चितवन: यहाँका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य नबढे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दवाव दिएको हो ।

दूधको मूल्यमा प्रतिलिटर रु.१५ देखि २० सम्म बढाउनु पर्ने उनीहरुको माग छ । संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताउनुभयो । सरकारले एक लिटरमा रु. १० मूल्य बढाएर किसानलाई रु.सात र डेरी उद्योगीलाई रु.तीन दिने तयारी गरेको भए पनि यो किसानको पक्षमा नरहेको उहाँको भनाई छ ।

न्यौपानेका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा रु. ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्याधिक बृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु. ६३ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनु पर्छ ।” सरकारले तीन वर्ष यता दूधको मूल्य बढाएको छैन ।

हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान रहेका छन् । जसबाट दैनिक २ लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाण्डौं, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने संघले जनाएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत बृद्धि भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !