दमौली, १२ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले बन्दीपुरमा सञ्चालित होटल तथा रेष्टुराँको वर्गीकरण गरेको छ । होटल रेष्टुराँ स्तरीकरण निर्देशिका २०७४ बमोजिम कार्यालयले ती क्षेत्रमा सञ्चालित १४ होटलको वर्गीकरण गरेको हो ।

कार्यालयका प्रमुख प्रशान्त पोख्रेलले होटल रेष्टुराँमा दुई तारासहित उत्तम (ख)स्टीकर टाँस गरिएको जानकारीदिनुभयो। कार्यालयले यसअघि दमौली, आँबुखैरेनीलगायतका होटल तथा रेष्टुराँको स्तरीकरण गरिसकेको छ ।

उहाँका अनुसार होटल तथा रेष्टुराँको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको आधार बनाइनेछ ।

वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका पचास प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम ९सन्तोषजनक० र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउनेछन् । अतिउत्तम श्रेणीको होटल रेष्टुराँले तीनवटा तारा र ९क० सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ । यो लोगोे पाउन होटल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ ।

त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुईवटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्मको अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुराँले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टीकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ ।

निर्माणको अन्तिम चरणमा सभागृह

जिल्ला सदरमुकाम दमौलीमा निर्माणाधीन सभागृह भवनको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत सभागृह निर्माण भइरहेको हो । विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरुआत भएको भवन कोरोना कहरका कारण ढिलाई भएको छ । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न नहुँदा आगामी चैतसम्म म्याद थप गरिएको छ ।

भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडाँैस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण सुरु भएको थियो । उक्त भवनको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिलान्यास गर्नुभएको थियो ।

सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । सात सय ५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङस्थल समेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५।५ चौडाइको हुनेछ ।

उक्त भवनको बिहीबार सरोकारवालाको टोलीले अनुगमन गरेको छ । जिल्ला समन्वय समिति ९जिसस०का प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रादेवी पौडेल, आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख झपडबहादुर थापा, इन्जिनियर रामकृष्ण गिरी, रेखा लामिछाने लगायतले भवनको अनुगमन गर्दै हालसम्म भएका प्रगतिको बारेमा जानकारी लिनुभएको छ ।

अनुगमनका क्रममा भवनको कामले गति लिएको र निर्माण व्यवसायीले चैतभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जिसस सदस्य एवं प्रवक्ता गल गुरुङले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस !