चितवन,९ साउन ः चितवनमा नयाँ आर्थिक वर्ष २०८३÷८४ सुरु भएको पहिलो सातामा एक जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । यस अवधिमा भने डेंगुको कुनै संक्रमित फेला परेको छैन ।
जनस्वास्थ्य कार्यालय, चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार भरतपुर महानगरपालिकाकी एक महिलामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो । हालसम्म जिल्लामा डेंगुका संक्रमित शून्य रहेका छन् भने स्क्रब टाइफसका नौ जना संक्रमित अभिलेखमा रहेका छन् । तीमध्ये एक जना चितवनका स्थानीय र आठ जना अन्य जिल्लाका हुन् ।
हालसम्म डेंगु परीक्षण ५२ जना र स्क्रब टाइफस परीक्षण ७८ जनाको गरिएको छ । चालु आर्थिक वर्षमा हालसम्म डेंगु वा स्क्रब टाइफसका कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको केसीले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म चितवनका २१६ जनामा डेंगु र ६२१ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत जोड्दा डेंगुका २७४ र स्क्रब टाइफसका ८९३ संक्रमित अभिलेखमा रहेका थिए ।
स्थानीय तहअनुसार गत वर्ष सबैभन्दा बढी डेंगु संक्रमित रत्ननगर नगरपालिकामा ८७ जना तथा भरतपुर महानगरपालिकामा ५६ जना भेटिएका थिए । स्क्रब टाइफसका संक्रमित पनि रत्ननगरमा सबैभन्दा बढी २४६ जना, खैरहनी नगरपालिकामा ११७ जना र भरतपुर महानगरपालिकामा ९० जना रहेका थिए ।
गत आर्थिक वर्षभर डेंगुको १० हजार ५२३ र स्क्रब टाइफसको ११ हजार ४१९ जनाको परीक्षण गरिएको थियो । गत आर्थिक वर्षमा पनि डेंगु र स्क्रब टाइफसका कारण चितवनमा कुनै मृत्यु नभएको कार्यालयले जनाएको छ ।
वर्षायामसँगै डेंगु र स्क्रब टाइफसको जोखिम बढ्ने भएकाले घर वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट जोगिने, झाडी तथा बुट्यानमा जाँदा सावधानी अपनाउने तथा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन केसीले आग्रह गर्नुभयो ।
–––






