चितवनः यहाँको चितवन मेडिकल कलेज (सिएमसी) नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा उत्कृष्ट बनेको छ । काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको लाइसेन्सिङ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) ले ९३.१० प्रतिशत (५८ मध्ये ५४ उत्तीर्ण) गराएर उत्कृष्ट बनेको हो ।

काउन्सिललेसार्वजनिक गरेको विवरण अनुसार समग्रमा एमबीबीएसतर्फ ६३.५० प्रतिशत र बीडीएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । दोस्रोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत (७७ मध्ये ७१ उत्तीर्ण) र तेस्रोमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ८९.७७ प्रतिशत (८८ मध्ये ७९ उत्तीर्ण भएका छन् ।

चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइराला वर्षमा तीन पटक हुने काउन्सिल परीक्षामा यहाँका विद्यार्थीले राम्रो नतिजा ल्याउने गरेका छन् । विदेशमा पढेका विद्यार्थीले धेरै पटक परीक्षा दिने गरेको भएपनि नेपालमा पढेका विद्यार्थीको नतिजा राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालका कलेजका विद्यार्थीको नतिजा राम्रो छ, त्यसमा पनि हाम्रो उत्कृष्ट भएको छ ।”

बाहिर पढेकाहरुले सात÷आठ पटकसम्म परीक्षा दिन बाध्य हुने गरेको भएपनि यहाँका विद्यार्थीले दुई पटकभन्दा बढी परीक्षा दिन नपर्ने गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “हाम्रा विद्यार्थीले बढीमा दुई पटक परीक्षा दिंदा उत्तीर्ण हुने गरेका छन् ।”

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त चितवन मेडिकल कलेजका अन्य संकायका विद्यार्थीहरुको पनि गुणस्तर राम्रो भएको उहाँको दावी छ । कलेजले स्नातकमा एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ्ग, बिएस्सी मिडवाईफरी, पब्लिक हेल्थ, फार्मेसी, बिएस्सी एमएलटी (ल्याब), बिएस्सी एमआईटी (रेडियोग्राफी) को पढाई हुन्छ ।

यस्तै स्नातकोत्तरमा एमडि÷एमएस, एमएन, एमपिएच, एमएस्सी माईक्रोबायोलोजि को पढाई हुन्छ । यसैगरी बिशिष्टिकृत तर्फ एमडि÷एमसिएचमा १० विधामा पढाई हुँदै आएको छ ।

कलेजमा अहिले एक हजार चार सय विद्यार्थी अध्ययनरत छन् । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले नेपालका क्याम्पसहरुको नतिजा राम्रो भएको प्रमाण काउन्सिलको नतिजाले दिएको बताउनुभयो । आफूहरुले स्वदेश र विदेशमा अध्ययन गरेका अनुभवी प्राध्यापकहरुलाई भित्र्याएर उच्चगुणस्तरको पढाई गर्न सकेकै कारण नतिजामा अब्बल हुन सकेको बताउनुभयो ।

उहाँले भन्नुभयो “विद्यार्थीहरुको पहिलो रोजाईको रुपमा चितवन मेडिकल कलेज पर्नुको कारण उच्च गुणस्तरको पढाई र धेरै बिरामी अस्पतालमा आउने भएकाले प्रयोगात्मक कक्षा राम्रो हुँनु हो ।”

काउन्सिलका अनुसार नेपालको समग्र नतिजा राम्रो हुँदा विदेशका कलेजका विद्यार्थीहरुको नतिजा त्यति राम्रो छैन । यसै परीक्षामा नेपालको समग्र नतिजा ७६.७९ प्रतिशत रहेको छ । यस पटक एक हजार २५४ जनाले परीक्षा दिंदा ९६३ जना उत्तीर्ण भएका छन् ।

यस्तै बंगलादेशमा पढेका ४१.१४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । ३६७ जनाले परीक्षा दिंदा १५१ जना मात्रै उत्तीर्ण भएका छन् । चीनमा अध्ययन गरेका १३३ जना मध्ये २० जना मात्रै उत्तीर्ण छन् । यो १५.०४ प्रतिशत हो । ईजिप्टमा पढेका दुई जनाले परीक्षा दिएकोमा दुवै अनुत्तीर्ण छन् । भारतमा पढेका २६ जना मध्ये ११ जना अर्थात् ४२.३१ प्रतिशत उत्तीर्ण छन् ।

यसैगरी फिलिपिन्समा पढेका ४२ जना मध्ये १२ जना मात्रै उत्तीर्ण भएका छन् । यो २८.५७ प्रतिशत हुन आउँछ । रसियामा पढेका तीन जना परीक्षा दिएकोमा तीनै जना अनुत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस !