चितवन, १० असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाखसम्म सबै नेपालीलाई खोप लगाई सक्ने बताउनु भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसलाई आज आईतबार अस्पतालको सभाहलमा सम्बोधन गर्दै उहाँले दसैसम्म १ करोड ६० लाख खोप लगाईसक्ने बताउनुभएको हो ।

उहाँले कात्तिकसम्ममा ३३ प्रतिशत नेपालीलाई खोप लगाईसक्ने बताउनुभयो । पर्यटकीय र आर्थिक गतिविधि बढी हुने ठाउँमा प्राथमिकता दिएर खोप लगाईने उहाँको भनाई छ । नेपाललाई अब तीन करोड २३ लाख खोप आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले भन्नुभयो “त्यसको सुनिश्चितता हामीले गरिसकेका छौं । बालबालिकालाई आवश्यक पर्ने खोपको पनि व्यवस्था भईसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “एक करोड खोप बालबालिकालाई ल्याउने सुनिश्चितता भईसकेको छ ।” त्यसका लागि केही खोपका लागि रकम समेत बुझाईसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दसैं लगत्तै बालबालिकालाई लगाउने खोप आउँछ ।”

कोभिडले अर्थतन्त्रलाई ठूलो असर पारेको बताउँदै राज्यमन्त्री श्रेष्ठले भन्नुभयो “सरकारको १ नम्बर प्राथमिकता खोप हो ।” खोपको सुनिश्चतता भईसकेकाले अब राज्यको ध्यान सरकारी स्वास्थ्य संस्थालाई सुदृत गराउने र निजी स्वास्थ्यसंस्थालाई अनुगमन गर्नेतर्फ जान्छ ।”

क्यान्सर रोगको उपचार अति महंगो भएको र यसको उपचारमा ठूलो रकम विदेशिएको बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो “क्यान्सर उपचार गर्न दिईदै आएको एक लाखलाई बढाएर पाँच लाख पुयाउने निर्णय सरकारले गरिसक्यो ।” क्यान्सर अस्पताललाई आवश्यक पर्ने पेट (एभ्त्) स्क्यान, पेटस्क्यानलाई आवश्यक पर्ने साईकोटन, लिन्याक्स एक्सिलेटर लगायतका ठूलो उपकरण खरिद गर्ने योजना बनाईरहेको उहाँको भनाई छ । कस्ता खालका उपकरण ल्याउनु पर्ने हो सुझाव दिन उहाँले आग्रह गर्नुभयो ।

स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो “जबसम्म सार्वजनिक स्वास्थ्यलाई सुधार गर्न सक्दैनौं तबसम्म निजी अस्पतालहरुले डोमिनेट नै गर्छन् ।” अब निजी अस्पतालहरुको अनुगमनलाई कडाई गरिने भन्दै राज्यमन्त्री श्रेष्ठले भन्नुभयो “कुन क्षमताको अस्पताल कस्तो हुनुपर्छ भन्ने कुरा कडाईका साथ अनुगमन हुन्छ ।”

राज्यको बजेटको १० प्रतिशत स्वास्थ्य र २० प्रतिशत शिक्षामा खर्च गर्नुपर्ने बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो “तर त्यो पैसा हामीले खर्च गर्न सकेका छैनौं ।” यसै वर्षबाट सरकारी स्तरबाट थप मेडिकल कलेजहरु सञ्चालन गरिने बताउँदै उहाँले अगाडि भन्नुभयो “सरकारले दुई चार वटा मेडिकल कलेज खोल्नुपर्छ ।” निजी स्तरमा १९÷२० वटा मेडिकल हुने तर सरकारको एउटा÷दुईटा हुने कुरा सम्भव नहुने उहाँको भनाई छ । चार÷पाँच सय शैया सञ्चालन गरेका अस्पतालहरुमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । उहाँले क्यान्सर अस्पताललाई थप शैक्षिक कार्यक्रम अगाडि बढाउन आग्रह गर्दै भन्नुभयो “क्यान्सर अस्पतालमा पनि दुई÷चार वटा कोर्ष सञ्चालन गर्नुहोस् त्यसलाई सरकारले सहजीकरण गर्छ ।”

रिसर्च सेन्टर भनेको सानो सोच बनाएर नहुँदै बताउँदै राज्यमन्त्री श्रेष्ठले भन्नुभयो “ठूलो सोच बनाएर भरतपुर जस्तो ठाउँमा रिसर्च सेन्टर हुनु पर्छ । यो प्रक्रिया अगाडि बढिसकेको छ ।” क्यान्सर अस्पताललाई अझै सुधार गर्दै लैजान सुझाव दिंदै राज्यमन्त्री श्रेष्ठले भन्नुभयो “यही भित्र ईएचएस कार्यक्रमहरु, डाईग्लोसिस सेन्टर सञ्चालन गर्नुहोस् । गरिबलाई सित्तैमा सेवा दिनुहोस् । त्यसको लागि एउटा बास्केटफण्ड बनाएर गरिबको उपचार गर्न सकिन्छ ।”

कुनै पनि संस्थाको नेतृत्व राम्रो भएन भएन संस्था राम्रो हुन नसक्ने भन्दै उहाँले भन्नुभयो “व्यवस्थापन पक्षले सही मार्गनिर्देशन दिनुप¥यो । सञ्चालक समितिले राम्रो नराम्रो के भएको छ, त्यसको अनुगमन गर्नुपर्छ ।”

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं नेकपा ९एमाले० चितवनका अध्यक्ष पार्वती रावल, प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा।कृष्ण अधिकारी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा।प्रदिप ज्ञवालीले बोल्नु भएको थियो । यस्तै माओवादी केन्द्रका प्रतिनिधि बद्री तिमिल्सिना, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, अस्पताल सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपाने, अस्पतालका पूर्व अध्यक्ष डा।भक्तमान श्रेष्ठल, चिनिया चिकित्सक टोलीका प्रमुख डा।झाङ वी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा। निर्मल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा अस्पतालको प्रतिवेदन कार्यकारी निर्देशक डा।देजकुमार गौतमले प्रस्तुत गर्नुभएको थियो । अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा कोभिड उपचारमा सहयोग गर्ने दाताहरुलाई सम्मानपत्र वितरण गरिएको थियो । सोही अवसरमा चिनिया चिकित्सक टोलीलाई लेटर अफ एप्रिकेशन प्रदान गरिएको थियो । सोही अवसरमा आईएईबाट प्राप्त दुई करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरियो ।

यस अघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अस्पतालको अक्सिन प्लान्ट र फोहोर व्यवस्थापन युनिटको उद्घाटन गर्नुभयो । अस्पतालले तरल अक्सिजन टंक जडान गरी एकीकृत अक्सिजन सप्लाई व्यवस्थापन गरेको छ । यसैगरी फोहोरलाई विभाजन गरी ग्याँस उत्पादन र रिडक्सन गरी व्यवस्थापन गर्दै आएको छ । यसैगरी मन्त्री श्रेष्ठले अस्पतालमा झडोत्तोलन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !