चितवन:नेपाली काङ्ग्रेसका प्रबक्ता डा.प्रकाशशरण महतले सहयोग गर्ने देशहरु सबैलाई एउटै दृष्ट्रिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई हेर्ने दृष्ट्रिकोण अन्य देशहरुलाई जस्तै हुनुपर्ने बताउनु भएको हो ।
अन्य देशको सहयोगलाई हेर्ने दृष्ट्रिकोण र एमसीसीलाई हेर्ने दृष्ट्रिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा अशन्तुलन आउने उहाँको भनाई छ । उहाँले भन्नुभयो “देशै पिच्छे अलग मापदण्डका आधारमा सहायता स्विकार गर्नेहो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” एमसीसीका बिषयमा अन्योल खडा नगरी संसदबाट पास गर्नु पर्ने उहाँको तर्क छ । उहाँले थप्नुभयो “एमसीसीमा अहिले सम्म सरकारमा सहभागी दलहरुको सहभागीता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो । बखेडा झिक्नु गलत प्रबृति हो ।”
सभामुख प्रति केही आक्रमक देखिनु भएका नेता महतले सरकारले ल्याएका प्रस्ताब संसदमा टेबुल गराउनु सभामुखको दायीत्व रहेको बताउनु भयो । उहाँले भन्नुभयो “सरकारले ल्याएको प्रस्ताबमा सभामुखले म यो संसदमा पेश गर्छु, यो गर्दिन भन्ने जिम्मेवारी भित्र पर्दैन ।”संसदमा छलफल भए यस बिषयमा निकास निस्कने उहाँको भनाई छ ।
फरक प्रसंगमा बोल्दै उहाँले काँग्रेस अधिबेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिबेशन हुने जिकिर गर्नु भयो । पहिला कोभिडका कारण रोकिएका अधिबेशन अब भने तोकिएको मितिमानै हुने उहाँले बताउनुभयो ।
स्थानिय तहको निर्वाचनमा गठवन्धन हुन्छकी हुदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस बिषयमा अहिले बहश गर्ने समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो “गठवन्धनका बिषयमा समय आए पछि छलफल हुन्छ ।” दलहरुले आ–आफ्नो आबश्यकता अनुसार छलफल गरेर मात्रै गठवन्धनको बिषयमा टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो । फाइदाको आधारमा गठवन्धनको निर्णय हुने उहाँको भनाई थियो ।
–––






