काठमाडौंः सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । आज बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोट गर्ने बताइएको छ ।

यद्यपी बैठकको समय भने निश्चित भइनसकेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । ‘बैठक बस्ने भनेको हो, तर अहिलेसम्म समय निश्चित भएको छैन’, ढकालले आइतबार बिहान भन्नुभयो, “कुनैपनि बेला बस्नसक्छ ।” नेता नारायणकाजी श्रेष्ठले आज बैठक बस्ने नबस्ने आफुलाई अहिलेसम्म जानकारी नआएको बताउनुभयो ।

शनिबारको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले आइतबार बस्ने बैठकले मन्त्रि बन्ने नेताको नाममा छलफल गरेर टुंग्याउने बताउनुभएको थियो । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेत समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने भनिएपनि दलहरुबीच मन्त्रालय भागबण्डामै छलफल हुन सकिरहेको छैन । गत साता नै भागबण्डा टुंग्याउने सत्ता गठबन्धनका नेताहरुले बताएपनि गठबन्धन बैठक नै बस्न सेकेको छैन ।

प्रतिक्रिया दिनुहोस !