चितवनः पोखराकी शुशिला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु ३ हाराहारीमा बिक्रि गर्नुहुन्छ । तर स्थानीय वजारमा आँफुले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गर्नुभएको छ ।

उहाँ मात्र होईन देशभरका किसान र उपभोक्ता बिचौलीयाको मारमा छन् । अधिकारीले टेलिफोनमा गुनासो गर्नुभयो “बिचौलियाको यो मनोमानिको विषयमा तपाईहरुले कलम चलाईदिनु प¥यो ।” आँफुले सस्तोमा बिक्रि गर्दा उपभोक्ताले त्यही अनुसारको मुल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाई छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ भगडीमा १० विगाहमा उहाँको पौलमी कृषि फाम छ । त्यहाँको चार विगाहमा चार हजार घरी केरा बिक्रि योग्य भएको छ ।

आफ्नो बारीबाट व्यापारीले रु ३ हाराहारी प्रतिकोसामा उठाउने गरेको उहाँ बताउनुहुन्छ । भारतको केरलाबाट झिकाईएको उच्च स्तरको वेर्ना लगाएको उहाँको भनाई छ । पानीका कारण थप पाँच विगाहमा लगाएको केरा मध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पिडा एकातर्फ छ भने अर्को तर्फ बिक्रि योग्य केराले वजार मूल्य नपाउँदा आँफु जस्ता कृषक मारमा परेको उहाँले दुखेसो पोख्नुभयो ।

जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदी बिचौलियाको मारमा आँफुहरु परेको गुनासो गर्नुहुन्छ । आँफुले बारीबाट रु ३ देखि ४ मा प्रति कोसा बिक्रि गर्ने गरेको भए पनि उपभोक्ताले रु ८ सम्म यहीको बजारमा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । जिल्लाभरमा उहाँको मात्र ७५ विगाहमा केरा छ । भरतपुरको गौरीगञ्जबाट होलसेल मुल्यमा उपभोक्तालाई केरा बिक्रि गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “मण्डी, खुद्रा व्यापारि हुँदै उपभोक्ताकोमा पुग्दा धेरै महंगो भए पछि मैले फर्मबाट पनि खुद्रा वेच्न थालें ।” आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाई छ । सुवेदी २१ वर्ष यता यहाँ धेरै केरा खेति गर्ने कृषकको रुपमा परिचित हुनुहुन्छ । चितवन केरा उत्पादक संघका अध्यक्ष घानाथ महत्तो केरा बारीबाट रु १.५ देखि ४ सम्ममा बिक्रि हुने गरेको भए पनि उपभोक्ताले दोव्वर भन्दा वढि तिरेर किन्नुपर्ने बाध्यता रहेको पिडा पोख्नुहुन्छ ।
उहाँले भन्नुभयो “जमाना देखि हामीले पिडा पोख्दै आएका छौ । कस्ले सुनिदिने ।” उहाँले थप्नुभयो “दुःख कृषकको नाफा बिचौलियालाई मात्र भयो ।” जिल्लामा केरा खेती गर्ने कृषकको संख्या ७ सय रहेको छ । तीन हजार विगाह भन्दा वढिमा केरा खेती गरिएको छ । एक विगाहमा केरा खेती गर्न रु ३ लाख ९० हजार हाराहारी खर्च हुन्छ । उहाँका अनुसार एक विगाहमा १ हजार ६ सय वोट लगाईन्छ । एउटा बोटमा ८० देखि १ सय कोसा केरा फल्ने गर्दछ ।
अहिले वजारमा लुकिछिपि भारतिय केरा आईरहेको छ । जसले गर्दा यहाँको केरा बिक्रि कम भएको कृषक वताउँछन् । देशका बिभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अरु वढेको महत्तोको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !