चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिन नजिकै खहरे खोलामा पहिरो खसेको छ । सो सडक खण्डमा पहिरो खस्न सक्ने अनुमान नगरिएको ठाउँमा पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुख्खा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । बिहान ८ः ३० वजे पहिरो खसेको हो । पहिरो खसे लगत्तैबाट सफाई गर्न थालिएको भए पनि पहिरो खसिरहेकाले काममा समस्या भएको छ ।

सडकमा रोकिएका एम्बुलेन्स लगाएतका अत्याबश्यक सवारी पार गराए पछि दुई तर्फि सडक संञ्चालन गर्न थप दुई घण्टा लाग्ने घिमिरे बताउनुहुन्छ । थप पहिरो नखसेमा दिउँसो सम्ममा सडक सफा गरेर रोकिएका सवारी पार गराउने तयारी छ । मुग्लिन वजारबाट करिब ७ सय मिटर नारायणगढ तर्फ पहिरो स्थल पर्दछ। ४० मिटर माथिबाट ढुङ्गा सहितको पहिरो खसेको हो । पहिरोले २० मिटर क्षेत्र ढाकेको भए पनि सफा गर्न कठिन भईरहेको छ ।

नारायणगढ तर्फबाट एउटा लोडर, एक्साभेटर र व्याक हु प्रयोग गरिएको छ भने मुग्लिन तर्फ एउटा लोडरले सफा गरिरहेको छ । अर्को एउटा लोडर मगाईएको छ । नयाँ डाँडोबाट पहिरो खस्न सुरु भएकाले यो वर्षातमा सो ठाउँमा पहिरोको थप जोखिम हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !