चितवनः नेपालका गहिरा नदीहरुमा जीवन बचाउन हामफाल्ने गोताखोरहरुले दैनिक भत्ता रु. दुई सय पाउँछन् भन्दा तपाई हामीलाई विश्वास नलाग्न सक्छ । आफ्नो ज्यानको पर्वाह नगरी नदीमा होमिएर अरुको जीवन बचाउनेहरुले दैनिक भत्ता रु. दुई सय मात्रै पाउने गर्दछन् ।
नेपालमा सशस्त्र प्रहरीभित्र गोताखोरको संख्या जम्मा १३४ जना मात्रै छ । जोकोही यो जोखिमपूर्ण काममा लाग्न सक्दैनन् । लाग्नेहरु ज्यान जोखिममा राखेर नदीमा होमिँदै गर्दा उनीहरुलाई दिईने प्रोत्साहन रकम ज्यादै न्यून छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मकवानपुर अन्तर्गतको नं. १७ गण हेडक्वाटर चितवनले आजदेखि शुरु गरेको गोताखोर अनुशिक्षण तालिमको उद्घाटन हुँदै गर्दा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) अन्जनीप्रसाद पोखरेलले भावुक रुपमा गोताखोरहरुको पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो “हामीसँग गोताखोर निकै कम छन्, भएकाहरुलाई सुरक्षित उपकरण दिन सकिएको छैन ।” यहाँ रहेका १० जना गोताखोरका लागि तीन सेट मात्रै सुविधासम्पन्न लाईफज्याकेट छन् । उहाँले थप्नुभयो “गहिरा नदीमा ज्यानको बाजी राखेर उद्धारमा खटिने गोताखोरले दैनिक रु. दुई सय मात्रै भत्ता पाउँछन् ।”
सँगै काममा लाग्नेहरुलाई यो भत्ता छैन । विदेशमा रहेका गोताखोरहरुलाई राज्यले धेरै सुविधा दिने गरेको भन्दै उहाँले यहाँ नदीमा हामफाल्नेहरुलाई सुरक्षित उपकरण जडित ज्याकेट समेत दिन नसकिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “हामी पानीबाट शव निकाल्ने होइन, जीवित मानिस उद्धार गर्न सक्छौं, त्यसका लागि सुरक्षित उपकरण र गोताखोरलाई प्रोत्साहन गर्न सक्नु पर्छ ।”
मृत्युको संघारमा पुगेका मानिसहरुको जीवन रक्षा पैसासँग तुलना नहुने भन्दै उहाँले यसका लागि सबैकिसिमका स्रोत साधनको व्यवस्थापन हुनु पर्ने बताउनुभयो ।
यस बाहिनी अन्तर्गत यहाँ १० जनालाई १० दिनको पुनर्ताजगी तालिम शुरु गरिएको हो । केही दिन अघि सिन्धुलीको खुर्काेटमा १० जनालाई यही किसिमको तालिम दिईएको थियो । प्रदेशभित्रका नदीहरुमा दैनिक एक जनाजसो आत्महत्याका लागि नदीमा हामफाल्ने गरेको तथ्यांक दिंदै उहाँले नदीजन्य विपद्का घटनामा उद्धार गर्ने गरेको बताउनुभयो ।
बि.सं. २०६८ सालमा सशस्त्र प्रहरीले २५ जनालाई बंगलादेश पठाएर गोताखोरको तालिम दिएसँगै नेपालमा गोताखोरको तालिम शुरु भएको हो । कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा नियमित तालिम दिने गरिन्छ । यहाँ १६ जना गोताखोर रहेका छन् । अन्य प्रदेशहरुमा बाँकी गोताखोरले सेवा गरिरहेका छन् ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले गोताखोरहरुको पीडा सुनाएपछि भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले तीन थान उच्चस्तरका उपकरण जडित लाईफ ज्याकेट उपलब्ध गराउने आश्वासन दिनुभयो । साथै उहाँले कार्यविधि बनाएर सहयोग गर्न मिल्ने भएमा नदीमा उद्धारमा लाग्ने गोताखोरहरुलाई दैनिक भत्तामा समेत सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ज्यानको जोखिम मोलेर काम गर्ने गोताखोरहरुलाई सुरक्षित बनाउनु पर्छ र प्रोत्साहन गर्नुपर्छ ।” यहाँ तालिम पाएकाहरुले देशभर पुगेर उद्धारमा सहयोग गर्न सकुन भन्ने उद्देश्यका साथ काम गर्नुपर्ने उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदीजन्य विपद्मा गोताखोरहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । नेपालमा गोताखोर नहुँदा झण्डै एक महिना लगाएर विदेशबाट गोताखोर झिकाएर शव खोज्नुपर्ने बाध्यताको अहिले अन्त्य भएको उहाँको भनाई थियो । गोताखोरहरुलाई सुरक्षित र उर्जा दिन स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
चितवन राप्ती र नारायणी नदीले घेरिएको छ । यससँगै त्रिशुली नदीमा हुने विपद्को उद्धारमा गोताखोरहरु खटिनु पर्दछ । सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण हेडक्वाटर चितवनका प्रमुख प्रहरी उपरीक्षक धनबहादुर बानियाले तालिममा सहभागी भएकाहरुलाई पौडी पोखरी र नारायणी नदीमा तालिम दिईने बताउनुभयो । यसबाट गोताखोरहरु थप प्रशिक्षित हुने उहाँले बताउनुभयो ।
विदेशमा गोताखोरहरुलाई लाइसेन्स दिने र नियमित पुनर्ताजगी तालिम दिने गरेको भएपनि सशस्त्र प्रहरीले पहिलो पटक यस पटकबाट पुनर्जाजगी तालिम दिन शुरु गरेको उहाँले बताउनुभयो । आफूहरुको मुख्य उद्देश्य जीवन बचाउने भएको भन्दै उहाँले तालिमले लक्ष्य पूरा गर्न मद्दत गर्ने बताउनुभयो ।






