चितवनः यहाँ निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ५५ प्रतिशत पुगेको छ । भुक्तानी नपाएर केही समय रोकिएको काम पुनः शुरु भएको हो ।

निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै झण्डै एक महिना काम रोकेको थियो । निर्माण हेर्दै आउनु भएका भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलका अनुसार वागमती प्रदेश सरकारबाट रु. नौ करोड निकासा भई निर्माण कम्पनीले गरेको कामको भुक्तानी भएपछि पुनः काम शुरु भएको हो ।

निर्माण कम्पनीले लिखित रुपमा निवेदन दिएर काम रोकेको थियो । पोखरेलले भन्नुभयो “झण्डै एक महिना बन्द भयो, भुक्तानी भएपछि झण्डै १० दिन यता काम शुरु भएको छ ।” भौतिक प्रगति ५५ प्रतिशत पुगेको भन्दै उहाँले आर्थिक प्रगति काम भईरहेकाले ४५ प्रतिशत भएको बताउनुभयो ।

रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ । ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिने छ । मैदान, प्याराफिट, टावरको केही निर्माण र फिनिसिङ भईरहेको उहाँले जानकारी दिनुभयो । पहिलो टावरको काम लगभग सकिएको छ । त्यसमा ट्रसका लागि वालको काम भैरहेको छ ।

यस्तै दोस्रो टावरको दुई तलाको ढलान सकेर तेस्रो तलाका लागि पिलर उठाउनको काम भैरहेको छ । प्याराफिट १ को सबै काम सकेर प्याराफिट २ मा ढलाइ सकिएको छ भने स्ल्याबको काम बाँकी छ ।

प्याराफिट ४ मा फर्मा ठोकेर डण्डी तयार गरी ढलानको तयारी गरिएको छ । यस्तै विद्युत पावर केवलहरु भूमिगत गर्ने, भवन भित्र विद्युतको काम गर्ने, पानीको अण्डर ग्राउण्ड पाइपिङको काम अगाडि बढेको छ ।

स्टेडियम बाहिर पहुँच सडक निर्माण तथा मैदानमा पानी जम्न नदिनका लागि जमिन भित्र पाइपहरु राखेर ड्रेनएजको काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो । मैदानका लागि आवश्यक सामग्रीहरु ल्याईसकिएको छ । भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानीको व्यवस्था मिलाईएकाले अब काम नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले आवश्यक सहजीकरण गरिरहेका छौं, निर्माण सम्झौता अनुसार समयमा सम्पन्न गर्न भनेका छौं ।” वागमती प्रदेश सरकारबाट बजेट निकासा हुन केही समय लागेकाले काम रोकिएको भएपनि अहिले काम पूर्ववत अवस्थामा भईरहेको उहाँले बताउनुभयो ।

बि.सं. २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते अर्थात ३० महिना भित्र सक्ने गरी कुल रु. ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो । धुर्मस–सुन्तली फाण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्र मार्फत् काम थालेको हो । पहिला नै फाउण्डेशनले ५ हजार जना बस्न मिल्ने प्याराफिट तयार गरेको थियो । अहिले थप १० हजार क्षमता थप्ने लगायत भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने सम्झौता ठेकेदार कम्पनीसँग महानगरले गरेको छ । मैदानमा ५ वटा पिचहरु बन्ने छन् ।

प्रदेश सरकारले रंगशाला निर्माण ठेक्काको कुल रकमको ७० प्रतिशत बेहोर्ने छ । बाँकी महानगरपालिका र केन्द्र सरकारले बेहोर्ने छ ।

प्रतिक्रिया दिनुहोस !