चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित गरेको सबै सेवाहरु आजबाट सञ्चालनमा ल्याएको छ । चितवन प्रशासन कार्यालय भरतपुरले सेवाहरु सञ्चालनमा ल्याएको जनाएको छ । सेवा स्थगित गरेको मालपोत कार्यालय भरतपुरले पनि भोलि सोमबारदेखि कार्यालयका सबै सेवाहरु सञ्चालनमा ल्याउने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले कोरोनाका कारणले स्थगित भएका प्रशासनको सबै सेवाहरु चालु अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयका सेवाहरु एक हप्ता स्थगित हुन पुग्यो । प्रशासनको सम्पूर्ण सेवाहरु आजबाट सञ्चालन भएका छन् ।”

उहाँका अनुसार जिल्ला प्रशासनका नागरिकता फाँट, राहदानी फाँट, राष्ट्रिय परिचयपत्रको सेवालगायतका सम्पूर्ण सेवाहरु आजबाट सञ्चालन भएका छन् । शर्माले भन्नुभयो “स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिइरहेका छौँ, सात दिनसम्म बन्द भएका कारण सेवाग्राहीको संख्या अघिपछिको तुलनामा बढी नै छ । मास्कलाई अनिवार्य भनेका छौँ । सेनेटाइजरको प्रयोग भइरहेको छ भने दुरी कायम गरेका छौँ ।”

मालपोत कार्यालय चितवनले पनि आज सूचना जारी गरी भोलि सोमबारबाट सबै किसिमका सेवाहरु सञ्चालनमा ल्याउने जनाएको छ । मालपोत कार्यालयमा पनि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माघ १० गतेदेखि सेवा स्थगित भएको थियो । मालपोत कार्यालयले सूचनामा सेवा लिन आउनेहरुलाई खोप कार्ड लिएर आउन अनुरोध गरेको छ । खोप कार्डको फोटो मोबाइलमा भए पनि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !