चितवनः मजदुर, कच्चा पदार्थ र स्थानियको अबरोधका कारण संकटमा रहेका यहाँका इट्टा उद्योग कोभिड १९ संगै बिस्थापित हुने अबस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ वटा उद्योग मध्ये गत वर्ष २ वटा उद्योग आंशिक रुपमा चलेका थिए ।

जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग रहेका छन् । चितवन इट्टा उद्योग संघका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष ४÷५ वटा उद्योगले मात्र सञ्चालन गर्ने तयारी गरेका छन् । अन्य उद्योग सधैंका लागि बन्द हुने अबस्थामा पुगेको सापकोटा बताउनुहुन्छ । कोभिडका कारण एउटा उद्योगले रु दुई करोड हाराहारी नोक्सान वेहोर्नु परेको उहाँको भनाई छ ।

कतिपय उद्योगले जग्गा बेचेर ऋण तिर्नु परेको सापकोटाले जानकारी दिनुभयो । यस वर्ष कोइलाको मुल्यमा झण्डै दोव्वर बृद्धि भएको छ । सरकारले कोभिडबाट पूर्ण रुपमा प्रभावित भएका इट्टा उद्योगलाई ऋणको व्याजमा अनुदान नदिएको उहाँले गुनासो गर्नुभयो ।

खैरहनीमा रहेको खनाल इट्टा उद्योगका सञ्चालक इश्वरी पण्डीत उद्योग सञ्चालन गर्न नसक्ने भए पछि उद्योगको नामको जग्गानै वेचेर ऋण तिर्न लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ऋण तिर्न सकिएन अब जग्गा वेच्दै छौ ।” यो पेसाबाट बिस्थापित हुन लागेको उहाँको भनाई छ । धेरैको अबस्था आफ्नो उद्योगको जस्तै भएको पण्डीत वताउनुहुन्छ ।

यहाँको इट्टा मकवानपुर, नवलपुर, गोर्खा, तनहुँ, पोखरा, काठमाडौ सम्म बिक्री हुने गर्दथ्यो । उहाँले भन्नुभयो “सरकारले उद्योग जोगाउने योजनासम्म ल्याएन ।” राप्तीको लालपुरको मनकामना र खैरहनीको चैनपुरको न्यू संगम इट्टा उद्योग गत वर्ष चलेका थिए । स्थानियको प्रदुषणको गुनासो, माटोको अभाव र महंगो, कोइलाको अश्वभाविक मुल्य वृद्धि, मजदुरको अभाव लगाएतका कारण उद्योगीहरु पुनः उद्योग सञ्चालन गर्ने मनस्थितिमा छैनन् ।

इट्टा व्यवसायी विनोदकुमार श्रेष्ठले गत वर्षदेखि ३५ वर्ष पुरानो श्री इट्टा उद्योग चलाउन सक्नु भएको छैन । उहाँले गुनासो गर्नुभयो “कच्चापदार्थनै महंगिएको छ, लगानी उठाउने अवस्थै रहेन विस्थापितनै बन्नुपर्यो ।” गत वर्ष आंशिक रुपमा चलेको मनकामना इट्टा उद्योगका सन्चालक पुष्पकुमार पिया यो वर्ष अन्यौलमा हुनुहुन्छ । गत वर्ष मुस्किलले उत्पादन गरेको १० प्रतिशत इट्टा बिक्रि भएको उहाँको गुनासो रहेको छ । पूर्वतिरबाट सस्तो मुल्यका इट्टा आउन थालेपछि जिल्लाका गुणस्तरीय इट्टा खपत हुन नसकेको व्यवसायीहरुको भनाई छ । काँँचो इट्टा पानीले बिगार्दा कुनै क्षतिपूर्ति नपाइने र विमा पनि नभएको व्यवसायीहरु बताउँछन् । इट्टाका लागि गिटी, बालुवा नमिसिएको चिम्टाइलो माटो चाहिन्छ । कार्तिकदेखि बैशाखसम्म बनाउने र पकाउने काम हुन्छ । इट्टा पकाउन अत्याधुनिक प्रविधिमा लगानी गरेका व्यवसायी पलायनको स्थितिमा पुगेका हुन ।

जिल्लाका उद्योगमा एक वर्षमा ८ हजारले रोजगार पाउने गरेको संघले जनाएको छ । नेपाल इट्टा उद्योग महासंघका उपाध्यक्ष समेत रहनु भएका सापकोटा एउटा उद्योग सञ्चालन गर्न रु ३ करोड भन्दा वढि लगानी हुने वताउनुहुन्छ । नेपालमा एक हजार तीन सय इट्टा उद्योग रहेका छन् । ती मध्ये ४० प्रतिशत बन्द हुने अबस्थामा रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !