चितवनः जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १ सय २५ हेक्टर क्षेत्रपलमा ८ सय ३७ दशमलब ५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा सोही क्षेत्रफलमामा ९ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर ७ दशमलव ६ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर ६ दशमलव ७ मा झरेको हो ।
आर्थिक बर्ष २०७६÷०७७ मा जिल्लामा सोही क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा १ हजार १ सय १ मेट्रिक टन उत्पादन भएको थियो । त्यस वर्ष प्रति हेक्टर ८ दशमलव ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक बर्ष २०७५÷०७६ मा १ हजार १ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । सो बर्ष सुन्तलाको उत्पादकत्व ९ दशमलब २ प्रतिहेक्टर रहेको थियो । सोही क्षेत्रफलमा सुन्तला खेती हुँदा बिगतका वर्षहरुमा क्रमशः उत्पादन घट्दै गएको हो ।
सुन्तला बगैंचाको व्यबस्थापन राम्रो नहुँदा र बोट बूढो भई उत्पादकत्व घट्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी मिन बहादुर पुनले वताउनुभयो । सुन्तलाका बोटहरु बूढो हुँदै जाँदा उत्पादन क्षमता पनि कम हुने उहाँले जानकारी दिनुभयो । पुनले भन्नुभयो “सुन्तलालाई मलजल, सिंँचाई, काटछाट जस्ता स्याहार सुसार उचित नहुँदा उत्पादनमा कमी आएको हो ।” उत्पादन निरन्तर घट्दै जाँदा कृषकहरु निराश हुँदै गएको उहाँको भनाइ छ । सुन्तला खेतीको बिस्तारका लागि स्थानिय तहले कुनै चासो नदिदाँ क्षेत्रफल बिस्तार हुन नसकेको पुनले बताउनुभयो ।
बगैंचाको पुर्नसंरचना गर्न सकेमा सुन्तला खेतीको बिकास र बिस्तार गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रले सुन्तला खेतीका लागि सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालन गरि रहेको छ । कोभिडका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको पुनले बताउनुभयो ।
जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा सुन्तलाको व्यवसायीक खेती हुँदै आएको छ ।






