चितवन । चितवनको नारायणघाटको नारायणी नदी किनारस्थित प्रदर्शनी मैदानमा नारायणी एक्सपो २०८२ सुरु भएको छ । बागमती प्रदेशका सांसद ईश्वर सापकोटा सुमनले बुधबार एक्सपोको उद्घाटन गर्नुभयो ।

रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद् चितवनको सहआयोजनामा भएको एक्सपोमा विदेशका विभिन्न स्थानका सहर तथा स्ट्याचु अफ लिभर्टी राखिएकाे छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद ईश्वर सापकोटा सुमनले यस्ता मेला तथा एक्सपोले आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्ने बताउनुभयो ।

चितवनको नारायणी नदीकिनार पर्यटकीय दृष्टिकोटले उत्कृष्ट गन्तव्य रहेकाले एक्सपोले थप पर्यटकीय गतिविधि वृद्धि गर्ने उल्लेख गर्नुभयो । उहाँले एक्सपो मार्फत बाहिर नआएका उत्पादनलाई प्रदर्शन गरी बजारीकरण गर्न सकिने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद् चितवनका अध्यक्ष सागर कुमालले यस्ता मेला तथा एक्सपोले आदिवासी जनजातिहरुको वेषभूषा संस्कृती प्रदर्शन गर्न विषेश सहयोग पुगेको उल्लेख गर्नुभयो । एक्सपोमा हरेक दिन आदिवासीहरुको संस्कृतिक नृत्यहरु प्रर्दशन गरिने उहाँले जानकारी दिनुभयो ।

माघ १४ गतेसम्म चल्ने एक्सपोमा कृषि उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ । यस पटक एक्सपो एक लाखभन्दा बढी दर्शक अवलोकन गर्ने अनुमान गरिएको छ ।

एक्सपो परिसरभित्र बाल उद्यानसँगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली, लण्डन सिटी, स्ट्याचु अफ लिभर्टी निर्माण गरिएको छ । पर्यटन प्रर्वद्धनतर्फ नारायणीमा एक्सपो स्थलबाट मोटरबोट सञ्चालन गरिएको छ । एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब २५० स्टलहरू रहेका छन् ।

एक्सपो अन्तर्गत हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । भोलि माघ १ गते साँझ ६ बजेदेखि द एज ब्याड र रकहेड ब्याण्डको प्रस्तुति रहने छ । एस्पो उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष विकल क्षेत्रीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस !