चितवन: प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ । पार्टीको जारी अधिवेशनअन्तर्गत भएको मनोनयन प्रक्रियामा खुल्ला मुस्लिम समावेशी क्लस्टरतर्फबाट उहाँले उम्मेदवारी दिनु भएको हो ।
साहलाई तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारको रुपमा हेरिन्छ । उहाँले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले आफ्नो सांसद पदबाट राजीनामा दिनु भएको थियो । त्यसपछि अन्य सांसदहरूले पनि क्रमशः आफ्नो पदबाट राजीनामा दिएका थिए।
साहले जेन–जी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । दुई पक्षबीच सहकार्य र समझदारी कायम भएमा मात्र आन्दोलनका उद्देश्यहरू सार्थक हुने उहाँको विश्वास रहेको बताइन्छ।
उहाँ सफल राजनीतिज्ञ मात्र नभई चलचित्र निर्देशक, निर्माता तथा सञ्चारकर्मीका रूपमा पनि परिचित हुनुहुन्छ । प्रधानमन्त्री शाहका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिनु भएका साह पछिल्लो समय सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय हुनुहुन्छ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा संगठन विस्तारका विषयमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
रास्वपाको समानुपातिक सांसदका रूपमा राष्ट्रिय राजनीतिमा प्रवेश गरेका साहले संसद्मा रहँदा सुशासन, पारदर्शिता, युवा सहभागिता तथा राजनीतिक सुधारका विषयलाई प्राथमिकताका साथ उठाएका थिए। पार्टीभित्र उनी अध्ययनशील, समन्वयकारी तथा रणनीतिक सोच भएका नेताका रूपमा परिचित छन्।
साहको निर्विरोध निर्वाचनले पार्टीभित्र उहाँको स्वीकार्यता, नेतृत्व क्षमता तथा संगठनात्मक योगदानलाई प्रतिबिम्बित गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। विशेषगरी नयाँ पुस्ताको नेतृत्व निर्माण, नीति–आधारित राजनीति तथा सुशासनको एजेन्डालाई संस्थागत गर्न उहाँको भूमिका अझ प्रभावकारी रहने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकारका रूपमा कार्यरत रहँदा साहले सरकार र विभिन्न राजनीतिक शक्तिबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पु-याउँदै आउनु भएको छ । सरकारको सुशासन, पारदर्शिता तथा सेवा प्रवाह सुधारसम्बन्धी एजेन्डामा पनि उहाँले नीतिगत तहमा सहयोग गर्दै आउनु भएको छ ।
उम्मेदवारी दिएपछि साहले पार्टीको वैचारिक स्पष्टता, संगठन सुदृढीकरण तथा समावेशी लोकतन्त्रको अभ्यासलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले रास्वपाले अघि सारेको सुशासन, जवाफदेहिता र परिवर्तनको अभियानलाई जनस्तरसम्म पु¥याउन सक्रिय भूमिका खेल्ने बताउनु भएको छ ।
साह संविधान संसोधन बहस पत्र तयार गर्ने कार्यदलको संयोजकको रुपमा पनि जिम्मेवारी सम्हालिरहनु भएको छ । सो क्रममा उहाँले विभिन्न राजनीतिक दल, जेन्जी सहिद तथा घाइते परिवार, पेसा व्यावसायी, पुर्व राष्ट्रपति, पुर्व प्रधानमन्त्री लगायतका क्षेत्रका प्रमुख व्यक्ती र समुहसँग वर्ता गरिसक्नु भएको छ । अहिले उक्त कार्यदलको काम अन्तिम चरणमा पुगेको छ ।
साह विजयी भएममा रास्वपाको केन्द्रीय नेतृत्वमा अझ प्रभावशाली भूमिकामा देखिने अपेक्षा गरिएको छ। पार्टीभित्र उहाँ नेपथ्यमा रहेर रणनीति निर्माण गर्ने, संवादमार्फत सहमति जुटाउने तथा संगठनलाई एकताबद्ध बनाउने नेताका रूपमा चिनिनुहुन्छ ।





