चितवन २७ पुस ः खैरहनीको खिचरा महोत्सव स्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रंग–रेखाले सजिएको त्यो पर्खाल कुनै साधारण वाल पेन्टिङ होइन; त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । त्यो क्यानभासमा जीवन भर्दै हुनुहुन्छ चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरी ।
विगत केही वर्षयता हस्तकलामार्फत चितवनको पहिचान चिनाउँदै आउनुभएकी चौधरीका लागि आर्ट केवल पेशा होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिनुभएकी चौधरीले भन्नुभयो, “हाम्रो थारु समुदायको छुट्टै संस्कृति र संस्कार छन् । ती बिस्तारै हराउँदै गएका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।”
ललितकला क्याम्पसबाट आर्टमा स्नातक गर्नुभएकी सोमिना अहिले यहाँका विद्यालयहरूमा आर्ट विषय अध्यापन गर्दै आउनुभएको छ । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय हुनुहुन्छ । चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आउनुभएकी उहाँका विद्यार्थीहरूलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ ।
खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोर्नुभएका चित्रहरूले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रंग चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उहाँ भन्नुहुन्छ, “पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।”

सानैदेखि पेन्टिङप्रति रुचि राख्नुभएकी चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गर्नुभयो । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उहाँमा थियो । आज उहाँका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् । “आर्ट भनेको प्यासन हो,” उहाँले भन्नुभयो, “यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।” यही सोचका साथ उहाँ अहिले अन्य इच्छुकहरूलाई पनि आर्ट सम्बन्धी सीप सिकाउँदै आउनुभएको छ ।
सोमिनाले साना बालबालिकादेखि व्यवसायिक रूपमा आर्ट गर्न चाहनेहरूलाई परामर्श र आर्ट क्लास दिँदै आउनुभएको छ । केही महिनादेखि आफ्नै स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आउनुभएकी उहाँका कलाकृतिको माग बढ्दो छ ।
उहाँले भन्नुभयो, “खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।” सोमिनाका अनुसार आर्टको मूल्य केवल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा निहित हुन्छ । खैरहनीको महोत्सव स्थलको त्यो पर्खाल अहिले केवल रंगले सजिएको छैन; त्यहाँ थारु पहिचान बोलिरहेको छ ।
सोमिनाको कलामा केवल कला मात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।
–––






