काठमाडौँ, २३ असोज । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० को उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा रानोज भिड्दै छन् । खेल दिउँसो १२ः१५ देखि टियु क्रिकेट मैदानमा हुँदैछ । यी दुई टिम पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।
पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै ९ विकेटले पराजित गर्दै सिधै फाइनलमा प्रवेश गरेको थियो भने पोखरा पहिलो क्वालिफायरमा हार व्यहोरे पनि दोस्रो मौकामा भैरहवालाई पराजित गर्दै फाइनलमा चितवनसंगको भेट पक्का गरेको थियो ।
प्रतियोगितामा ६ खेल खेलेको चितवनले पाँच जित निकाल्दै फाइनल खेल्न लागेको हो । पोखराले भने ७ खेलमा ४ जित २ हार र एक बराबरी खेलेको थियो । उपाधि भिडन्तअघि टियु मैदानमा चितवन टाइगर्सका कप्तान सोमपाल कामी र पोखराका राइनोजका कप्तान विनोद भण्डारीले ट्रफीसंग तस्विर खिचाएका थिए । सो क्रममा दुवै कप्तानले आफ्नो टिमले जित्ने दावी गर्दै निकै मेहनत गरेर खेल्ने बताए । पहिलोपटक फाइनल पुगेकाले दुवै टिमका खेलाडी उत्साहित छन् ।
हेड टु हेड
जारी प्रतियोगितामा चितवन र पोखराको दुई खेलमा भेट भएको छ । ती दुवै खेलमा चितवनले भारी अन्तरले जित हात परेको छ । त्यसैले आज चितवनको मनोबल बढेको देखिन्छ । लिग चरणको पहिलो खेलमा पोखराले दिएको १२४ रनको लक्ष्य पछ्याएको चितवनले २० बल बाँकी छदै ९ विकेटले विजयी भएको थियो ।
यस्तै पहिलो क्वालिफायरमा पोखराले लज्जास्पद हार व्यहोरेको थियो । जारी प्रतियोगितामा पोखराले सबैभन्दा कम ६६ रन मात्रै बनाउन सकेको थियो । सो खेलमा चितवनले ७३ बल बाँकी छदै ९ विकेटको जित निकालेको थियो । यी नतिजाले पनि आज चितवनले पोखरामाथि फेरी दबदबा कायमै राख्ने संभावना देखिन्छ । यद्यपी क्रिकेट खेल हो नतिजा जे पनि आउन सक्छ । चितवनले तेस्रो संस्करणको इपीएलमा पनि पोखरालाई ७ विकेटले पराजित गरेको थियो ।
प्लेयर्स टु वाच
आजको फाइनल भिडन्तमा दुवै टिमका केही खेलाडी छन् उनीहरुको खेल हेर्न लायक हुने छ । पोखराविरुद्धको दुवै खेलमा शानदार व्याटिङ गरेका चितवन टाइगर्सका अफगानी स्टार मोहम्मद शहजादको खेल आज हेर्न लायक हुनेछ । जारी प्रतियोगितामा शहजादले ६ खेलमा १९६ रन बनाइ सकेका छन् । युवा व्याटर भीम सार्कीले पनि चितवनको व्याटिङ लाइनलाई मजबुत बनाउने छन् । उनी यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । लिग अन्तरगतको पोखरासंगको भिडन्तमा भीमले अविजित अर्धशतकीय पारी खेलेका थिए ।
यस्तै पोखराका दक्षिण अफ्रिकी खेलाडी रिचर्ड लेभी चितवनका लागि टाउको दुखाई बन्न सक्छन् । इपीएलको ९ खेलमा उनले १९६ रन बनाएका छन् । ओपनिङ व्याटिङ गर्ने लेभीको विकेट निकाल्न सके चितवनलाई जित निकाल्न सहज हुनेछ । साहन अर्चचिगे पोखराका लागि उत्कृष्ट व्याटिङ गर्दै आएका छन् । लेभी र साहनले उत्कृष्ट प्रदर्शन गरे चितवनलाई गाह्रो पर्नेछ ।
यस्तै बलिङतर्फ चितवनका दुई खेलाडी सागर ढकाल र कमल सिंह ऐरी सबैका रोजाइमा पर्नेछन् । सागर जारी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी हुन् भने कमल उत्कृष्ट तिव्र गतिको बलिङका कारण अन्य व्याटरहरुलाई समस्यामा पारि रहेका छन् । सागरले १० खेलमा १९ विकेट लिइ सकेका छन् भने कमलले ८ खेलमा ११ विकेट लिएका छन् । यस्तै पोखराका विक्रम शोबले १० खेलमा १० विकेट लिएका छन् भने नन्दन यादवले ८ खेलमा ९ विकेट लिएका छन् । आजको खेलमा यी बलरहरुको प्रदर्शन हेर्न लायक हुनेछ ।
चितवनको टिमः
सोमपाल कामी ९कप्तान०, मोहम्मद शहजाद, सेकुग्गे प्रशन्न, करिम जन्नत, वीरनदीप सिंह, दीलिप नाथ, हासिम अन्सारी, राजेश पुलामी मगर, सन्दीप सुनार इशान पाण्डे, कमल सिंह ऐरी, भीम सार्की, साहब आलम, सागर ढकाल, गौतम केसी, खडक बोहरा, देव खनाल र कृजन गुरुङ ।
पोखराको टिमः
विनोद भण्डारी (कप्तान), रिचर्ड लेभी, साहन अर्चचिगे, एसेला गुणरत्ने, केशरिक विलियम्स, सुसन भारी, सुनिल धमला, विक्रम शोब, नन्दन यादव, रविन्द्र शाही, किशोर महतो, लोकेश बम, विपिन रावल, विपिन खत्री, देव शाह, रित गौतम, विवेक यादव र अर्जुन कुमाल ।






