ मलाई नै लिएर जान्थ्यो। अफिसबाट खाजा खान जानु परे पनि मेरै सेल्फअन बटन दबाउँथ्यो। सबभन्दा अचम्म त त्यतिबेला लाग्थ्यो जब कहिलेकाहीँ साँझतिर ऊ पार्किङबाट मलाई निकाल्थ्यो। दुई मिनेट परको मासु पसलमा पुर्‍याउँथ्यो र एक पाउ मासु हालेको प्लास्टिकको झोला ह्यान्डिलमा झुन्ड्याएर फर्किन्थ्यो।

त्यो मासु पसल जाँदा एउटा कुराचाहिँ मलाई फाइदा हुन्थ्यो। सँगै सोरूममा बसेको एकजना साथीको मालिक पनि मासु किन्न आउँथ्यो। एकछिन भए नि उसलाई भेटेर नियास्रो मेटिन्थ्यो।

‘घरको सिँढी उक्लिनेबाहेक यो कहिँ एक पाइला हिँड्दैन। मिल्ने भए मलाई सिरानीमै लिएर राख्थ्यो होला। कहिलेकाहीँ त दिक्कै लाग्छ भन्या,’ ऊ मालिकको कुरा काट्थ्यो,’छोडेर जान पनि नमिल्ने किस्ता तिर्नै बाँकी छ।’

एकदिन उसले भन्यो- थाहा पाइस्, हाम्रो सोरूममा कुनामा बस्थ्यो नि त्यो बाइक। ऊ त मरेछ। टिपरले हानेर कच्याककुचुक पारिदियो रे।

त्यो बाइक भर्खर कलेज पढ्ने केटाले चलाएको रैछ। सुनेर निकै दु:ख लाग्यो।

मालिकले मासु ल्याएर आए। हामी भारी मन बनाएर छुट्टियौं।

जसरी हामी बाइकको जात गुड्नका लागि बनाएको हो त्यसरी नै मान्छेको जात हिँड्नका लागि बनेको हो भन्ने कुरा मेरो मालिकको दिमागमा घुसेकै थिएन।

त्यसैले मासु एक पाउ खाए पनि उसको पेट बढेर मेरो ट्यांकी छोलाजस्तो भइरहेको थियो दिमाग भने घट्याघट्यै।

पछिपछि त मलाई लाग्न थाल्यो- सडकमा ऊ गन्तव्यमा जान होइन, कुनै प्रतिष्पर्धामा भाग लिन निस्केको ‍हो।

बाटोमा भेटिने हरेक गाडीलाई उसले जित्नै पर्थ्यो। बित्नेवाला केही हुन्नथ्यो तै पनि दुई मिनेट जाममा कुर्नु पर्दा उसलाई औडाहा भइहाल्थ्यो। ऊमात्रै होइन काठमाडौंमा बाइक चढ्ने अधिकांशभित्र दुई मिनेट जाममा कुर्न सक्ने धैर्यता किन हुन्न? मैले अहिलेसम्म थाहा पाएको छैन।

बाटोमा कतै स्कुटी भेटिए आफूलाई एकछिन हेरौं, सँगै जाउँजस्तो लाग्थ्यो। मनै त हो नि!

ऊ भने स्कुटी देख्यो भने झन् बेस्सरी कुदाउँथ्यो। उसलाई स्कुटीलाई जसरी पनि जित्नै पर्थ्यो बरू अगाडि गएर लुकिङ ग्लास मिलाएर हेर्थ्यो।

एकदिन थापाथली चोकमा ट्राफिक अंकलले उसलाई चिट काटिदिनुभयो। त्यो देखेर मलाई यति खुसी लाग्यो कि मनमनै खुच्चिङ भनें।

बागमतीको पुलमाथि सब गाडी जाममा कुरिरहेका थिए। उसले मलाई त्रिपुरेश्वर जाने लेनमा ल्याएर जाम खुलेपछि माइतीघरतिर मोडिदियो। मलाई त थाहा थियो यसरी लेन मिच्न हुन्न भन्ने तर के गर्नु चलाउनेलाई थाहा नभएपछि।

चिट पाएपछि जानु पर्‍यो बग्गीखानाको क्लास लिन।

‘जिब्राक्रसमा पैदलयात्री आए रोक्नुपर्छ। लेन मिच्नु हुन्न। सेतो सिधा रेखा भएको बाटोमा ओभरटेक गर्नुहुन्न। सेता रेखा दुइटा छन् भने त्यो डबल पर्खाल लगाएजस्तै हो। फोनमा कुरा गर्दै मोटरसाइकल चलाउनु हुन्न।’

ट्राफिक अंकलले भिडिओमा देखाएको र भनेको कुरा त मलाई पहिल्यै थाहा थियो। त्यत्ति लेक्चर सुन्न उसले क्लास लिनुपर्‍यो, जरिवाना पनि तिर्नु पर्‍यो।

क्लास लिएपछि मलाई लागेको थियो- अब त ऊ चेत्छ होला।

अहँ उसको भुँडीको बोसो दिनदिनै बढ्यो तर दिमागको गिदी घट्याघट्यै।

एकदिन त राति अफिसछेउमा जाँड खाएर एक्सिलेटर बटारेको बटार्‍यै गर्‍यो।

‘राम्ररी गएस् है’ भन्न आएका साथीहरूलाई लरबरिएको आवाजमा जवाफ फर्कायो- मलाई केही भएको छैन। यति जाबो रक्सी खाएर यो बाइक त के आई क्यान फ्लाइ अ प्लेन।

हाँस्नु कि रूनु।

एकातिर जाँड खाएको मान्छे अर्कातिर मापसे चेक होला भनेर भित्रैभित्रको बाटो। त्यो रात अरूजस्ता बाइक भए बाटैमा ढल्थे मैले त स्टार्ट बन्द पनि नगरी उसलाई कोठामा पुर्‍याएँ। सम्झिँदा अहिले पनि डर लाग्छ।

तपाईंहरूलाई साँच्चै भनेको राति जाँड खाएर आएको श्रीमान् झेल्ने श्रीमती र जाँड खाएको मालिक घर पुर्‍याउने बाइक दुबैको पीडा उत्ति नै हुन्छ।

पत्याउनु हुन्न होला पछिपछि त मलाई उसको व्यवहारले डिप्रेसन होलाजस्तो भइसकेको थियो। सोरूमबाट निस्कँदा मलाई ज्ञानीध्यानी लागेको मान्छे कहिले बाटो काट्नेलाई ठोकौंलाझैं गर्छ, कहिले आफैं लड्छ। ट्राफिक नियम त उसले पुलिसका लागिमात्र मान्दिने हो। बाटोमा ट्राफिक नभेटिने भए हेलमेट नै नलगाएर कुदाउँथ्यो होला।

कहिलेकाहीँ ऊ मलाई लिएर फिलिम हेर्न जान्थ्यो। पार्किङमा भेला भएका बाइकहरू मालिकका कुरा गरेर टाइम पास गर्थे।

‘मेरो मालिक स्पिडमा कुदाउँछ तर जाँड खान्न, ढुक्कै छ’ एउटा एफजेटले भन्यो।

‘मेरो मालिक जाँड त खान्छ तर खाएपछि पठाओ र टुटल बोलाउँछ,’ युनिकर्न दंग थियो।

‘म त यार आफ्ना मालिकका गर्लफ्रेन्ड देखेर हैरान छु। आज एउटी आउँछ भोलि अर्कै,’ पल्सर रोमान्टिक कुरा सुनाउँथ्यो।

कोहीकोही आफ्ना मालिकको कार र गियरवाला साइकल पनि छ भन्दै छाती फुलाउँथे।

बिहानै छोराछोरीलाई स्कुल, दिउँसो अफिस, कोही आफन्त आए कलंकी र बसपार्क, तरकारीको भारी, चामलको बोरा, ग्यासको सिलिन्डर अनि कहिले जाँडले फिट्टु मालिकलाई बोक्नु पर्ने बाइकहरू पनि मनको बह पोख्थे, आफ्नो खप्परलाई धिकार्थे।

छेउमा बुलेट राजा गमक्क परेर बसेको हुन्थ्यो। जहिले आउँदा नि सफाचट देखिन्थ्यो। अरू जसरी मालिकका कुरा काट्दैन्थ्यो।

‘बुलेट दाजु, सोरूमबाट निस्केको भर्खरै हो कि क्या हो,’ मैले सोधें।

‘होइन हो भाइ चारपाँच वर्ष भइसक्यो। बुढो भइयो नि अब त,’ उसले भन्यो।

‘अनि यति सफाचट हुनुहुन्छ त?’

‘त्यो त मालिक हेरेर हुन्छ नि भाइ। तिमीहरूलाई थाहै छैन, मालिकको क्लास हुन्छ क्या। मेरो मालिकले मलाई दिनदिनै धुने मान्छे राखेको छ। तिमीहरूकाले सक्दैनन्।’

‘क्लासस्लासको त के कुरा भयो र बुलेट दाजु, कोहीकोहीका मालिक त हेलिकप्टर नि चढ्छन्। राम्ररी चलाउने मान्छे भए पुगिहाल्यो हामीलाई,’ मैले भन्दिएँ। जेसुकै भए पनि आफ्नो मालिकलाई तल पारेको त कसैलाई चित्त बुझ्दैन नि होइन।

त्यो दिन मेरो मालिक फिलिम हेरेर पार्किङमा आउँदा रात छिप्पिसकेको थियो। माघको रात मौसम निकै चिsssसो थियो।

मलाई स्टार्ट हुनै मन थिएन। सेल्फ बटनले काम गरेन। उसले किक हान्यो। दुई/तीन पटक किक हानेपछि त स्टार्ट हुनै पर्‍यो।

स्टार्ट हुनासाथ उसले मलाई हतारमा कुदायो। बाटो खालीखाली नै थियो। अर्कोतिरबाट आउने गाडी बेगमा थिए।

त्रिपुरेश्वरभन्दा माथि पुगेपछि स्पिड ९० कटाएको थियो। एकछिनमै के बिग्रियो थाहा भएन। टेकुतिरबाट आएको एउटा बाइकसँग म झ्वाम्मै ठोक्किएँ। म एकातिर परें मालिक अर्कैतिर उछिट्टियो। त्यसपछि के भयो मलाई याद छैन।

अर्कोदिन बिहान म टेकुको प्रहरी कार्यालयमा थिएँ।

उसले दक्षिणकाली पुर्‍याएर टीका लगाइदिएको मेरो हेडलाइट फुटेको थियो। दायाँतिरका लुकिङ ग्लास र साइड लाइट थिएनन्। लेगगार्ड पनि भित्र पसेको थियो।

मान्छेहरू भनिरहेका थिए- दुई मोटरसाइकल ठोक्किए, एक जनाको ज्यान गयो। यो मोटरसाइकलवाला वीर अस्पतालको आइसियूमा छ।

ऊ बाँचेकै छ भन्ने सुनेर निकै खुसी लाग्यो। जे-जस्तो भए पनि आफ्नो मालिकको माया लाग्दो रैछ। यत्रो समय संगत गर्दा उसलाई  हाँसेको देखेको छु, मातेको पनि देखेको छु।

उसले पूजा गरेकी दक्षिणकालीमाताले केही गर्न सक्छिन् भने ऊ बाँचोस्। अर्को सालमा दशैंमा घर गएर आफ्नी आमाको हातको टीका लगाओस्।

ऊ यत्तिकै मर्‍यो भने त उसकी आमाले मलाई सराप दिनेछन्।

‘यो जुनी त मेरो बितिनै हाल्यो तिम्री आमाको सरापले अर्को जुनी फेरि बाइक हुन नपरोस्। गेट वेल सुन डियर मालिक!’

प्रतिक्रिया दिनुहोस !