भरतपुर, ३० जेठ
चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ स्थित नवजीवन टोल विकास संस्थाको नयाँ कार्यसमिति चयनका लागि आयोजित अधिवेशन स्थगित भएको छ। नयाँ नेतृत्व चयन गर्ने क्रममा मुख्य पद मानिने अध्यक्षमा मात्रै ५ जनाको उम्मेदवारी र दाबी परेपछि सहमति जुट्न नसक्दा अधिवेशन १ दिनका लागि स्थगित हुन पुगेको हो।
टोलको नयाँ कार्यसमितिमा बस्न इच्छुक आकांक्षीहरूको नामावली टिपोट गर्ने क्रममा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। अधिवेशनको बन्द सत्रमा संस्थाको अध्यक्ष पदका लागि बासुदेव चौलागाईं, विष्णु माया पोखरेल, अजय तामाङ, भिम बहादुर लामा र तुलमाया गुरुङले आ–आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।
अध्यक्ष मात्र नभई अन्य पदाधिकारी र सदस्य पदमा समेत आकांक्षीहरूको संख्या उल्लेख्य रहेको छ। निर्वाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्ष, सचिव र सह–सचिव पदका लागि २–२ जनाको दाबी परेको छ भने ६ जना खुल्ला सदस्यका लागि ११ जनाको नाम दर्ता भएको छ।
एकै पदमा धेरै जनाको उम्मेदवारी परेपछि टोलबासीबीच तत्काल सहमति जुटाउन कठिन भएको थियो। चुनावी प्रक्रियामा जानुभन्दा आपसी समझदारी कायम गर्नु उपयुक्त हुने देखिएकाले निर्वाचन समिति तथा टोलका अग्रजहरूको सल्लाहमा अधिवेशन आइतबारसम्मका लागि स्थगित गरिएको हो। यस अवधिमा नयाँ नेतृत्वका लागि पुनः आन्तरिक छलफल गरेर सर्वसम्मतिको प्रयास गरिने बुझिएको छ।






