चितवनः जिल्लाका अस्पतालका बहिरंग सेवा वन्द हुँदा ११ हजार भन्दा बढी बिरामी सेवाबाट बन्चित भएका छन् । चितवन र छिमेकी जिल्लाहरुबाट उपचारका लागि आएका बिरामी सेवा नपाए पछि घर फर्कन बाध्य भएका छन् ।
नियमित खाने मधुमेह र उच्च रक्तचापको औषधि सकिएर भरतपुर अस्पताल आउनु भएकी भरतपुर महानगरपालिका वडा नम्बर १० की मायाँ देवि लम्सालले गर्मिको समयमा दुःख मात्रै पाएको बताउनुभयो । उपचार नै रोकेर आन्दोलन गर्न हुन्थेन उहाँले गुनासो गर्नुभयो ।
भण्डाराबाट आमाको पेटको समस्या भएर लिएर आउनु भएका रन्जीत तामाङ्ले बहिरंग सेवा वन्द हुँदा दुःख पाएको बताउनुभयो । उहाँले भन्नुभयो “फर्किनु पर्ने भयो । दुःख पायौं के गर्ने ।” स्थानीय अस्पतालमा परिक्षण गर्दा यहाँ पठाएर आएको भन्दै उहाँले यहाँ पनि सेवा नपाउँदा फर्कन बाध्यहुनु परेको गुनासो गर्नुभयो ।
जिल्लाको एक सरकारी भरतपुर अस्पताल, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडीकल कलेज र २३ वटा साना अस्पतालका बहिरंग सेवा वन्द छन् । भरतपुर अस्पतालमा सोमबार ३ हजार ५ सयले बहिरंग सेवा लिएका थिए । क्यान्सर अस्पतालमा १ हजार २ सय, दुई मेडीकल कलेजमा २ हजार भन्दा बढी र नीजि साना अस्पतालहरुमा ४ हजार भन्दा बढी बहिरंग सेवामा बिरामी दैनिक आउने गर्दछन् ।
नेपाल चिकित्सक संघ चितवनका बरिष्ठ उपाध्यक्ष डा. दिपेन्द्र न्यौपानेले आकस्मिक बाहेकका सेवा संञ्चालन नभएको बताउनुभयो । यस अघि आजका लागि समय लिईएका जटिल प्रकारका नभएका शल्यक्रिया समेत सरकारी अस्पतालमा रोकिएको छ । उहाँले भन्नुभयो “अत्याबस्यक सेवा हामीले सुचारु गरेका छौ । अन्य सेवा रोकिएका छन् ।” चिकित्सक माथि भएको आक्रमण निन्दनिय भएको भन्दै उहाँले दोशिमाथि कारवाही नगरे सम्म सेवा संञ्चालन गर्न कठिन हुने बताउनुभयो । आँफुहरुले चाहेर सेवा नरोकेको भन्दै उहाँले चिकित्सक, स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति हुनु पर्ने बताउनुभयो ।
यहाँको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतीय सिमा क्षेत्र देखि बिरामी आउछन् । नेपालका सबै ठाउँबाट यहाँ बिरामी उपचारका लागि आउने गर्दछन् । अन्य अस्पतालमा चितवन सहित २२ भन्दा बढी जिल्लाबाट नियमित बिरामी आउने गरेको तथ्याङ्क छ ।






