चितवन, १६ साउनः यो वर्षदेखि औपचारिक रूपमा मनाउन थालिएको राष्ट्रिय कोदो दिवस भरतपुरमा एक कार्यक्रमका बीच मनाइएको छ । “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारालाई आत्मसात् गर्दै दिवस मनाइएको हो ।

भरतपुर महानगरपालिकाको कृषि तथा पशुपन्छी प्रवद्र्धन शाखा र त्रिपुरेश्वर कृषि सहकारी लिमिटेडको संयुक्त आयोजनामा कोदो रोपाइँ विशेष कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले नेपाली समाजमा परम्परागत खाद्यान्न बाली, विशेषगरी कोदोको महत्वलाई प्रकाश पार्नुभयो । उहाँले कोदोलाई पोषिलो, ऊर्जा दिने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बालीका रूपमा व्याख्या गर्दै यसको परम्परागत खेती विधि, ढिँडो, गुन्द्रुक, मासको दाल जस्ता परिकारहरूको सांस्कृतिक र स्वास्थ्य पक्षको महत्वपनि औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, “विशेष गरेर कोदोलाई ढिँडो बनाई, आफ्नै करेसाबारीमा लगाइएको तरकारीलाई गुन्द्रुक बनाई, भटमास मिसाएर पकाएर खाने गर्दा यसको स्वाद र पौष्टिकता अलगै अनुभव हुन्छ । आयातित खानाभन्दा रैथाने खाना धेरै महत्वपूर्ण छन् ।”

उहाँले हाल नेपाली समाजमा फैलिएका विभिन्न नसर्ने रोगहरूको सन्दर्भमा परम्परागत बालीको उपभोगलाई समाधानको उपायका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले विभिन्न नसर्ने रोगहरूबाट पीडित छौ ँ। त्यसैले अस्पताल अन्तिम विकल्प हुने गरी, हामीले आफ्नै करेसाबारी र गोठमा उत्पादन हुने अर्गानिक बस्तुहरूको उपभोग बढाउनुपर्छ । यसमा सबै किसान दाजुभाइ लाग्नुपर्छ भन्ने मेरो आग्रह छ ।”

कार्यक्रममा कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले कोदोको उत्पादन र क्षेत्रफल दुवै बढाउनुपर्ने आवश्यकता रहेको भन्दै, कोदो खेतीको प्रवद्र्धन गर्न सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा विशेषगरी इच्छाकामना, राप्ती नगरपालिकाकोे माथिल्लो क्षेत्र र कालिकाको केही भागमा कोदो खेती अझै पनि भइरहेको छ ।” उहाँले जिल्लामा १०५० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको उल्लेख गर्दै जसबाट १२०० मेट्रिक टनभन्दा बढी उत्पादन भएको जानजकारी दिनुभयो ।

कँडेलले कोदो खेतीलाई संकटकालीन बालीको रूपमा पनि औंल्याउनुभयो । उहाँले भन्नुभयो, “हालै मधेश प्रदेशमा वर्षा अभावका कारण खाद्य संकट घोषणा गरिएको छ, यस्तो अवस्थामा कोदो जस्ता लचिला बालीले विकल्प दिने सम्भावना देखिएको छ ।” उहाँले थप्नुभयो, “यो बाली एकदमै कम पानी र मलमा पनि उत्पादन दिन्छ। यसले किसानलाई उत्पादन शून्य नहुने स्थितिबाट जोगाउँछ ।”

त्यसैगरी, भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाका प्रमुख तेजेन्द्र प्रसाद पौडेलले रैथाने बालीको प्रवद्र्धनमा महानगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले कोदो तथा फापरजस्ता परम्परागत बालीका लागि विकास कार्यक्रमलाई प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, “कोदोजस्ता बालीको संरक्षण तथा क्षेत्र विस्तार अहिलेको आवश्यकता हो ।”

त्रिपुरेश्वर कृषि सहकाररीका अध्यक्ष बेदप्रािद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर ८ र ९ का वडाध्यक्ष जीवलाल कँडेल र यमलाल कँडेलले यसको महत्वमाथि बोल्नुभएको थियो । अध्यक्ष सापकोटाले सहकारीले कोदोको क्षेत्र विस्तार गर्दै बीउ उत्पादन र वितरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिनुभयो । उहाँले सहकारीमार्फत उत्पादित कृषि उपजहरूको ब्राण्डिङ गरी बजारमा लैजान समेत योजना बनाइरहेको बताउनुभयो । कार्यक्रम प्रश्चात सोही क्षेत्रमा रोपाहरहरुसँगै कोदो रोपाई गरी राष्ट्रिय कोदो दिवस मनाईयो ।

प्रतिक्रिया दिनुहोस !