नारायणगढ (चितवन), ३ माघः चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा जारी आठौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो–२०८२ मा आज रासायनिक मलको सन्तुलित प्रयोग विषयक सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आयोजनामा हुने उक्त कार्यक्रम देशभरबाट आएका कृषक तथा सरोकारवालालाई लक्षित गरी सञ्चालन गर्न लागिएको हो ।
देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको एक्सपोमा रासायनिक मलको सही र सन्तुलित प्रयोगबारे जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको साल्ट ट्रेडिङ नेपालका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागीले रासायनिक मलको उचित प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्नेछन् । उहाँले भन्नुभयो, “यहाँ देशभरका किसानहरूको प्रतिनिधित्व छ । किसानका सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गरी सही सन्देश प्रवाह गर्ने हाम्रो उद्देश्य हो ।”

अन्तरक्रिया कार्यक्रममा माटो व्यवस्थापन निर्देशनालयका पूर्व सहसचिव डा. हरि दवाडी तथा कृषि मन्त्रालयका पूर्व उपसचिव एवं मल विज्ञ भगवान खतिवडालगायतको सहभागिता रहनेछ । कार्यक्रममा किसान तथा सहकारीका प्रतिनिधिलाई सचेतना प्रदान गर्नुका साथै खुला अन्तरक्रिया समेत गरिने उहाँले बताउनुभयो ।

शुक्रबारदेखि सुरु भएको तीन दिने एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि क्षेत्रसँग सम्बन्धित कम्पनीहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा १०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका स्टल रहेका छन् ।

एक्स्पोमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !