
चितवनः स्थानीय निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिन केही महिना बाँकी हुँदा नयाँ निर्वाचनका लागि मिति घोषणा भएर निर्वाचन आयोगले अन्तिम मतदाता नामावली समेत प्रकाशीत गरेको छ । सवै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत तोकी मतदानस्थल र मतदान केन्द्र समेत सार्वजनिक गरेको छ ।
प्रायको ध्यान निर्वाचन केन्द्रीत भइरहदा चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाकी अध्यक्ष गीता कुमारी गुरुङ भने अझैपनि जनताको घरघर पुग्ने र समस्या सोध्दै सम्भव भएसम्म समाधानमा व्यस्त हुनुहुन्छ । साथै गाउँगाउँमा पुगेर २०७४ को चुनावमा जनतासँग भएका गरेका प्रतिवद्धता पूरा भएकी भएनन् निरीक्षण गर्दै हुनुहुन्छ । अन्तरवार्ताका क्रममा गाउँपालिका पुग्दा मुस्किलले समय मिलेको उहाँले आँखाको उपचारका लागि गाउँपालिका आउनुभएकी एक महिलालाई आर्थिक सहयोग र अस्पतालसँग समन्वय गर्दै हुनुहुन्थ्यो ।
गीता कुमारी गुरुङ २०७४ सालको स्थानीय चुनावमा ३ हजार २५४ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । अवको चुनावका लागि इच्छाकामनामा कुल १५ हजार ६३४ मतदाता पुगेका छन् । उनीहरुले २०७९ साल वैशाख ३० गते हुने चुनावमा मत हाल्नेछन् ।
तपाईलाई गाउँगाउँ पुगेको देखिन्छ,हुन त अध्यक्षको काम पनि होला खास उद्देश्य चाहिँ के हो ?
स्थानीय तह सम्हालेको करिव पाँच वर्ष पुग्न लागेको छ । हामी अन्तिमतिर छौँ । हामी जनप्रतिनिधिहरुको केही समय मात्रै बाँकी छ । हिजो निर्वाचनमा जाँदा जनतासँग जुन प्रतिवद्धता गरेर निर्वाचित भएका थियौँ अहिले त्यो प्रतिवद्धता पूरा भएकी भएनन् भनेर हेर्न गाउँगाउँ हिँडेको छु । यो पाँच वर्षमा आफूहरुले जनतालाई भनेका, बोलेका मेरा जनताले सोँचेका सपनाहरु कति पूरा भए भएनन् । ती कुराहरुको जानकारी जनतसाँग हामीले लिनुपर्छ ।
जनताले अनुमोदन गरेर हामीलाई पठाएपछि हामी उनीहरुप्रति उत्तरदायी हुनैपर्छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले पनि अहिले म जनताको घर घर पुग्ने गरिरहेको छु । अर्कोतर्फ पाँच वर्षको अवधिमा के कति काम गर्यौँ त ? किनकी जनताले भोट हालेर पठाएकाले हामी जनताको सेवक हो । कति सेवा दिन सक्यौँ त ? त्यस्तै प्रशासनिक, विकास, सुशासन, भौतिक निर्माण, ऐन कानुन ,कार्यक्रम, योजना ल्याएर कार्यान्वयन गर्यौँ त ? यी सवै कुरामा हामीले कति परिणाम दिन सक्यौँ त ? हामीले गरेका कार्यसम्पादन मूल्याङ्कन जनतासँग राख्नुपर्छ भनेर अहिले हामी गाउँगाउँमा गइरहेका छौँ ।
वडामा गएर त्यहाँका टोल, नागरिक समाज, राजनीतिक दल, हरेक व्यक्तिहरुलाई तपाईको टोलगाउँ वडामा हिजो यो थियो आज यतिसम्म गर्न सक्यौँ भनेर जानकारी गराइरहेका छौँ । त्यसैले गाउँगाउँमा छौँ ।
हिजोको इच्छाकामना र आजको इच्छाकामनामा परिवर्तन आयो त ?
हिजोको अवस्था र आजको अवस्थामा त धेरै परिवर्तन आएको छ । हिजो हामी निर्वाचित हुँदैगर्दा कसरी काम गर्न सकिन्छ होला ? यस्तो विकट, दूरदराजका गाउँमा ? जनताले भोट हालेर त पठाउनुभयो । अव जनताको काम कसरी गरेर परिणाम देखाउने होला ? भन्ने चिन्ता त थियो । तर चुनौतिसँगै जनप्रतिनिधिमा पनि अध्यक्ष हुने अवसर पाएँ हौसला पनि थियो जोश र जाँगर पनि । जनताले पत्याउनुभयो ।
केही गर्छ नै भनेर जिताउनुएको हो नि । यहाँ चेपाङ, दलित तथा विपन्न वर्गहरु धेरै हुनुभएको गाउँपालिका हो । काम गर्न कठिन नै छ भन्ने थियो तर पदभार ग्रहणपछि म जनताको सेवक हँु भन्ने मन्त्रलाई मनमा राखेर योजना, कार्यक्रम,चुनावमा जनतासँग गरेको प्रतिवद्धतालाई जनताको आवश्यकता ठानेर सोही अनुसार कार्यक्रम,योजना, बजेट बनाउन, बजेटको आकार बढाउन, आन्तरिक आय वृद्धिमा निरन्तर लागिरह्यौँ ।
प्रतिफलस्वरुपः जनप्रतिनिधिहरुको सक्रियताले आज घण्टौँ हिँडेर आवतजावत गर्नुपर्ने गाउँगाउँमा मोटरबाटो पुर्याउन सकेका छौँ । हरेक टोल सडक सञ्जालबाट जोडिएको छ । एक वडाबाट अर्को वडा जान सडक छ । हरेक ठाउँमा खानेपानीको व्यवस्थापन भएको छ । शिक्षामा तीव्र प्रगति देखिएको छ । कृषिमा व्यवसायीकरण गरिएको छ, आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै सुन्तला खेती लगायतलाई प्रोत्साहन गर्न सकिएको छ । यहाँभित्रका पर्यटकीय क्षेत्रलाई एकीतृत गरी संरक्षण र विकासमा लागिरहेका छौँ । यी लगायतका कार्यहरु हेर्दा आफू जनप्रतिनिधि हुने जुन अवसर पाइयो, चुनौतिपूर्ण ठाउँलाई पनि एउटा परिवर्तन बनाएर लैजान सक्दा आफूलाई अहिले भाग्यमानी नै ठानेको छु ।
धेरैले काठमाण्डौ जाने सडक किनारमै पो रहेछ इच्छाकामना त भन्छन् । गाउँपालिकाको कार्यालय पनि हाइवे नजिकै छ । खास ईच्छाकामनाको भौगौलिक अवस्था के हो
तपाईको प्रश्न यसरी आयो जुन म आफैले धेरै पटक भोगेको छु । अझैपनि कतिपयलाई के लाग्दो रहेछ भने इच्छाकामना भनेको हाइवेको ३५÷३६ किलोमिटर त हो नि । तर इच्छाकामना गाउँपालिकाको सात वटा वडा छ । वडानम्बर १ ,२ र ६ अति विकट हो । अहिले त्यो विकटता हिजो थियो, आज छैन । हामीले दिनरात खटेर निकटमा ल्याइसकेका छौँ । अहिले हामी जुन ठाउँमा जान खोजेका हौँ, सो ठाउँमा सहजै र समयमै पुग्न सक्छौँ ।
किसानले आफ्नो उत्पादन समयमै बजारसम्म ल्याउन सक्ने वातावरण वनेको छ । हिजो कथा भनेजस्तैगरी इच्छाकामनालाई चिनाउनुपर्ने वाध्यता थियो । यो तितोसत्य हो । तर अहिले जनप्रतिनिधि आउनुपूर्व कथा जस्तै भनेर चिनाउनुपर्ने ठाउँहरुलाइ आज सहजै पुगेर आँखाले हेरेर, हातले छोएर अवलोकन गर्न सक्ने बनाएका छौँ । हिजोको विकटतालाई स्थानीय तहको निर्वाचनमा मेरो नेतृत्वमा आएको जनप्रतिनिधिहरुले निकटतामा ल्याएर एकदमै परिवर्तन गरेका छौँ ।
आज धेरै सहजता भएको छ । तर अझै गर्न बाँकी छ । गाउँपालिका भएकाले पर्याप्त बजेट अभाव, संघ प्रदेश सरकारलाई बुझाउन कठिन,बुझाएपछि बजेट ल्याउन कठिन यी आदि इत्यादी त छ नै तर पनि जति स्रोत हामीसँग थियो त्यही परिचालन गरेर अहिले आएको परिवर्तनबाट हामी खुसी छाँै, सन्तुष्ट हुन बाँकी नै छ ।
अहिले वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना, वडा कार्यालयहरुको आफ्नै भवन निर्माण, गाउँपालिका आफैले अस्पताल संचालन लगायतका धेरै काम गरेका छौँ । चाँडै यो पाँच वर्षको अवधिमा भएका कार्यहरुको विवरण सहित पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ ।
एक त महिला, त्यसमाथि गाउँपालिकाको अध्यक्ष । काम गर्न कति सजिलो रहेछ ?
हेर्नुस् चुनौति त हुदो नै रहेछ । काम गर्नेक्रममा चुनौति छ । सुरुसुरुका समय त महिलाले के गर्न सक्छ र रु कहाँबाट बजेट ल्याउँछ र रु भन्ने कुराहरु पनि आए । महिलाले कर्मचारीहरुलाई कसरी परिचालन गर्न सक्ला लगायतका कतिपय प्रश्नहरु समाजबाट आए । तर मैले त्यसरी आउने भ्रमपूर्ण प्रश्नलाई चिर्दै, समाजका विकृति विसंगतिलाई उखेल्दै रुढीवादी सोचलाई परिवर्तन गराउँदै हिँडे । किनकी मलाई यो त अवसर थियो । नेपालको संविधान २०७२ ले सृजना गरेको ऐतिहासिक मौका थियो । अवसरलाई स्थापित गराउन म निकै लागिपरेँ । त्यसपछि समाजले पनि बुझ्न थाले की गीता कुमारी गुरुङले काम गर्न सक्छ ।
चुनौतिपूर्ण भएपनि त्यसरी आउने प्रश्नलाई मैले एकदम सहर्ष खुसीसाथ स्वीकार गरेर सवै भ्रमलाई चिर्न सफल भएँ । अहिले गाउँपालिकामा कुनै आर्थिक अनियमितता, भ्रष्टचार भयो भन्ने लगायत कुनै गुनासो आउन दिएको छैन ।
जनतालाई जसरी हुन्छ सहजै सेवा दिइरहेका छौँ । मालिक होइन की सेवक बन्न आएकाले जनताले पनि सजिलै बुझ्न थाल्नुभयो। अस्तव्यस्ततालाई व्यवस्थापन गरेँ । संघर्षका साथ काम गरेँ । तर चुनौति भने आउँछन् । हिम्मतका साथ चिर्दै जानुपर्छ । जनताले आफै बुझ्न थाल्छन् ।
संघ र प्रदेशको सहयोग कस्तो रह्यो ?
हामीले इतिहासमै पहिलो पटक संघीय संरचनाको अभ्यास गर्यौँ । केन्द्रले समातेर बसेको अधिकारलाई फ्वात्त छोड्दाखेरी कति आफ्नो बहसमा रहने, कति अरुलाई जान्छ भन्ने कौतुहल रहिरह्यो । यस कारण संविधानले नै संघ र प्रदेशले स्थानीय तहलाई दिनुपर्ने अधिकार जुन प्रष्ट तोकेको छ त्यो पूरै नभएपनि संघ र प्रदेशसँग बाझिने कानुन हामीले बनाएनौँ । मिल्दोजुल्दो आफूलाई प्राप्त अधिकारमा रहेर काम गर्यौँ । बजेटिङको काम गर्दा केही कठिनाइ पक्कै आइपर्दा रहेछन् ।
मैले पाँच वर्षमा अनुभव गरेको कुरा के हुँदो रहेछ भने जनप्रतिनिधि भनेको ग्राँसरुटदेखि यहाँको भूगोल,जनता,समुदाय, उनीहरुको चाहाना, आवश्यकता सवै पहिचान गर्न सक्ने व्यक्ति हुन्छ । महिला भएपनि आफूले कहिल्यै कमजोर ठानिन । संविधानले मलाई के अधिकार दिएको छ र कसरी जनताको हातमा पुर्याउन सकिन्छ भन्ने अध्ययन, परामर्श, तालिम, गोष्ठीले धेरै सहयोग पुर्यायो । त्यसैले महिला भएकै कारण त केही पनि फरक परेन ।
तर सीमित स्रोत र संघ प्रदेश सरकारबाट गरिने मूल्याङ्कनबाट भने केही कठिन पर्यो । मूल्याङ्कन भन्नाले गाउँपालिकको योजना लिएर बजेट माग्न गयो कतिपयलाई त यो गाउँपालिका छ भन्ने थाहा पनि नहुँदो रहेछ । कतिले यो त काठमाण्डौँ जाने सडक छेउमै छ विकसीत नै छ किन चाहियो भन्ने जस्ता उत्तरले भने हैरानी खेप्नुपर्यो । तर सहयोग नै नभएको चाहिँ हुँदै होइन ।
मेरो अनुभवनले आफ्नो ठाउँलाई पहिचान गर्न सक्ने व्यक्ति हुँदा विकास पनि सहज र चाँडै हुने पाएँ । तर संघ प्रदेशमा प्रतिनिधित्व गर्नेहरु जुन भुगोलबाट गएका छन् त्यहाँको मात्रै वस्तुस्थिती चित्राङ्कन हुने, झलझली आउने र थाहा हुने भयो तर सवै ठाउँको बारेमा जानकारी नहुने हुन्छ । जस्तो इच्छाकामनाको सिराइचुली कस्तो छ भनेर चिनाउन उनीहरुलाई चित्र कोरिरहन पर्छ । तर हामीलाई त झलझली आँखामा आउँछ । के आवश्यक छरु क गर्दा यसको प्रचारप्रसार र विकास हुन्छरु कण्ठै हुन्छ । त्यसैले संघीयताले स्थानीय तहलाई बलियो गराउनुको मुख्य कारणहरु यी हुन् जस्तो लाग्छ ।
सहज, सरल र विना विवाद निरन्तर काम गरिरह्यौँ । सिँहदरवारमा केन्द्रीत अधिकार जनताको घरमा पुर्याएऔँ । तर चितवन जिल्ला विभिन्न विषयको राजधानी भनिन्छ त्यही जिल्लाको इच्छाकामना भने विकट छ भन्ने बुझेर संघ र प्रदेशले बजेट दिएको भए अझ बढी परिवर्तन गर्न सक्थ्यौँ की भन्ने लागिरहन्छ । तर नीति र विधिले दिएअनुसार कामहरु भइरह्यो ।
अव स्थानीय निर्वाचन २०७९ नजिक आइसक्यो । पुनः गाउँपालिकाको अध्यक्षमा दोहोरिने तयारी छ ?
तयारी नै त के भनौँ र । हुन त चुनाव पनि आइसकेको छ । जनताको आवश्यकता र चाहाना अनुसार कामहरु अझै गर्न बाँकी छ । त्यतिमात्रै होइन,आफ्नो पनि गाउँपालिकाको समृद्धिका लागि एउटा देखेको सपनाहरु बाँकी छन् । केही अधुरा छन् । पाँच वर्षसम्म अनुभव गरेका, हिँडेर देखेका गाउँहरुको आवश्यकता कतिपय अझैपनि पूरा गर्न नसकेका योजनाहरु बाँकी छन् । ती योजना पूरा गर्न जनताले खोजिरहेका छन् । जनताको सेवक भएर पुनः आउने र उनीहरुको आवश्यकता अनुसार काम गर्न तयार भएकाले पुन अध्यक्षमा आउने अवसरलाई नकार्न सकिदैन । किनपनि भने म समाजसेवामै समर्पित हुन रुचाउने महिला हुँ ।
जनताको सेवा गर्न पाउँदा मलाई त्यही नै स्वर्ग महसुस हुन्छ । यो अवधि कति धेरै दुःख, पीडा, समस्यामा गहिरो गरी परेका आफ्नै जनता भेटेँ । त्यसरी समस्यामा रहनुभएका मेरो भगवान स्वरुपका जनताको जीवनस्तर उकास्न मैले कुनै कसर बाँकी राखेको छैन । तर सुरुको पाँच वर्ष पर्याप्त भएन । बाँकी जिवननै समाजसेवाका लागि समर्पित गर्दै आफ्नो गाउँपालिका बनाउन होमिइसकेपछि आवश्यकताकै आधारमा जनताले गीता कुमारीको पुनःआगमन चाहेको मैले पाएँ ।
गाउँगाउँ पुग्दापनि यही आवाज उनीहरुको छ । फेरि पनि गाउँपालिका अध्यक्षमा आउनुपर्छ भन्ने माग छ । मेरो मनस्थिती पनि दोहोरिनु पर्छ की एक पटक भन्ने छ । यो चाहानाले भन्दा पनि आवश्यकताले पनि म दोहोरिनुपर्छ भन्ने लागेको हो । जनताले पुनः माग गरिरहदा म आफै होइन म दोहोरिन्न भन्ने छैन । त्यसैले आवश्यकता र माग अनुसार हुन्छ ।
यो गाउँपालिकालाई कस्तो बनाउन खोजिएको हो ? कस्तो परिकल्पना थियो जसलाई पूरा गर्न पुनः अध्यक्षमा दोहोरिनुपर्ने हो ?
हेर्नुहोस् हाम्रो त्यति ठूलो सपना छैन । सुरुमा घण्टौँ हिँडेर घर जानुपर्ने जनताको वाध्यतालाई प्राथमिकता दियौँ र सडकसञ्जालले जोड्यौँ । दोस्रो एक गाग्री पानी लिन कति कठिन थियो अहिले सम्झदा पनि कहालिलाग्दो छ । हामीले घरमै धारो ल्यायौँ। शिक्षामा, स्वास्थ्यमा पनि हाम्रो पहल भएर काम गर्यौँ । मैले भनिहालेँ, पाँच वर्षका उपलब्धी चाँडै सार्वजनिक गर्दैछौँ । जहाँसम्म तपाइको प्रश्न छ किन दोहोरिने भन्ने रु हामीले अझै बनाउन खोजेको भनेको इच्छाकामनाले जुन नारा बोकेको छ, ‘सुखी खुसी समृद्ध इच्छाकामना, कृषि, पर्यटन, पूर्वाधार विकास, हाम्रो चाहाना’ यसलाई सय प्रतिशत सफल बनाउनु पर्छ भन्ने हाम्रो अर्जुनदृष्टी हो ।
यसभित्र धेरै कुराहरु पर्छ । जनताले चाहे अनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ । जनप्रतिनिधिले एउटा प्लानिङ गराएको हुन्छ, त्यो प्लानिङ भित्र जुन परिकल्पना छ त्यसलाइ पूरा गर्न योजना बनाउने र एकवद्ध भई लाग्ने कार्यमा हामी एक छौँ । तरपनि यसले पूर्णता पाएको छैन । यो परिकल्पनालाई पूरा गर्न पाँच वर्षले आधार अर्थात् जग भने हालेको छ ।
यही जगलाई उठाएर यस्तो बनाउने लक्ष्य हो की इच्छाकामनाका सवै नागरिक आफै सक्षम भएर सवै कुराले परिपूर्ण र भरिपूर्ण ठाउँ हो भन्ने जनमानसमा स्थापित भओस्। नाराले मात्रै होइन वास्तविक कामले त्यो देखाउन चाहान्छाँै । रुपान्तरणको सपना देखेका छौँ । यसैलाइ पूरा गर्न अझै समय चाहिन्छ । निरन्तरता दिएर काम गर्नुपर्छ भन्नेनै भएर दोहोरिने भनेको हुँ ।
अन्त्यमा अव पार्टीले टिकट दिने समय आयो । तपाईको विचारमा के कसरी मूल्याङ्कन गरी टिकट वितरण हुनुपर्छ ? तपाई महिला पनि । कसरी यहाँले गरेका कार्यहरु पार्टीले लिने ? टिकट पाउने तपाईको सम्भावना कति छ ?
हेर्नुस् म महिलालाई मात्रै भनेर भन्दिन । चाहे महिला पुरुष वा अन्य । पाँच वर्षमा जनप्रतिनिधिहरुले काम गर्नुभएको छ । यदि गर्नुभएको छ भने कसले कति गर्नुभयो तरु कसले जनताको साँच्चिकै आवश्यकता पहिचान गरेर काम गर्नुभयो त ? कामको आधारमा पनि एकदमै महत्व दिएर हेर्नुपर्छ ।
किनकी हामीलाई पार्टीले टिकट दिएको हो । टिकट पाएको व्यक्तिले विकास र परिवर्तन गर्यो है भन्ने त पार्टीले देख्नुपर्यो । त्यसैले काम त महत्वपूर्ण सूचक हो नै । विकास मात्रै होइन सुशासन, भ्रष्टचारमुक्त आफ्नो स्थानीय तह लगायत गर्न सक्यो कि सकेन त रु आफ्नो जिम्मेवारी बहन गर्न सक्यो कि सकेन, प्राप्त अधिकारलाई जनतामाझ लैजान कति कानुन बनाय त लगायत हर्नुपर्यो । मेरो पार्टी मात्र होइन अन्य पार्टीले पनि त्यो हेर्नुपर्छ र मूल्याङ्कन गर्नुपर्छ भन्ने लाग्छ ।
अर्को पक्ष भनेको टिकट दिएर पनि उसले सफल गर्न सक्यो कि सकेन त ? आफ्नो कार्यकाललाई विवादरहित सुशासन सहित संचालन गर्न सक्यो कि सकेन? जनताले देखेका सपना पूरा गर्न सक्यो कि सकेन ? यी कुराहरुलाई पनि मध्यनजर गरेर उम्मेदवार चयन गर्नुपर्छ । कोही व्यक्तिको, नेताको आसेपासे भएर झोला बोकेर मलाई टिकट दिनुपर्छ भन्दै माग्दै हिँड्नेलाइ भन्दा त्यो भूगोल र भूमिले,जनताले असाध्यै नजिकबाट चिनेर यो व्यक्तिको चाहिँ आवश्यकता छ है भन्ने खालको वातावरण भएको मान्छेलाई टिकट दिनुपर्छ ।
मेरो हकमा इच्छाकामनाको विकटता हटाएर निकटतामा ल्यायौँ, सुशसान भ्रष्टचारमुक्त गाउँपालिका बनाउन सफल भयौँ । आजको दिनसम्म पनि मानिसहरु टिकटका लागि नेताहरुकहाँ पुग्या होलान् दौड्याहोलान्, आश्वासन दिने नेतालाई पुज्दै हिँड्याहोलान् अन्य के के गर्या होलान तर म मेरो नागरिकलाई पुज्ने हो । जनप्रतिनिका लागि सवैभन्दा देवता भनेको नै नागरिक हो मेरो जनता हो ।
मेरो चेपाङ समुदाय हो, गुरुङ समुदाय हो, यहाँका हरेक जाजाती, भाषा धर्म संस्कृति अंगाल्ने इच्छाकामना गाउँपालिकका सवै जनता मेरो देवता भनेपनि भगवान भनेपनि । उनीहरुको म सेवक हो । सेवा गर्नका लागि म हिँडीराछु भने मूल्याङ्कन यसरी हुनुपर्छ र नेताको नजिक बस्नेलाई भन्दा जनताको काम गर्ने मान्छेलाई टिकट दिनुपर्छ ।हिजोका दिनमा जसरी आजको समय जनता अनविज्ञ छैनन् । अहिले व्यक्तिको समेत मूल्याङ्कन गर्न सक्ने जनता भइसकेका छन् । जसका कारण जनताले पनि आफ्नो ठाउँलाई आवश्यक को हो त ? कसलाई अमूल्य मत दिँदा साँच्चै आफ्नो गाउँठाउँको विकास हुन्छ त भन्ने बुझेर मत खसाल्नुपर्छ । सवैभन्दा ठूलो कुरा जनता नै हो । मलाई त्यो लाग्छ ।