चितवनः जिल्लामा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटना घट्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आवमा ४५८ वटा सवारी दुर्घटना भएका छन् ।
कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार ती दुर्घटनामा परी ८१ जनाको मृत्यु भएको छ भने ८६८ जना घाईते भएका छन् । तीमध्ये ८४ जना गम्भीर घाइते भएका छन् भने ७८४ जना सामान्य घाइते भएका उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेमा ५६ पुरुष, २२ महिला र तीन जना बालबालिका रहेका उहाँले जानकारी दिनुभयो ।
यहाँ भएका दुर्घटनामा ६८० वटा सवारीसाधन परेका छन् । तीमध्ये सबैभन्दा बढी ४०८ वटा मोटरसाइकल रहेका प्रहरी निरीक्षक थापाले बताउनुभयो । गत आवको सोही अवधिमा जिल्लामा ७७२ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक हजार १८७ वटा सवारीसाधन परेका थिए । ती सवारीसाधनमा मोटरसाइकल ५९० रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी निरीक्षक थापाका अनुसार ती दुर्घटनामा परी ८९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ७३ पुरुष, १५ महिला र एक जना बालबालिका रहेका जनाउँदै उहाँले गम्भीर घाइते १३८, सामान्य घाइते एक हजार २२७ जना रहेका बताउनुभयो ।
जिल्लामा सबैभन्दा बढी दुर्घटनाभित्री सडकमा हुने गरेको प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार भित्री सडकमा २४४, पूर्वपश्चिम राजमार्गमा ११२ दुर्घटना भएका उहाँले बताउनुभयो । नारायणगढ(मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग र सहरी क्षेत्रका सडकमा १०२ वटा दुर्घटना भएका उहाँले जानकारी दिनुभयो ।
तीव्र गति, उछिन्दा, मादकपदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा बढी मात्रामा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । सचेतनाको कमीले दुर्घटना बढेको पाइएपछि विद्यालयस्तरमा दुर्घटना नियन्त्रणसम्बन्धी अन्तरक्रिया गर्ने, पोष्टर, पम्प्लेट वितरणलगायत कार्यक्रम कार्यालयले गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !