चितवन,२६ असार । उ बेलाको भरतपुर कस्तो थियो ? त्यो बेला स्थानीय तहले कसरी काम गर्थे ? बेलाबखत यी प्रश्नहरु उब्जिन्छन् । साविकका भरतपुर र नारायणगढ गाउँ पञ्चायत मिलाएर २०३५ सालमा भरतपुर नगर पञ्चायत बन्यो । बहुदल आएपछि २०४८ मा भरतपुर नगरपालिकामा रुपान्तरण भयो । १४ वडामा विस्तार गरियो । पछि ५ गाविस गाभिएर २०७१ कार्तिक मा उपमहानगरपालिका बन्यो । २०७३ मा नारायणी, चित्रवन नगरपालिका र कविलास गाविस गाभेर महानगर बन्यो । भरतपुर महानगरका ती पुराना दिनलाई आज हामिले खोतल्ने प्रयास गरेका छौँ ।

बहुदल पछिको भरतपुरको पहिलो उपमेयरका रुपमा जगन्नाथ पौडेल चुनिए । २०४९ सालमा चुनिएका पौडेलले देशैभरीको सर्वोत्कृष्ट नगरपालिकाका रुपमा पुरस्कृत गराउन भूमिका खेले । इन्टरनेशनल भिजिटर्स प्रोग्राम (आइभीपी) अन्र्तगत अमेरिकामा तत्कालिन उपमेयर पौडेलले सांसद स्तरको सम्मान पाएका थिए । “प्रस्तुती, कार्यसम्पादन देखेरै सर्वोत्कृष्ट नगरपालिका भनेर चिनियो”, उनी भन्छन्, “त्यही बेलादेखिनै भरतपुर राज्यको चासोको केन्द्रमा पर्न थाल्यो ।” २०४९ सालमा करिब ५ हजार मत ल्याएर कांग्रेसका तर्फबाट उपमेयरमा विजयी बनेका थिए । मेयर मुक्तिलाल चुके थिए ।

प्रधानपञ्च, उपप्रधानपञ्च पदलाई बहुदल आएपछि मेयर, उपमेयर भन्न थालियो । २०३६ सालमै सर्वोच्च अदालत बार एशोसियसनको महासचिव, जिल्ला बार एशोसियसनको २०४३ सालमा अध्यक्ष बनेका जगन्नाथ प्राय काठ्माण्डौतिर हुन्थे । ल क्याम्पसमा पढाउने उनी वकालतको काम गर्थे । मित्रमणी आचार्य हत्या प्रकरण लगायतका दर्जनौँ राजनीतिक मुद्धामा बहस पैरवी गर्न चितवन आएका थिए । त्यही सिलसिलामा कांग्रेसले २०४३ सालको स्थानीय तहको चुनावमा भाग लिने निर्णय ग¥यो । “भरतपुरको प्रधानपञ्चको उम्मेदवार बनाउन काठ्माण्डौ तयार थियो”, उनी सम्झन्छन्, “तर, मलाई यहाँ उपप्रधानपञ्च बन्न भनियो ।” अस्विकार गरेर उनी बसे । २००७, २०१८ सालको आन्दोलनमा कांग्रेसलाई सहयोग गरेका नारायण्गाढका केही अग्रज व्यक्तिका परिवारको दबाब पार्टी नेतृत्वलाई पर्दथ्यो । त्यही कारण उनी टिकट पाउनबाट वञ्चित बने । त्यसपछि २०४९ सालमा फेरी चुनाव भयोे । बहुदल पछिको पहिलो चुनाव थियो । पार्टी मेयर–उपमेयर छान्ने कसरतमा थियो । जगन्नाथ मेयरको टिकट पाउने आशमा थिए । तर, उनलाई फेरी उपमेयरकै प्रस्ताव आयो । “५ वर्ष पहिले छाडेकै पदमै उम्मेदवार बन्न दबाब आयो”, उनी भन्छन्, “गिरिजाबाबु, किसनुजीले फोन र पत्रनै पठाएपछि मान्न बाध्य भएँ ।”

उनले उ बेला गिरिजाबाबु र किसुनजीले भनेका कुरा अझै भुल्दैनन् । ‘राजनीतिमा सानो ठुलो पद हुदैन, जनताबाट अनुमोदित भएपछि अगाडी बढ्न सहज हुन्छ’ भनेपछि नकार्न सकेनन् । जगन्नाथ उबेला ‘सुप्रिम कोर्ट’ मा सयौँ मुद्धाको वकालत गर्न व्यस्त हुन्थे । नाम चलेका वकिलमा गनिन्थे । तर, पार्टीले उपमेयरमा जित्ने बलियो उम्मेदवारका रुपमा उनलाई चुनावमा दौडायो । चुनाव जिते । “जनताका गुनासा सुन्न घरमा कुनै छेकबार थिएन”, उनी सम्झन्छ्न्, “जनताले भेट्न खोज्दा कहिल्यै टार्नुपरेन, रिवन काट्दै व्यस्त बनिएन ।” उमेमेयरमा जितेका बेला उनी ऋणमा डुबे । मिल चलाउन लिएको ऋणले उनको कृष्णपुरको घरनै लिलाममा प¥यो । भाडाको घर खोजेर बसे ।

नारायणगढ बजारको बाटो फराकिलो पार्ने अभियानमा लाग्दा मुद्धानै झेल्नुपयो । करिब ५० मिटर फराकिलो बाटो लायन्सचोकदेखि पुलचोकसम्म मिचिएर ५–६ मिटरमा खुम्चिएको थियो । “टहरा भत्काउन डोजरमै चढेर गएँ, बाटो फराकिलो पार्नुपर्छ भनेर लाग्दै उल्टै मुद्धा प¥यो”, उनी सम्झन्छन्, “पछि मुद्धा खारेज भयो, बाटो चौडा पनि बन्यो ।” उनकै पालामा केन्द्रीय बस ट्रमिनलका लागि ३ विघा जग्गा साझाबाट नगरपालिकाको मातहतमा ल्याउने काम भयो । “सडक छेउछाउमै बस पार्कीङ हुन्थे, बजारनै अस्तव्यस्त थियो”, विगतको नारायणगढ सम्झदै उनि भन्छन्, “व्यवस्थित बनाउन त्यही बेला छुट्टाएको जग्गामा अहिले राम्रो बसपार्क बनेको छ ।” नारायणगढ बजारमा सार्वजनिक सवारी पार्कीङ गर्न नपाउने गरी तत्कालिन समयमा सूचना जारी गरिएको सम्झदै उनी भन्छन्, “बसहरु बसपार्कमै रोकिनुपर्दथ्यो वा रामनगरमै, त्यसपछिनै रामनगरमा शहरीकरण सुरु भयो ।”

करिब ५ वर्षदेखि बन्द बनेको नारायणी लिफ्ट सिँचाई आयोजना सुचारु गर्न नगरपालिकाले त्यो बेला भूमिका खेलेको उनी सम्झन्छन् । “बाहिरबाट प्राविधिकनै ल्याएर लिफ्ट चलायौँ, नहर सफा गर्ने काम भए”, जगन्नाथ भन्छन्, “आजभोली नहर पनि पुर्ने काम भए, रोक्ने निकाय खै ?” तत्कालिन नगरपालिकाले बजार क्षेत्रलाईनै बढी प्राथमिकतामा राख्थ्यो । सोही अनुसारको बजेट पार्दथ्यो । करिब ४ करोड हाराहारीको बजेटले अन्य वडालाई समेट्न खासै सकेको थिएन । बजारदेखि सितारामचोकसम्म कालोपत्रे सडकले जोडिएको दिन सम्झदै उनी भन्छन, “योजनालाई गाउँसम्म पु¥याउनुपर्छ भन्ने त्यो अभियान थियो ।”

त्यही बेलादेखि ग्रामीण वडाहरुलाई विकासमा जोड्न थालिएको बताउँछन् । तत्कालिन भरतपुर नगरपालिकाका पूर्वउपमेयर जगन्नाथ पौडेल एयरपोर्ट र व्यारेक सार्न नसकेकोमा अझै चिन्तित छन् । “शहरको बीचमा उपयुक्त छैन, एयरपोर्ट शुक्रनगरतिर, व्यारेक ठिमुरा तिर सार्नुपर्छ भनेर सरकारको ध्यानाकर्षण गरायौँ”, उनी भन्छन्, “त्यो बेलाको सरकार पार्टीभित्रको आन्तरिक कलहमा थियो, कार्यान्वयन हुन सकेन ।” तत्कालिन भरतपुर नगरपालिकाले थालेका केही अभियानले अझै पूर्णता पाउन नसकेकोमा दुखी छन् । “व्यारेक, एयरपोर्ट सार्ने काम अझै अन्यौलमै छ”, उनी भन्छन्, “सरकारका संयन्त्र जाग्ने वित्तिकै यो काम तुरुन्तै बन्छ, तर अहिलेसम्म प्रगती भएन ।” अहिलेको महानगरले फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट बनाउने दाबी गरिरहदा अझै बनाउन नसकेकोमा अचम्मित छन् । “अध्ययन, अनुसन्धानमै समय विताएर कहिले तयार हुन्छ”, उनले भने, “फोहर संकलन, व्यवस्थापनको विधि के, अझै टुंगो छैन, यसरी स्मार्ट सीटी सम्भव छैन ।”

योजनाका नाममात्रै देखाएर महानगरले विकासमा फड्को मा¥यो भनेर भन्न नसकिने तर्क गर्छन् । “अहिलेको पीच कति वर्ष टिक्छ ?”, उनी भन्छन्, “सडकमा पेटी बन्छ, कालोपत्रे बन्छ, तर ढल बन्दैन, यो विकास कति दिन टिक्छ ?” सामान्य वर्षातका बेला पानी तालिएर जलमग्न हुने स्थितिले विकासलाई व्यंग्य गरेको उनको बुझाई छ । १० मिनेट ढिलो गरी कार्यालय आउनेलाई हाजिरी गर्नै नदिएका दिनहरु सम्झदै उनले भने, “कर्मचारीको अनुशासन, कार्यसम्पादन मूल्यांकनमा नेतृत्व गम्भीर छ त ?” उनकै पालामा भरतपुर नगरपालिकामा पहिलो पटक कम्प्युटर भित्राइएको थियो । पौडेल २०५४ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए । एमए, बिएल गरेका उनी बरिष्ठ अधिवक्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस !