चितवनः बाढिले बगाएर भारत पुगेको एउटा गैंडा नेपाल तर्फ आएको मौका पारेर उद्धार गरि चितवन राष्ट्रिय निकुञ्ज तर्फ ल्याईदै छ । भारतिय सिमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका वडा नम्बर ६ बाट गैंडालाई डाट गरेर बेहोस वनाई आज चितवन तर्फ ल्याउँदै गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. बिजय श्रेष्ठका अनुसार अन्दाजी ७÷८ वर्षको भाले गैंडालाई उद्धार गरि ल्याईएको हो । बाढिका कारण भारत पुगेको सो गैंडा यही मंसिर १५ गते नेपाल तर्फ आएको थियो । नेपालमा उखु, तरकारी लगाएतका खाध्ययान्न बालि खान पल्किएको गैंडा यस अघि तिहारको समयमा केही दिन सोही क्षेत्रमा देखिएको थियो । श्रेष्ठका अनुसार त्यतिवेला नियन्त्रणमा लिन खोज्दा भागेर भारत तर्फ गएको थियो ।
नेपाल तर्फ आएको मौका पारेर गैंडालाई चितवन ल्याईउन लागिएको हो । श्रेष्ठले भन्नुभयो “वि. सं. २०७४ वा त्यस अघिका बाढिमा यो गैंडा बगेर भारत पुगेको हो ।” श्रेष्ठकै नेतृत्वमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राबिधिक कर्मचारी संगै सुरक्षा कर्मीले गैंडालाई उद्धार गरेका हुन । सो क्रममा ६ वटा हात्ती परिचालन गरिएको थियो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार गैंडालाई निकुञ्जको पूर्बी क्षेत्रमा छाडीदैं छ । गैंडाको संख्या कम भएको क्षेत्रमा छाड्न लागिएको हो । सुस्ताको उखुबारीमा गैंडा चरेको देखेपछि स्थानीयले निकुञ्जलाई खबर गरेका थिए । सन् २०१७ र २०१८ मा नेपालले भारतका विभिन्न ठाउँमा पुगेका १० वटा गैंडा फिर्ता गरेको थियो। भारत पुगेर आफैं नेपालतर्फ फर्किएका ३ गैंडालाई पनि सीमा नजिकैबाट डार्ट गरेर चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको थियो।






