चितवनः कोभिडको प्रभाव झेलेको उद्योग व्यवसाय बैंकको व्याज उच्च हुँदा थप प्रभावित बनेको छ । कोभिडले राम्रोसँग चल्न नसकेका उद्योगमा बैंकले व्याज बढाउँदा थप मार परेको हो ।
गतवर्षको तुलनामा यस वर्ष बैंकको व्याज बढेको छ । बैंकहरुको बेसरेट (आधारदर) गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा २ प्रतिशत हाराहारीले बढेको छ । उनीहरुले तरलता अभाव देखाउँदै बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर व्याजदर तय गर्ने गरेका छन् । बैंकमा तरलता अभावले ब्याजदर बढाउनु परेको बैंकरहरु बताउँछन् ।
ठूलो उद्योग र कृषि क्षेत्रमा बैंक केही उदार भए पनि मझौता र साना ऋणीलाई उच्च व्याजदर लिने गरेका छन् । गत वर्षको पुसमा राष्ट्रिय बाणिज्य बैंकको बेसरेट ५.६१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पुसमा यो दर ६.६ प्रतिशत पुगेको छ । यो बेसरेट बैंकहरुमा सबैभन्दा कम हो । सिभिल बैंकको गत आर्थिक वर्षको पुसमा ८.४५ प्रतिशत रहेकोमा यस वर्षको पुसमा ९.७४ प्रशित पुगेको छ ।
गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा सबैभन्दा बढी एनआईसि एसिया बैंकको बेसरेट बढेको छ । सो बैंकको २.७९ प्रतिशत बेसरेट बढेर अहिले ९.४४ प्रतिशत पुगेको छ । बैंकहरुले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर व्याजदर तय गर्दा १५ प्रतिशतसम्म पुग्ने गरेको छ ।
कृषि क्षेत्रमा ठूला बैंकले दुई प्रतिशत प्रिमियम थप गरेका छन् भने अन्य क्षेत्रमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेको पाईन्छ । नविल बैंकका एक कर्मचारीले कृषिमा २ प्रतिशत र अन्य क्षेत्रमा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरेर व्याजदर कायम गर्ने गरिएको जानकारी दिए ।
उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले बैंकहरुको ज्यादतीका कारण उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो “व्याजदर मनलाग्दी बढाएका छन् । स्वीकृत भएका ऋण समेत नदिएर व्यवसाय धरासायी बनाउने अवस्थामा पुगेका छन् ।” बैंकहरुले लिएको गलत नीतिका कारण कोभिडपछि प्रभावित व्यवसाय थप समस्यामा पुगेको उहाँको भनाई छ ।
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम बैंकहरु नाफामुखी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “बैंकले व्यवसायीको समस्या बुझेन, राज्य पनि उदासिन छ । २५ प्रतिशत उद्योग धरासायी भईसके ।” यस्तै स्थिति रह्यो भने उद्योगीले आत्महत्या गर्न बाध्य हुनुपर्ने स्थिति आउन सक्ने चेतावनी उहाँले दिनुभयो । राजधानीका एक व्यवसायी हालै मात्र परिवारसहित भाग्नु परेको बाध्यताको पछाडि बैंक प्रमुख कारण रहेको उहाँको दावी छ ।
व्याजदर उच्च हुँदा पर्यटन व्यवसाय झनै प्रभावित बनेको छ । कोभिडले पर्यटन व्यवसाय ठप्प प्रायः रहेका बेला बैंकको व्याज उच्च हुँदा व्यवसायी व्याजतिर्नै नसक्ने स्थितिमा पुगेका छन् । सौराहाको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी कोभिडले थला परेको पर्यटन व्यवसायलाई राज्यले हेर्नुपर्ने बताउनुहुन्छ । व्यवसाय रहे बैंक रहने र डुवे बैंक समेत डुब्ने भएकाले अप्ठ्यारो परेको बेला बैंकले व्यवसायीलाई पेल्न नहुने उहाँको तर्क छ । उहाँले भन्नुभयो “गाह्रो हुँदा पेल्ने परिपाटी भईरहेको छ । बैंक र व्यवसायीबीचमा नङ र मासुको सम्बन्ध हुनुपर्छ ।”
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष कल्याण जोशी व्याज बढेका कारण व्यवसाय गर्न कठिन हुँदै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “थप लगानी गर्न बैंक तयार छैनन्, व्यवसायको खर्च बढेको छ, व्यवसाय कम छ । उद्योगहरुको लागत मूल्य निकै बढ्यो ।”
होटल, हस्पिटल, औषधि उद्योग लगायतका ठूला लगानीकर्ताको रुपमा परिचित जोशीले कोरोनासँगै बैंक व्याजका कारण व्यवसाय विस्तार गर्न कठिन हुने अवस्था आएको बताउनुभयो ।
रोयल फर्मासिटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक केशव लामिछानेले उद्योगको लागत मूल्य निकै बढेको भन्दै कोभिडका कारण थला परेको उद्योग क्षेत्रमा बैंकको व्याजले झन् समस्या बनाएको बताउनुभयो । निर्माण व्यवसायी संघ चितवनका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका लामिछानेले स्वीकृत भएका ऋण बैंकले नदिएको, सम्झौताभन्दा बढी व्याज लिएको, विभिन्न वहानामा दुःख दिएको गुनासो व्यवसायीहरुबाट आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिलेको विषम परिस्थितिमा राष्ट्र बैंकले हस्तक्षेप गरेर उद्योग व्यवसाय बचाउनु पर्छ ।”
उद्योगी राजु पौडेल बैंकको व्याज बढ्दा उत्पादनको लागन मूल्य बढेको र उपभोक्ता समेत मार परेको बताउनुहुन्छ । वैधानिक बाटोबाट पूँजी बैंकमा आउन नसक्दा तरलता अभाव भएको उहाँको भनाई छ । सरकारले व्याज नियन्त्रणमा काम गरेको भए पनि पर्याप्त हुन नसकेको उहाँले बताउनुभयो । उद्योग संघ चितवनका निवर्तमान अध्यक्ष समेत रहनु भएका पौडेल आन्तरिक उत्पादन कम र आयात बढी हुँदा अर्थतन्त्र कमजोर बनेको बताउनुहुन्छ ।
बैंकमा ऋण लिने अधिकांश उद्योगी व्यवसायी आफू मर्कामा परेको गुनासो गर्ने गरेका छन् ।






