चितवनः कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनले गत आर्थिक वर्ष २०८२÷०८३ मा कुल ७ हजार ८ सय ७६ मेट्रिकटन भन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री गरेको छ । कार्यालयको वार्षिक प्रगति विवरण अनुसार जिल्लामा सबैभन्दा बढी युरिया मलको खपत भएको देखिएको छ ।

शाखा प्रबन्धक राजन बगालेका अनुसार गत आर्थिक वर्षमा युरिया, डिएपी, पोटास र चुन गरी कुल ७ हजार ८ सय ७६ दशमलव ४०० मेट्रिक टन बिक्री वितरण भएको हो ।

विवरण अनुसार गत आर्थिक वर्षमा ५ हजार १०१ दशमलव २५० मेट्रिक टन युरिया मल बिक्री भएको छ । अघिल्लो वर्षको मौज्दात ३४० दशमलव १०० मेट्रिक टनमा यस वर्ष ५ हजार १४२ दशमलव ५०० मेट्रिक टन थप प्राप्त भई कुल ५ हजार ४८२ दशमलव ६०० मेट्रिकटन युरिया जम्मा भएको थियो ।

यसैगरी, धान तथा अन्य बालीका लागि महत्वपूर्ण मानिने डिएपी मल २ हजार ३९४ दशमलव ३५० मेट्रिक टन बिक्री भएको छ । कार्यालयमा यो वर्ष २ हजार १७९ दशमलव ५०० मेट्रिक टन डिएपी प्राप्त भएको थियो भने अघिल्लो वर्षको २८१ दशमलव ०५० मेट्रिकटन मौज्दात रहेको थियो ।

जिल्लामा पोटासको बिक्री भने तुलनात्मक रूपमा कम देखिएको छ । गत आर्थिक वर्षमा कुल ३८४ दशमलव ८०० मेट्रिक टन पोटास बिक्रि भएकोमा ३७७ दशमलव ३०० मेट्रिक टन बिक्री भएको कार्यालयले जनाएको छ । माटोको अम्लीयपन सुधार्न प्रयोग गरिने चुन भने ६३ मेट्रिक टन प्राप्त भएकोमा जम्मा ३ दशमलव ५०० मेट्रिक टन मात्र बिक्री भएको छ ।
हाल कार्यालयमा युरियाः ३८१ दशमलव ३५० मेट्रिक टन, डिएपी ६६ दशमलव २०० मेट्रिक टन, पोटास ७ दशमलव ५०० मेट्रिक टन र कृषि चुन ५९ दशमलव ५०० मेट्रिक टन मौज्दात रहेको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !