
तीर्थराज अधिकारी
कथा र कथावाचक
म
मान्छेको कोलाहलबाट थाकेर
शान्ति पाउने आशाले
आफ्ना दुःखहरु सुनाउन
महान् मान्दै
हिमालसामु पुगेँ ।
मैले हात जोड्दै
जति पुकारा गरेपनि
तिनले मेरो सहानुभूतिमा
अलिकति पनि शिर झुकाएर
अहँ सान्त्वना दिएनन् !
मैले उसरी नै
नदी र झरनासामु
आफ्ना दुःखकष्टका
कथाहरु सुनाएँ
ती पनि
आफ्नै गतिमा कुदे
तिनले मेरा कुनै पनि कुरा सुन्न चाहेनन् !
उनै कथाहरु
पुनरावृत्ति गर्दै
मैले चराहरुलाई सुजनउन खोजेँ
नजिक नपर्दै
मलाई नै झन्
सिकारीजस्तै ठानेर
ती आफैँ कहालिँदै उँडे !
फेरी उनै कथाहरु
मैले फूलहरुलाई सुनाउन खोजेँ
ती पनि
निषेधको सङ्केत गर्दै हल्लिए ।
यसै गरी
जूनले––
हतारले बादल ताने,
घामले––
उल्टै आगो ओकले !
थकित मेरो तातो निश्वासले
ढुङ्गाको सिरानी र माटाको आछ्यानमा
शीतलताको आभास गर्दै छ
बिस्तारै आँखाहरु
लोलाउँदै गए भने
मेरा यी जलनका कथाहरु
मैले कहिल्यै
सायद कुनै पनि पात्रलाई
सुनाउनपर्ने छैन
सुन्ने श्रोताहरु
खोज्नुपर्ने छैन ।