गोरखा– एम्बुलेन्स खरिदका लागि अजिरकोट गाउँपालिका–२, खरिबोटमा मंसिर ११ देखि १८ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
खरिबोट, हंसपुर, सिम्जुङ, घ्याच्चोक र लम्जुङ जिल्लाको दुधपोखरी गाउँलाई लक्षित गरेर एम्बुलेन्स खरिद सहयोगार्थ पुराणको आयोजना गरेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज धितालले बताए । राधाकृष्ण मन्दिर निर्माणका लागि अजिरकोट गाउँपालिकाले ८ लाखमा बजेट विनियोजित गरेको थियो ।
पुराणमा आरती, सङ्गीतमय कथा प्रवचन, भजनकीर्तनसहित दिव्य झाँकी दर्शनलगायत कार्यक्रम हुने बताइएको छ । मंसिर ११–१८ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिरोमणी पं. दिपक प्रसाद पौडेलले कथावाचन गर्नेछन् । महायज्ञबाट करिब ५० लाख संकलन हुने लक्ष्य राखिएको छ ।
अजिरकोटका विभिन्न ठाँउमा यस्ता मन्दिर छन् । खरिबोटमा शिवमन्दिर, वडा न ३– हंसपुरमा शिवलाय मन्दिर, काफलडाँडा, मुच्चोक, लम्जुङको दुधपोखरी गाउँपालिकामा समेत यस्ता खालका मन्दिर छन् । महायज्ञको गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले उद्घाटन गर्नेछ ।
महायज्ञबाट संकलन भएको रकमले एम्बुलेन्स सञ्चालन गर्ने मुख्य लक्ष्य रहेको धिताल बताउँछन् । उनका अनुसार भौगोलिक रूपमा विकटमा रहेको अजिरकोट र लम्जुङको दुधपोखरी गाउँपालिकाका स्थानीयलाई सहज सुविधा दिन महायज्ञ गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !