चितवन, साउन १५ : मानव बेचबिखन तथा यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनले आज भरतपुरमा आयोजना गरेको ‘अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस’को सन्दर्भमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताउनुभएको छ ।
हाल नेपालमा मानव बेचबिखनको स्वरूप परम्परागतबाट आधुनिक र प्रविधिमैत्री बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रहरी मात्रको प्रयास पर्याप्त नहुने धारणा व्यक्त गर्नुभयो ।
मानव बेचबिखन तथा यौनजन्य हिंसालाई निरुत्साहित गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन ‘४पी’ रणनीति प्रिभेन्टिभ, प्रमोसनल, पुुनिटिभ र पार्टनरसिप अवलम्बन गरिएको जानकारी उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो ,“मानव बेचबिखनजस्ता जटिल समस्याको नियन्त्रण साझेदारीबिनाको अभियानबाट सम्भव छैन ।”
उहाँले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्युरो, विभिन्न प्रकारका भिसा (भिजिट, डिपेन्डेन्ट, सिजनल, एजुकेसन, कल्चरल) र सरोगेसीको नाममा हुने शोषणलाई मानव बेचबिखनका नयाँ प्रवृत्तिको रूपमा मौलाएको भनाई राख्नुभयो ।
मानव बेचबिखन नियन्त्रणमा सबै सरोकारवाला निकायहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले गैरसरकारी संस्था, स्थानीय सरकार, प्रहरी, जिल्ला न्यायाधिवक्ता, तथा न्याय निरुपण निकायहरूबीचको समन्वयलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरीका २२५ इकाइहरूले मानव बेचबिखनसम्बन्धी अनुसन्धान कार्य गरिरहेका छन् ।”
उहाँका अनुसार गत आर्थिक वर्षमा मात्रै १५२ वटा मुद्दा दर्ता भई २४१ जना आरोपी पक्राउ परेका छन् भने १८४ जना पीडितको उद्धार गरिएको छ, जसमध्ये ९० जना महिला र ९ जना बालिकाहरू रहेका छन् । उहाँले मानव बेचबिखन तथा यौनजन्य हिंसा पुरुषबाट मात्रै नभई महिलाबाट समेत हुने गरेको उल्लेख गर्नुभयो।
“मानव बेचबिखन र यौनजन्य कसुरहरू केवल पुरुषबाट हुने भन्ने सोच अब सान्दर्भिक छैन,” उहाँले भन्नुभयो, “कतिपय घटनामा महिलाहरू पनि प्रत्यक्ष वा परोक्षरूपमा संलग्न हुने गरेका छन् ।”
उहाँले यस्ता जटिल विषयलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न कानुनमा आवश्यक संशोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै नेपाल प्रहरीले विभिन्न केसहरू रिर्पोटिङ गरी सम्बद्ध निकायमा पठाएकोे जानकारी दिनुभयाो ।
कार्यक्रममा उहाँले सबै प्रहरी कर्मचारीलाई मानव बेचबिखनका गुनासो दर्ता प्रक्रियामा संवेदनशील बन्न आग्रह गर्दै गुनासो मिडिया, सामाजिक सञ्जाल वा सिधै प्रहरी मुख्यालयमा गर्न सकिने जानकारी दिनुभयो। ‘४पी रणनीति’ कार्यान्वयनका लागि निर्देशनात्मक सामग्री र भर्चुअल बैठकमार्फत अभियान सशक्त बनाइने जानकारीसमेत सो अवसरमा दिनुभयो ।
सो अवसरमा भरतपुर महानगरपालिका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणका लागि सबै सरोकारवालाबीचको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।
उहाँले चितवन जिल्लालाई यस्ता विकृति र कुलतको हिसाबले चुनौतीपूर्ण क्षेत्रको रूपमा उल्लेख गर्नुभयो । महानगरले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, रोजगारी, अनाथालय व्यवस्थापन र हिंसा नियन्त्रणका लागि १ अर्ब १५ करोड रुपैयाँको बजेट विनियोजन गरेको सो अवसरमा जानकारी दिनुभयो ।
माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतोले माडी क्षेत्र मानव बेचबिखन तथा ओसारपसारका लागि प्रमुख गन्तव्य बन्दै गएकामा गम्भीर चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले भारतसँगको सिमा नजिकै रहेको कारण माडी ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग हुँदै आएको उल्लेख गर्नुभयो । यो समस्या रोक्न एकपक्षीय प्रयासले नहुने भन्दै उहाँले सबै पक्षको एकजुट र समन्वित पहल आवश्यक भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले चितवन जिल्लामा करिब ४० प्रतिशत बालबालिकाका अभिभावक बाहिर तथा विदेशमा रहेको जानकारी दिनुभयो। जसले गर्दा पारिवारिक विखण्डन, निगरानीको अभाव र सामाजिक समस्यालाई निम्त्याउने उहाँले बताउनुभयो ।
उहाँले जिल्लामा बिना दर्ता सञ्चालनमा रहेका कन्सल्टेन्सी, म्यानपावर, मसाज तथा खाजाघरहरूको संख्या उल्लेखनीय रहेको जनाउँदै ती संस्थाहरूलाई नियमन गर्न प्रशासन सक्रिय रूपमा क्रियाशील रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले मानव बेचबिखन एक मुख्य समस्या भएको उल्लेख गर्दै सबैभन्दा बढी हिंसा घरमै वा आफन्तबाटै हुने तथ्यप्रति ध्यानाकर्षण गराउनुभयो ।
जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेले प्रलोभनमा परेर विदेश जानुपर्ने बाध्यतामा परेका पीडितहरूले कहिलेकाहीं न्याय प्राप्तिका लागि आवश्यक पहल नगर्ने बताउनुभयो । उहाँका अनुसार, सामाजिक दबाब र भेदभावले पीडितहरूलाई न्याय खोज्न कठिनाइ पर्ने हुँदा समस्या झन् बढ्ने गरेको छ ।
अभियानकी संयोजक मिना खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसंयोजक सङ्गीता भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
पत्रकार सिन्धु ढकालको संयोजनमा सम्पन्न कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनसम्बन्धी कानुनी प्रावधान र अनुसन्धानको अवस्था विषयमा प्रस्तुति दिनुभयो । त्यस्तै, अधिवक्ता मदन थापाले चितवनमा बढ्दो ट्राफिकिङको प्रवृत्ति र सरोकारवालाको भूमिकाबारे तथ्यांकसहितको विश्लेषण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक अरुण पौडेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, साझा अभियानसँग सम्बद्ध संघसंस्थाका प्रतिनिधि, महिला समूहका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।






