चितवनः हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाई हुने गर्दछ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाई गरेपछि सँगै चिया नास्ता लिँदै सरसफाई सम्बन्धी भलाकुसारी हुने गर्दछन् ।

यो अभियानले एक दिनको सरसफाई मात्रै होइन, निरन्तर सफाई राख्ने कुराको खोजी गरिरहेको छ । कमिकमजोरी पहिचान गर्ने, त्यसको समाधानको खोजी गर्ने मात्रै होइन, दीर्घकालिन समाधानका बारेमा छलफल चल्ने गर्दछ । गत वर्षबाट शुरु भएको यो अभियानमा अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, मेसु प्रा.डा.कृष्णप्रसाद पौडेल सहित अस्पतालका कर्मचारी र विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति हुने गर्दछ । पछिल्ला केही साता मेसु पौडेलको नेतृत्वमा अस्पतालका कर्मचारी मात्रै सहभागी हुँदै आएका छन् ।

मेसु पौडेलले भन्नुभयो “हामीले यस अभियानलाई निरन्तरता दिएका छौं, जसले अस्पतालको सरसफाईमा सहयोग पुगेको छ ।” आफू स्वयं उपस्थित हुँदै गर्दा सरसफाईकर्मी र अन्य कर्मचारीहरु समेत सक्रिय रुपमा सहभागी हुने गरेको उहाँको भनाई छ । पौडेलले अगाडि थप्नुभयो “एक दिनको सफाई मात्रै भएका छैन, सरसफाईकर्मीहरुलाई हौसला मिलेको छ ।”

सरसफाईका कर्मचारीहरुसँग अन्य समयमा भेट नहुने बताउँदै उहाँले भन्नुभयो “उनीहरुको गुनासा सुन्ने, सम्बोधन गर्ने काम यही अभियानबाट भएको छ ।” सरसफाईसँगै सँगै बसेर चिया नास्ता खाँदा उनीहरुले आफ्ना गुनासा राख्ने अवसर पाएको पौडेलको भनाई छ । यस अभियानले अस्पताललाई सफा राख्नुपर्छ भन्ने जागरण सिर्जना भएको उहाँ बताउनुहुन्छ ।

सरकारी अस्पताल भएकाले सेवाग्राहीले फोहोर बिसर्जनलाई महत्व नदिने हुँदा ठाउँठाउँमा फोहोर हुने गर्दछ । अभियान शुरु गर्नु अघि अस्पताल फोहोर हुने गरेको निकै धेरै गुनासो आउने गरेकोमा केही सम्बोधन भएको पौडेलले जानकारी दिनुभयो । गत वर्ष शुरुवाती चरणमा सामाजिक संघ संस्था र प्रहरीसँग सहकार्य गरेर अध्यक्ष अधिकारीको नेतृत्वमा अभियान थालनी गरिएको हो । तत्कालिन समयमा हरेक शनिबार सरसफाई गर्ने गरिन्थ्यो । यो अभियानमा नेपाल प्रहरीसँगै, वे ग्रुप नेपाल, सन्देश फाउन्डेसन, महानगर युवा सन्जाल, द युनाईटेड चितवन, वार्सा नेपाल लगायतका अन्य बिभिन्न संघ संस्थाहरु सहभागी हुने गरेका थिए ।

पौडेल सुपरिटेण्डेण्ट भएपछि भदौबाट यो अभियान सोमबार गर्न थालिएको हो । पछिल्ला केही साता अस्पताल बाहिरका अभियान्ताहरु सरसफाईमा सहभागी भएका छैनन् । पौडेलले भन्नुभयो “निकै चिसो भएकाले अभियान्ताहरु नआएको हुन सक्छ ।” अस्पतालभित्र सरसफाईका लागि भनेर ९२ जना कर्मचारी कार्यरत छन् । ती कर्मचारीहरुलाई अन्य काममा लगाईने हुँदा सबैले सरसफाईमा ध्यान दिन पाउँदैनन् ।

‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन’ ‘फोहोरमैला जथाभावी फाल्नेहरु समाजका शत्रु हुन’ भन्ने नाराका साथ अभियान सञ्चालन हुँदै आएको छ । शुरुवाती चरणमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख समेतको उपस्थिति हुने गरेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष अधिकारी अस्पताल सफाई गर्ने अभियान आफ्नै नेतृत्वमा थालिएको बताउनुहुन्छ । यसबाट सबै सफा नभए पनि सन्देश प्रवाह भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “धेरै मानिसको आवतजावत हुने भएकाले फोहोर हुन्छ, अस्पतालका सबै ठाउँमा नियमित सरसफाई छुट्न सक्ने हुँदा अभियान सार्थक भएको छ ।”

अस्पताल विकास समितिका पूर्व अध्यक्ष समेत रहनु भएका प्रदेश सभा सदस्य विजय सुवेदी फोहोर मैला व्यवस्थापनमा अस्पतालमा सकारात्मक गतिमा काम भईरहेको बताउनुहुन्छ । अस्पतालमा फोहोर व्यवस्थापन व्यवस्थित नभएसम्म बाहिरबाट अभियान्ताहरुसहितको सहयोग आवश्यक पर्ने भन्दै उहाँले आउँदा दिनहरुमा फोहोर मैलाको व्यवस्थापन पद्धतिमा आएसँगै अभियान आवश्यक नहुने बताउनुभयो । अहिले अस्पताल प्रमुख स्वयं उपस्थित भएर नियमित सरसफाई गर्नु सकारात्मक रहेको उहाँको भनाई छ ।

अस्पताल होचो ठाउँमा भएकाले ढल निकासको समस्या रहेको छ । ढल निकास, अस्पतालले फोहोरको वर्गीकरण गर्ने, त्यहाँबाट निस्किएको फोहोरलाई प्रशोधन गरेर पठाउने जस्ता काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस !