चितवनः चाडपर्बको समय सुरु हुन लाग्दै गर्दा जिल्लामा हुन सक्ने दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लाइडर गन मार्फत चेकजाँच शुरु गरेको छ ।

सडकमा बढ्दै गएको सवारी चाप र तीव्र गतिका कारण हुन सक्ने दूर्घटनाको जोखिमलाई न्युनीकरणका लागि जिल्लामै पहिलो पटक अत्याधुनिक लाइडर गन मार्फत् चेक जाँच शुरु गरिएको ट्राफिक प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकहरुको फोटो, भिडियो र सवारीको गती कैद गर्नेछ । सोही आधारमा प्रिन्ट प्रतिसहित चालकहरुलाई कारबाही गरिने भट्टले बताउनुभयो । अधिकाशं गम्भीर प्रकृतिको दुर्घटना तिब्र गतिकै कारण हुने भएकोले यसको प्रयोगले दुर्घटना न्युनिकरण गर्न सहयोग मिल्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो “अधिकाशं गम्भीर प्रकृतिको दुर्घटनाका कारण नै तिव्र गति हो । लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकहरुको फोटो भिडियो र सवारीको गती कैद गर्नेछ, त्यसैको आधारमा ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई कारबाही हुन्छ ।” यसले चालकलाई सचेत गराउने हुँदा दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिईएको छ ।

सवारीको तिब्र गतिका कारण हुने दुर्घटनाबाट मानिसको ज्यानै जान सक्ने दर ४० देखि ५० प्रतिशतले बढ्ने उहाँको भनाई छ । सवारी चलाउदा संयमित र अनुशासित हुन उहाँले सबैलाई आग्रह समेत गर्नुभयो । प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको सो गन मार्फत आज सम्म ७६ जना सवारी चालकरूलाई फोटो, भिडियो र सवारी गतिको प्रिन्ट प्रतिसहित कारबाही गरिएको उहाँले बताउनुभयो । जिल्लाका दूर्घटना जोखिमयुक्त स्थानहरूमा केहिदिन अघिबाट दैनिक रुपमा तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई लाइडर गन मार्फत चेकजाँच सुरु गरिएकको हो ।

यस अघी कार्यालयले दुर्घटना न्युनीकरण गर्नका लागि ट्राफिक सचेतनामुलक बोर्ड राखेको थियो । बढी दुर्घटना हुने आँपटारी, रामनगर, गोन्द्राङ, टिकौली जंगल सडक खण्डको दुवैतर्फ ४ स्थानमा र गोलघुम्ती रहेका केन्द्रिय बसपार्क, चौबिसकोठी र आँपटारीमा सचेतनामुलक ९ थान रिफ्लेक्टिङ बोर्ड राखिएको छ ।

यस्तै चाड पर्व लक्षित गर्दै यात्रुहरुको चाप वढि हुने स्थानमा सहायता कक्ष स्थापना गरिएकको छ । जिल्लाको बिभिन्न चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको भट्टले जानकारी दिनुभयो । नारायणगढको पुलचोकक, केन्द्रिय वस ट्रमिनल, पोखरा बसपार्क र मुग्लिनमा सहायता कक्ष राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !