चितवनः चोरी शिकारीका दृष्ट्रिले सम्बेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्व पूर्ण क्षेत्रहरुमा नयाँ सीसी क्यामेरा जडान एबं पुरानो मर्मतको कामलाई तिब्र पारिएको छ । निकुञ्जको ७ स्थानमा ११वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार कसरा देखि सौराहा सम्मका क्षेत्रमा राखिएका १० वटा क्यामेरा मर्मतको काम भईरहेको छ । कसरा देखि धूर्ब सम्म ११ वटा क्यामेरा नयाँ जडान र ३ वटा पुराना क्यामेरा मर्मतको काम भईरहेको उहाँले जानकारी दिनुभयो । धूर्ब देखि भिम्ले सम्मका ७ वटा क्यामेरा मर्मतका गर्नु पर्ने उहाँको भनाई छ ।
तिवारीका अनुसार चोरी शिकारीका दृष्ट्रिले सम्बेदनशील मानिएका क्षेत्रहरुलाई उच्च प्रथामिकता दिदै काम गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा थप तथा मर्मत गर्न लागिएका ती क्यामेराहरु सम्बेदशीलता अनुसार एक स्थानमा दुई वटासम्म राखिने छ । निकुञ्ज भित्र गर्ने काम भएकाले निकुञ्जले समन्वय र सहजिकरणको काम गर्ने गरेको भन्दै उहाँले एक साता भित्र पुराना मर्मत र नयाँ जडानको काम सकिने बताउनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बिश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा राष्ट्रिय निकुञ्ज बन्यजन्तु संरक्षण बिभागको वन्यजन्तु अपराध नियन्त्रण शाखाको समन्वयमा क्यामेरा जडान तथा मर्मतको काम गरिएको हो । निकुञ्जले एक जना कर्मचारी र आबश्यक सहयोग मात्रै गरेको हो । उहाँले भन्नुभयो “अहिले क्यामेरा मर्मत र तार जडानको काम भईरहेको छ । अझै केही क्यमेरा मर्मत हुन बाँकी छ ।” क्यामेरा मर्मत भए संगै निकुञ्जका सम्बेदनशील स्थानहरु सबै समेट्न सकिने उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा दुईवटा गैंडा चोरी शिकारीले मारे संगै निकुञ्ज र वन्यजन्तुको संरक्षणका लागि क्यामेरा जडानको काम सुरु गरिएको हो । ती क्यामेराको नियमित अनुगमन निकुञ्जले गरिरहेको छ ।





