चितवनः बिगत १० वर्ष देखि तटवन्ध थालिए पनि वजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटवन्धनमा एकै पटक रु ५ अर्बको काम अघि वढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६÷०६७ बाट निरन्तर काम भईरहे पनि हाल सम्म रु १ अर्ब ८३ करोड मात्र बिनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन ।
नारायणी नदी तटवन्धन व्यवस्थापन आयोजना भरतपुर मार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटवन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । बजेटको अभावले सोचेजस्तो काम हुन भने सकेको छैन । नारायणी नदीले चितवन तर्फ भरतपुर महानगरपालिका र नवलपरासी तर्फ गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका एबं बिनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटवन्ध गरि पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर रुपमा लागि परेको बताउनुभयो । उहाँका अनुसार नदी तटवन्धनका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिचाई बिभागले स्विकृत गरी अर्थमन्त्रालय पठाएको छ । जसमा चितवन र नवलपरासी तर्फ तटवन्धनका लागि रु २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको उहाँले जानकारी दिनुभयो । जस मध्य पहिलो चरणमा रु ५ अर्बको कामका लागि बहुबर्षिय खरिद कार्य अघि वढाउन बजेट सूनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल रहेको छ । मन्त्रालयबाट केही दिनमानै स्विकृति हुने जानकारी आँफुले प्राप्त गरेको उहाँले बताउनुभयो ।
बर्षातको समयमा ठूलो जोखिम निम्तिने गरेपछि महानगरपालिकाले सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदै आएको थियो । केही दिन अघि सोही क्षेत्रका सांसद एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा अर्थमन्त्री र सचिबले सार्बजनिक कार्यक्रममा तटवन्धको काम तत्काल अघि वढ्ने प्रतिवद्यता समेत व्यक्त गरेको प्रमुख दाहालले वताउनुभयो ।
महानगरपालिकाले बिकास वहस नाम दिएर गरेको कार्यक्रममा उर्जा, जलश्रोत तथा सिचाई मन्त्रीको समेत उपस्थिति रहेको थियो । नारायणी नदी तटवन्ध गरिए संगै पश्चिम चितवनको धेरै भाग सुरक्षीत हुने र वगरमा परिणत भएको धेरै जमिन उपयोगमा ल्याउन सकिने प्रमुख दाहालको भनाई छ । बहु बर्षिय आयोजनाको रुपमा सो रकम सुनिश्चित भए संगै आउँदा वर्षहरुमा थप रकम निकाशा गराउन सहज हुने र गुरुयोजना अनुसार काम सम्पन्न गर्न सकिने उहाँले जानकारी दिनुभयो । गुरु योजनाअनुसार काम हुँदै गर्दा भरतपुर महानगरपालिकाको नारायणी नदी तर्फको सबै भूभाग सुरक्षित हुने छ । अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भए लगत्तै वहुवर्षिय खरिद कार्य गर्न तयारी गरेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ । आयोजना प्रमुख रबिन्द्र वहादुर थापाले एक दुई दिनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको पत्र दिने जानकारी आँफुले पाएको बताउनुभयो ।
कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दिनेश पौडेलका अनुसार गुरु योजना अनुसार चितवन तर्फ ३५ किलोमिटर र नवलपरासी तर्फ ५७ किलोमिटर तटवन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि रु ९ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । यस वर्ष रु ५ अर्बबाट चितवन तर्फ भरतपुर महानगरपालिकामा ६ दशमलब २७४ मिटर तटवन्ध गरिने योजना रहेको छ भने नवलपरासी तर्फ ४ दशमलब २४६ मिटर तटवन्ध गरिने उहाँले जानकारी दिनुभयो ।
हाल सम्म चितवन तर्फ १५ किलो मिटर र नवलपरासी तर्फ ११ किलोमिटर तटवन्ध गरि सकिएको छ । चालु आर्थिक वर्षमा भरतपुर महानगरमा रु ८ करोड ६५ लाख र नवलपरासीका बिभिन्न स्थानमा रु ९ करोड ३५ लाख वरावरको तटवन्ध गर्नका लागि काम अघि वढाई सकिएको छ । आयोजनाका अर्का सिनियर डिभिजनल इन्जिनियर शिबजी शाहका अनुसार गुरुयोजना अनुसार नदी तटवन्ध गरिदैं गर्दा १ लाख ९८ हजार ६ जना प्रत्यक्ष रुपबाट लाभान्वित हुने छन् । १४ हजार १९ हेक्टर जमिन डुवानबाट बच्ने छ भने कम्तिमा ८० हेक्टर जमिन संरक्षण गरि उपयोगमा ल्याउन सकिने छ ।
नारायणी नदीमा धेरै वाढी आउँदा १४ हजार ४ सय ३ क्यूविक मिटर प्रतिसेकेण्ड पानीको वहाब रहने गरेको अध्ययनले देखाएको शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !