चितवन), ४ चैत : चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाको नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न शाखाको अधिवेशनबाट अध्यक्ष पदमा गोविन्द अर्याल सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । अधिवेशनले अर्यालको नेतृत्वमा मनोनितसहित १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा बन्दना देवकोटा, सचिवमा सुशील पन्त, सहसचिवमा आयुष न्यौपाने र कोषाध्यक्षमा युवराज क्षेत्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा कुलप्रसाद काफ्ले, प्रेमप्रसाद सापकोटा, बबिलाल तामाङ, सन्तोष बस्ताकोटी, आरजु देवकोटा, आशिष अधिकारी, गीता शर्मा र अस्मिता पराजुली रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष अर्यालका अनुसार आगामी वैशाख ५ गते काठमाडौँमा हुने संघको राष्ट्रिय महाधिवेशनका लागि चितवन शाखाबाट रामेश्वर रिजाल र प्रेमप्रसाद सापकोटालाई केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । निर्वाचनपछि अध्यक्ष अर्यालले आफू र सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएकोमा सबैप्रति धन्यवाद व्यक्त गर्दै चितवनबाट चलचित्र क्षेत्रको विकासका लागि सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले चितवनलाई चलचित्र नगरीका रूपमा विकास गर्न शाखाले विभिन्न निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
अधिवेशनअघि आयोजित साधारणसभालाई सम्बोधन गर्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सामाजिक सञ्जालका कारण परम्परागत मिडियामाथि दबाब बढेको बताउँदै यस्तो अवस्थामा विधागत पत्रकारितामा थप चुनौती सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले चितवन चलचित्र नगरी बन्नसक्ने सम्भावनायुक्त स्थान भएकाले यहाँका चलचित्र पत्रकारले यस क्षेत्रको प्रवद्र्धनमा भूमिका खेल्नुपर्ने बताउनुभयो । “बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि पर्यटकीय र भौगोलिक हिसाबले केन्द्रविन्दुमा रहेको जिल्ला चितवन हो,” उहाँले भन्नुभयो, “चितवन भोलिका दिनमा फिल्म नगरी बन्न सक्ने ठाउँ हो । कला र साहित्यका लागि पनि यो केन्द्रविन्दु बन्न सक्छ ।” बलामीले चितवनमा चलचित्र क्षेत्रको पर्याप्त सम्भावना रहेकाले यसको प्रवद्र्धनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । चलचित्रकर्मी यहाँ आउँदा यहाँका स्थानीय सरकारका तर्फबाट समेत सहयोग हुनुपर्ने, पर्यटकीय स्थलहरूको पहिचान गरी ‘सिनेमा संवाद’ जस्ता कार्यक्रममार्फत प्रचार–प्रसार गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पछिल्लो समय मोफसलमा चलचित्र पत्रकारिता केही सुस्ताएको उल्लेख गर्दै चितवनमा पनि यस क्षेत्रका गतिविधि कम देखिएकाले पत्रकारहरू अझ सजग हुनुपर्ने बताउनुभयो । विषयगत र गहिराइमा पुगेर समाचार लेख्न तथा समाचारमार्फत रुपान्तरणकारी भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारीले चितवन चलचित्र क्षेत्रका लागि उर्वर भूमि रहेको बताउँदै यस विषयमा विशेष गरी पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । विधागत रूपमा फरक ढंगले अघि बढ्न महासंघ समन्वय गर्न तयार रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दीपेन्द्र अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्य तथा चलचित्र पत्रकार संघ चितवनका पूर्वअध्यक्ष रविचन्द्र अधिकारी र किशोर खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।






