चितवनः दैनिक जसो मानव बस्तिमा आएर जनधनको क्षती वनाउने गरेको जंगली हात्ती ध्रुर्वेको दाह्रा काटिए पछि निकुञ्ज भित्रै बस्न थालेको छ । असार ३१ गते राति ध्रुर्बेलाई सुखिभार पोष्ट नजिक डार्ट गरेर दुईवटा दाह्रा काट्नुको साथै मात घट्ने औषधि समेत चढाईएको थियो । ध्रुर्वेको शरिरमा राखिएको रेडीयो कलर हटाएर नयाँ आधुनिक रेडीयो कलर जडान गरिएको छ ।
पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो । दुई दिन अघि चितवन राष्ट्रिय निकुञ्जबाट सितामाई नजिक जान लागेको भए पनि पुनः फर्किएर चुरेको फेदि तर्फ पुगेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार अहिले १०÷१० मिनेटमा सूचना आउने गरेको छ । टावर नटिप्ने ठाउँमा सूचना आउन ढिलाई भएपनि अन्य ठाउँबाट सहज सूचना आउने र अनुगमन भईरहेको उहाँले जानकारी दिनुभयो ।
चौथो पटक ध्रुर्वेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको हो । धुर्वे हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो । हात्तीले गत असार २० गते राति एकैपरिवारका दुई जनाको ज्यान लिएको थियो । हालसम्म उक्त हात्तीले २५ जनाको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ । यो हात्तीलाई बथानबाट लखेटिएका कारण बस्ति आएको अनुमान गरिएको उहाँले बताउनुभयो । पहिले वथानमा रहँदा हिड्ने माडीको धोवा र देउराली क्षेत्रमा अहिले पनि हात्ती जाने गरेको छ । एक्ल्याईए पछि बस्ति पसेर जनधनको क्षती गरेको आँकलन गरिएको उहाँ बताउनुहुन्छ ।
हात्तीले विसं २०७४ मा नेपाली सेनाका एक सेनानी (मेजर) लाई आक्रमण गरेर मारेको थियो । निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुर्वेले विसं २०६८÷६९ ताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि वि. सं.२०६९ सालको पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । ध्रुर्वे हात्ती वि. सं. २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो । विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको धुर्वेले बि. सं.२०६९ सालसम्म १५ जनालाई मारेको थियो । निकुञ्जमा रोनाल्डो, गोविन्दे, धुर्वे लगायत मत्ता छन् । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन् ।






