चितवनः जिल्लाको सहरी क्षेत्रमा क्षयरोगका बिरामीको संख्या बढी रहेको देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत वर्ष र यस वर्ष शहरी क्षेत्रमा क्षयरोगका बिरामी बढी देखिएका हुन् ।

चालु आर्थिक वर्षको फागुन सम्ममा जिल्लामा भेटिएका ५०८ जना क्षयरोगी मध्ये २८९ जना भरतपुर महानगरका रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ६१ जना, खैरहनी नगरपालिकाका ४१ जना रहेको कार्यालयका क्षयरोग कार्यक्रम अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा कालिका नगरपालिकाका ३६ जना, राप्ती नगरपालिकाका ५३ जना, माडी नगरपालिकाका १७ जना र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको संक्रमण देखिएको हो ।

उनीहरु मध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आर्थिक बर्षमा १ हजार १३९ जनामा देखिएको थियो । जस मध्ये १६१ जना पुराना बिरामी हुन भने अन्य नयाँ बिरामी रहेको उहाँले वताउनुभयो ।

गत आर्थिक वर्षमा भेटिएका बिरामी मध्ये ६०९ जना भरतपुर महानगरपालिकाका रहेका थिए । यस्तै रत्ननगरका १०५, खैरहनीका १०३, कालिकाका ९६, राप्तीका १२५, माडीका ५७ र इच्छाकामनाका ४४ जना रहेका थिए । सहरी क्षेत्रमा मानिसको चहलपहल धेरै हुने भएकाले यो रोगको समस्या देखिएको हो । शहरी क्षेत्रमा जनघनत्व वढी हुने र शहरी सुकुम्बासीको बाक्लो बसोबास हुने भएकाले यस क्षेत्र जोखिममा रहेको उहाँले बताउनुभयो । यो रोग हावाको माध्यमबाट सर्ने भएकाले बढी भिडभाड हुने क्षेत्रमा हिडडुल नगर्न कार्यालयलै अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !