चितवनः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफ्नो प्रदेशलाई शिपयुक्त जनशक्ति भएको प्रदेशको रुपमा बिकास गर्ने बताउनुभएको छ । चितवन महोत्सबको १३ औं संस्करणको आज यहाँ उद्घाटन गर्दै उहाँले आन्तरिक रुपमा शिपयुक्त जनशक्ति उत्पादन भए संगै बाहिरबाट जनशक्ति ल्याउनु नपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो “तीन महिना सम्म प्रदेश सरकारले खर्च गरेर शिपमुलक तालिम दिन्छ ।”तालिम प्राप्त जनशक्तिले सहजै काम पाउने उहाँको भनाई थियो । उद्योगमा लगानी मैत्री बातावरण वनाउने भन्दै उहाँले ट्रेडबाट देशको बिकास हुन सम्भव छैन भन्नुभयो । बन्द भएका उद्योगहरुको संञ्चालनका लागि आबश्यक गृहकार्य सुरु गरिएको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो “उद्योगपति वन्न आँफैले उद्योग सञ्चालन गर्नुपर्छ । बाहिरबाट ल्याएर सामान वेचेर उद्योगपति वनिदैंन ।” राष्ट्रिय आबश्यकता हेरेर स्वदेशमानै उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारी बिद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रदेश सरकारले निशूल्क शिक्षा दिने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले लोपोन्मुख जातिलाई हरेक पालिकाबाट एक जनाको दरले एसईई पछि प्राबिधिक शिक्षा दिएर पालिकामानै रोजगारीको अबसर सृजना गर्ने गरि प्रदेश सरकारले काम गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले नीति गत रुपमा उद्योग व्यापारका क्षेत्रमा सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “५० वर्ष अघिको नियम कानुनले काम गर्न अफ्ठ्यारो भयो ।”सोही अबसरमा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल, बागमती प्रदेश उद्योगबाणीज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका नेता रामप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका अध्यक्ष यमबहादुर परियार, नेकपा एकिकृत समाजबादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने, उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेल लगाएतले कोभिडबाट जोगिएर महोत्सबमा सहभागी हुन आग्रह गर्नु भएको थियो ।
उद्योग वाणिज्य संघ चितवनले महोत्सबको आयोजना गरेको हो । महोत्सब मुल आयोजक समितिका संयोजक एबं संघका अध्यक्ष राजु श्रेष्ठले महोत्सबको बारेमा बिस्तृत जानकारी गराउनु भएको थियो । महोत्सब माघ ४ गते सम्म सञ्चालन हुने छ ।
वि. सं. २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिएको छ । यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टै छुट्टै परिसर रहेका छन् । विशेष गरी चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यस पटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सव भित्र राखिएको छ ।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहित रहेका छन् । महोत्सवमा चारवटा विशेष र डोमसहित ४ सय वटा स्टल रहेका छन् । महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ । महोत्सब सुरु हुनु अघि नारायणगढ वजार क्षेत्रमा शोभायात्राको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !