चितवनः लामो समयदेखि कोभिड १९ को मारमा परेका यहाँका पर्यटन व्यवसायी उत्साहित हुँदै गएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेश पर्यटक समेत आउन थालेपछि व्यवसायी उत्साहित भएका हुन् । यहाँका पर्यटकीय होटलहरुमा माडवारी समुदायका विवाह समेत बुक हुन थालेका छन् ।

यहाँको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा दैनिक सात सय हाराहारी पर्यटक आउन थालेका छन् । बैठक र गोष्ठीका बेला यो संख्या थप हुने गरेको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले भन्नुभयो “होटलका १५ देखि २० प्रतिशत कोठाहरु बुकिङ हुन थालेका छन् ।” सौराहाका होटलहरुमा ५ हजार ५ सय हाराहारी कोठा रहेका छन् । हाल यहाँ आएका अधिकांश पर्यटक नेपाली छन् भने भारतीय र युरोपियन समेत आउन थालेका छन् । उहाँले थप्नुभयो “हामी उत्साहित छौं ।”

संघका पूर्व अध्यक्ष एवं जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार सेप्टेम्बर र अक्टोबर महिनामा गोष्ठीका कार्यक्रम बढी रहेका छन् । उहाँले थप्नुभयो “अधिकांश होटलमा यस्ता कार्यक्रम भईरहेका छन् ।” सरकारले अनएराईभल भिसा दिने भएसँगै पाकिस्तान, स्वीजरल्याण्ड, बेलायत र अमेरिकाका पर्यटकले सोधपुछ गर्ने गरेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “भारतीय पर्यटकहरुले पनि सोधपुछ गरिरहेका छन् ।” कोभिडको रेडजोनबाट नेपाल हटेमा पर्यटकको संख्या बढ्ने उहाँको भनाई छ ।

सौराहामा रहेको होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबार आन्तरिक पर्यटक र अन्य दिनमा गोष्ठी लगायतका कार्यक्रमहरु हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो “आज पनि मेरो होटलमा कोठा खाली छैन ।” केही मात्रामा विदेशी पर्यटकहरु समेत आउन थालेको उहाँले जानकारी दिनुभयो । आउँदो महिनाहरुको लागि माडवारी समुदायको चार वटा विवाह बुकिङ भईसकेको उहाँले जानकारी दिनुभयो । गिरीले भन्नुभयो “अब पहिलेको जस्तो अवस्था रहँदैन ।”

पटिहानीमा रहेको होटल जंगल भिल्लाका सञ्चालक गणेश पौडेल अबका दिनमा पर्यटकीय स्थल पूर्ववत् अवस्थामा फर्किने विश्वास व्यक्त गर्नुहुन्छ । पछिल्ला दिनहरुमा पर्यटक आगमन उत्साहजनक रुपमा बृद्धि भईरहेको भन्दै उहाँले भन्नुभयो “कोभिड पुनः बढेन भने पर्यटक आउछन् भन्नेमा हामी विश्वस्त छौं ।”

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हो । यहाँ आउने पर्यटक अधिकांश जंगल सफारीका लागि आउने गर्दछन् । निकुञ्जभित्रको जंगल सफारी बाहेक अन्य गतिविधि खुल्ला भईसकेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जभित्र तीन चार दिनमा मर्मत गरेर यसै साताबाट जीप सफारी खोल्ने तयारीमा लागेको बताउनुभयो । हाल निकुञ्ज आसपासका सामुदायिक वनहरुमा जीप सफारी भईरहेको छ । बरालले भन्नुभयो “अब चितवनमा पर्यटकको संख्या राम्रो हुनेछ ।”

पर्यटन विज्ञ डा.विश्व सुवेदी विगतको भन्दा अझै धेरै पर्यटक अब दिनमा आउने बताउनुहुन्छ । कोभिडको समयमा दैनिक रु.१ करोड ५० लाखभन्दा बढी यहाँका पर्यटकीय होटलले गुमाएको भन्दै उहाँले अबको समय राम्रो हुने बताउनुभयो । सरकारले हवाई सेवा दिन सकेमा नेपालमा विदेशी पर्यटक धेरै आउने उहाँको भनाई छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालन गर्नुपर्ने भन्दै उहाँले होटल व्यवसायी तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो ।

जिल्लाको सौराहा, पटिहानी, जगतपुर, मेघौली र भरतपुर गरी २२५ पर्यटकीय होटल रहेका छन् । चितवन नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो । निकुञ्जसँगै राप्ती नदी बगेको छ । राप्ती नदीका किनार पर्यटकीय होटल रहेका छन् । यहाँ आउने पर्यटकीय जंगल सफारीमा रमाउने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही लगायतका वन्यजन्तु, वनस्पति, चरा, पुतली लगायतको अवलोकन गर्न यहाँ पर्यटक आउने गर्दन् । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनहरुमा पर्यटकले हात्ती, जीप, पैदल सफारी गर्ने गर्दन् । यहाँको थारु समुदायिका खाना र संस्कृति पर्यटकको रोजाईमा पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !