चितवनः कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदुर कर्मचारीलाई विदा दिन थालेका छन् । सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरुमा बुक भएका कार्यक्रम स्थगित भएका छन् ।

सौराहाका होटलमा नयाँ बर्षसँगै गोष्ठी, सेमिनार, विवाहाका कार्यक्रम धेरै बुकिङ् भएका थिए । घुम्न आउने पर्यटकको बुकिङ् पनि राम्रो थियो । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईका अनुसार कोभिडका कारण अधिकांश कार्यक्रम र पर्यटकका बुकिङ् रद्द भएका छन् छ । उहाँले भन्नुभयो “अहिले होटलहरुमा एक÷दुईवटा कोठा मात्र बुकिङ् हुने गरेका छन् ।” कतिदिन यसरी धान्ने भनेर होटल सञ्चालकहरुले मजदुर एवं कर्मचारीलाई आलोपालो विदा दिन थालेको उहाँले बताउनुभयो ।

आफ्नो होटलमा १६ जना कर्मचारी रहेकोमा अहिल तीन जना बाहेकलाई विदामा पठाएको उहाँले जानकारी दिनुभयो । १५ दिनपछि अरु तीन जना आउने र अहिले रहेकालाई विदा दिने गरि व्यवस्थापन गरिएको उहाँको भनाई छ । पाहुँना नहुँदा कर्मचारी र मजदुर पाल्न कठिन भएको व्यवसायीको भनाई छ । भूकम्प, नाकाबन्दी हुँदै कोभिडसम्म आइपुग्दा सौराहाको पर्यटन व्यवसाय निकै प्रभावित भएको छ ।

युनिक वाईल्डलाईफ रिसोर्टका सञ्चालक गुणराज थपलिया खोल्नुभन्दा पूरै केही समयका लागि बन्द गर्दा व्यवसायीलाई राहात मिल्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “एउटा दुई वटा कोठा बेचेर कसरी खर्च धान्ने ? न खोलेर पर्यटक आउँछन्, न बन्द गर्न पाईएको छ ?” कर्मचारी मजदुर पाल्न नै समस्या भएको क्षेत्रीय होटल संघ चितवनका महासचिव समेत रहनु भएका थपलियाको गुनासो छ ।

कोभिडसँगै सौराहा क्षेत्र सुनसान बनेको छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे कोभिडका कारण व्यवसायी निकै मर्कामा परेको बताउनुहुन्छ । होटलमा मजदुर कर्मचारी पाल्न र दैनिकी चलाउन समेत व्यवसायीलाई समस्या हुन थालेको उहाँको भनाई छ । बुकिङ भएका कार्यक्रमहरु रद्द हुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको घिमिरेले जानकारी दिनुभयो ।

सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गर्न लगाएको रोक फिर्ता नभएसम्म कार्यक्रम हुन नसक्ने घिमिरेको भनाई छ । होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरी धेरै कार्यक्रम रद्द हुँदा ठूलो नोक्सान भएको बताउनुहुन्छ । जनवरीमा चार वटा र फेब्रुअरीमा ६ वटा विवाह बुकिङ भए पनि अधिकांश स्थगन भएको उहाँले जानकारी दिनुभयो । पर्यटक र कार्यक्रम नहुँदा मजदुर कर्मचारी पाल्न कठिन भएको गिरीको भनाई छ । उहाँले भन्नुभयो “अलि अलि व्यवसाय होला जस्तो हुन्छ, समस्या आईहाल्छ ।” यसले गर्दा पर्यटन क्षेत्र प्रभावित बनेको गिरी बताउनुहुन्छ ।

सौराहामा एक सय २० होटल रहेका छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षहरुमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !