नारायणगढ: लामो समयको खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा घाँसेमैदान सुख्खा हुन थालेपछि डिप बोरिङ गरी पानीको आपूर्ति गर्न थालिएको छ । निकुञ्जको पश्चिम क्षेत्र सुकिभारसँगै अन्य क्षेत्रहरुमा समेत पानीको सतह अघिल्ला वर्षको तुलनामा घट्दै गए पछि सिमसार र घाँसे मैदान क्षेत्रमा पानीको अभाव देखिएको हो ।
पानीको अभावहुँदै गएपछि निकुञ्जले सो क्षेत्रमा प्रयाप्त पानी पु¥याउनका लागि डिप बोरिङ गरी पानीको पूर्ति गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नारायणी नदीको पश्चिम भंगालो नवलपारसीको सुकिभार र भरतपुरको देवनगर क्षेत्रमा डिप बोरिङ गरिएको हो ।” सिमसार क्षेत्रमा पानीको अभाव भए संगै वन्यजन्तुहरु पानी र आहारा खोज्न बस्ती पस्न थाल्ने हुँदा बस्ती पस्ने क्रम रोक्नका लागि डिप बोरिङ मार्फत सिंचाईको व्यवस्था गरिएको हो । सुख्खा क्षेत्र सिंचाई भएपछि वन्यजन्तुहरु निकुञ्जमै भुल्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार घाँसेमैदान, सिमसार र पोखरी रहेका तीन क्षेत्रमा पानीका लागि डिप बोरिङ गरिएको हो । निकुञ्जका भिम्ले घाँसेमैदान, सुकीभार खाँसेमैदान र भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा डिप बोरिङ गरिएको हो । भिम्ले र देवनगरमा नयाँ बोरीङ जडान गरिएको हो भने सुकीभार क्षेत्रमा बिग्रिएको बोरिङ मर्मत गरिएको उहाँले जानकारी दिनुभयो ।
सुकिभार क्षेत्रमा वन्यजन्तुको उपस्थिति बढाउनका लागि सिमसार, घाँसेमैदान र पोखरी भएका क्षेत्रमा डिप बोरिङ गरी पानीको व्यवस्था गर्दा यसले घाँसेमैदान सिचाई, सिमसार क्षेत्रमा पानीको प्रयाप्तता र पोखरीमा नियमीत पानी रहन सहज हुने उहाँले जानकारी दिनुभयो । हाल नारायणी नदीको पश्चिम भंगालो क्षेत्रमा पर्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीको सतह घट्दै गएकाले वन्यजन्तहरु बस्ती पस्ने जोखिम हुन नदिन डिप बोरिङको पानी महत्पवूर्ण हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !