चितवनः वर्ड फ्लुको प्रभावका कारण घटेको अण्डाको मूल्य वढ्न थालेको छ । उत्पादन घटेको र माग वढेपछि मूल्य बढ्न थालेको हो ।
नेपाल लेयर्स कुखुरा पालक संघले ठूला फार्महरुको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । संघका अनुसार आजबाट लागु हुने गरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ । सानो अण्डा रु ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट रु ५० वढेको हो ।
नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष बिनोद पोखरेलले अण्डको माग वढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयो । दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकोमा वर्ड फ्लूका कारण घटेर २८ लाख हाराहारीमा झरेको उहाँले बताउनुभयो । जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु ५५० मा बिक्रि भएकोमा झरेर रु ४५० मा आई पुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य रु ५७३ दशमलब ६० पर्न आउँदछ । प्रतिगोटा रु १९ दशमलब १२ पर्न आउँछ । अहिले अण्डाको खपत वढे संगै मूल्य वढ्न थालेको उहाँले बताउनुभयो ।
मूल्य वढेपनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन् । पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताउनुभयो । वर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको भन्दै उहाँले प्रभावित भएका किसानलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।






