शीला देवकोटा
चितवनः श्रावण महिना भर्खरै सकियो । यस पटकको तीज संघारमा छ । कोरोना कहरका कारण दोस्रो चरणको लकडाउन भएका कारण तीजका चेलीहरुको चहलपहल खासै छैन । लकडाउनकै कारण कार्यालयबाट फूर्सद पाएको बेला भर्खरै सकिएको श्रावण सोमबारको चटारो र तामझामले मनाइने तीजको चटारोको धार्मिक पक्षमा घोत्लिन मन लाग्यो । पछिल्ला दिनहरुमा धर्म र आस्था भन्दा देखासिकी त बढेकै छ त्यसमा पनि हाम्रै धर्मको गलत अभ्यासको लहरो बढ्दै जाँदा के धर्म हो , के होइन भन्ने नै अन्योल जस्तो छ ।

अघिल्लो साता श्रावण महिनाको अन्तिम सोमबार घरबाट कार्यालयको लागि निस्कंदै देखि विभिन्न पंहेलो ,हरियो,रातो पोशाक धारी महिला ,बालिका र ९गेरु वस्त्र धारी पुरुषहरु ० हातमा पूजाको थाली लिएर हिँडेको, थुप्रै भेटेकीथिएँ । आँपटारी पुग्द मानिसको ठूलो भिड देवघाटतिरबाट हिँडेर नै फर्कीरहेको देखेँ । अरु समयको लागि त यो सामान्य कुरा हो , प्रत्यक वर्ष श्रावण महिनाको सोमबार मानिसहरु ठूलो आस्थाका साथ भगवान शिवजीको पूजा गर्छन् । यस पटक कोरोना कहरमै पनि मानिसहरु विना हिचकिचाहट धार्मिक गतिविधिमा संलग्न देखिए । धेरै देवदेवी मान्ने हिन्दु धर्ममा यस्तै यस्तै व्रत र पूजा पर्व अनुसार प्रशस्तै छन् । कतिपय मानिसहरु धर्ममा यती धेरै लिन छन् की उनीहरु आफ्नो जीवन नै ईश्वरको नाममा अर्पित गरेकाछन् । कहिल्यै अन्न नखाने, दिनको एक छाक मात्र अन्न खाने त्यो पनि घाम नडुब्दै, मन्दिरमै मूर्ती पूजा गरेर मात्र बस्ने, छातीमा अविर घसेर हातै जोडेर मात्र बस्ने यस्ता प्रवृतिका उदाहरण हुन् ।

त्यसो त म आफु पनि धर्ममा आस्था राख्दछु । कहिलेकाँही व्रत पनि बस्छु । श्रावणको सोमबार म पनि व्रत बस्ने गर्छु, त्यसैगरी तीज, महाशिवरात्री आदिमा म ब्रत बस्ने गर्छु । तर मेरो व्रत बसाई र भगवान प्रतिको धारणा अलि फरक छ । म व्रत बस्छु त केवल मेरो स्वास्थ्यको लागि कमसेकम बेला बेलामा व्रत बस्दा पेटलाई पनि केही आराम हुन्छ, सकारात्मक सोचको विकास हुन्छ । अरुबेला सँधै दाल भात मात्र खाने म फलफूल खान्छु, पानी प्रशस्त पिउँछु र एकछाक मात्र नुन खान्छु जसले गर्दा मेरो स्वास्थ्य (शारिरिक र मानसिक )राम्रो भएको आभास मलाई हुन्छ । मैले अहिले सम्म केही नखाई खाली पेट व्रत बसेकी छैन । तीजको दिनको व्रत पनि केही खाएर बस्छु मात्र दाल,भात माछा मासु खादिन त्यती हो र मैले श्रीमानको आयु लामो होस है भनेर कामना पनि गर्दिन किनकी मेरो श्रीमानको आयु शिवजीले लामो बनाइदिने होइन भन्ने कुरामा म ढुक्क छु त्यो उहाँको स्वस्थ जीवनशैली, खानपान, आहारविहार, नियमित स्वास्थ्यजाँच व्यायाम दैनिक जीवन जिउने तरिका आदिमा निर्भर रहेको हुन्छ ।

यहाँनेर म नास्तिक पनि हैन न त कुनैपनि धर्मको अन्धभक्त वा यो धर्म राम्रो त्यो नराम्रो भन्न चाहेकी पनि होइन । म जन्मजात हिन्दु धर्म अवलम्बन गरेको परिवारमा हुर्किएकी छोरी, जानेर या नजानेर त्यसको आइडियोलोजी बुझेर वा नबुझेर त्यही अनुसार नै चलेकी महिला । हुन त हिन्दु धर्मको प्राचिन कालदेखि आफ्नै महत्व रहेको छ, पहिले हिन्दु धर्मको आइडियोलोजी नै कानुनको रुपमा प्रयोग हुन्थे । मानिसलाई धर्मको डर थियो ,पाप लाग्छ कुकर्म गर्नु हुँदैन भन्ने लाग्थ्यो, पाप गरे नर्क गइन्छ भन्ने भनाई साँच्चै हो जस्तो लाग्थ्यो सायद त्यसैले त कता कता मानिस पाप गर्न, कुकर्म गर्न अलि हिच्किचाउँथ्यो । तर अहिले आइपुग्दा के हो धर्म ? उत्तर खोज्छु । धर्म गर्न भौतारिएका मानिसहरुलाई देखेर के यिनिहरुले पाप गरेकै छैनन् त ? वा पाप गरेर मोक्षका लागि हिडेँका हुन् त ? भन्ने लाग्छ ।

हामी कतिपय महिलाहरु मन्दिरमा शिवलिंग पूजा गर्छौं, ढोग्छौं र आर्शिवाद माग्छौं । म आफु पनि कहिल्यै शिवलिंग पूजा गर्दिन र अरुले शिवलिंगलाई पूजा गरेको, ढोगेको देख्दा असाध्यै नै ढोंगी र अप्राकृतिक लाग्छ । दिनहु पुरुषका लिंगले मच्चाएका वितण्डता, आतंक, अपराध र नारकीय निर्मम घटनाहरुले अखबारका पानाहरु भरिएकाहुन्छन् । एउटी अवोध बालिका बाध्यताले, गरिवीले होटलमा काम गर्छे, त्यहाँ सुनका मोटा मोटा चेनहरुले बाँधिएको गाडीमा हिँड्ने भलाद्मी जस्तो मोज गर्न पुग्छ, त्यो सानी नानीलाई रक्सी थप्न अराउँछ र रक्सी पिउँदा पिउँदै उस्तै परे त्यो वच्चीको कलिला अंग गिजोल्न र चिर्थोन जाइलाग्छ । एउटा मात्र त्यस्तो दिन होस् जुन दिन बलात्कार र हत्याको घटना छापामा प्रकाशित नभएको होस् त्यस्तो दिन देख्न र पाउन गाहे भइसक्यो ।

बाबुको ,हाकिमको, दाजुको ,शिक्षकको, साथी, मामा, काका,भाइ, भिनाजु वा छोरा जो जतीपनि कुनै न कुनै रुपले महिलाको जीवनमा जोडिएका छन् ती सबै पुरुषहरुको लिंग जसले ती छोरी माथी गिद्धे नजर राख्यो र कुकर्म ग¥यो त्यस्ताको लिंग काटिदिने कानुन बन्नुपर्छ भन्ने मेरो मान्यता हो । अर्कोतिर एउटा गरिव ,दश ठाउँमा फाटेको लुगा लगाएको पोका, पुन्तरा बोकेको मानिस जसको न बस्ने ठाउँको ठेगान छ, न खानाको, हात फैलाएर केही मागिरहेको हुन्छ कोही भलाद्मीले त्यस्तालाई वचन लगाएर काम गरेर खान सक्दैनस् भनेर झपार्दै पठाउँछन् । त्यही भलाद्मी गेरु वस्त्र धारण गरेर ढुंगामा लगेर पैसा फलफूल मज्जाले चढाउँछ । दुःख नपरी, आपत नपरी कसैसंग हात फैलाउन मान्छे जान्छन् ? त्यसैले मूर्तीमा ढुंगामा पैसा चढाएर धर्म हुन्छ भन्ने संस्कारलाई म मान्दिन ।

अर्का भगवान श्रीकृष्ण ,१६ सय गोपिनीका प्रिय बनेका उनले पुरुष प्रवृतिलाई धेरै महिलासंग अवैध सम्बन्ध राख्न सिकाए । भगवान राम जसलाई आदर्श पुरुष भनेर पूजा गर्छौ उनैले आफ्नी श्रीमतीलाई अनेक लान्छना लगाए । त्यसैगरी भगवान विष्णु जसले छल गरेर अर्काकी श्रीमतीको पतिव्रता धर्म नष्ट गरेका थिए , अर्थात बलात्कार गरे हामी उनलाई पनि भगवानको रुपमा पुज्छौं अझ उनलाई त एउटी बलात्कृत नारीले श्राप दिएर बनेका तुलसी, पिपलको रुवरुपमा पनि समेत पूजा गर्छौं । धर्मबारे यस्तै कुण्ठित बुझाईप्रति मेरो मतान्तर छ । यसको मतलव मैले हिन्दु धर्मको विरोध गरेकी चाहीँ होइन । र मैले त केवल मेरो धारणा र बुझाई मात्र राखेकी हुँ ।

अस्ती केही दिन अगाडी कामको शीलशीलामा म आबुँ खैरेनी गएको थिएँ । एक जना बृद्ध हात फैलाएर माग्दै थिए, मैले ५ रुपैंया दिएँ र सोधेँ भोक लागेको हो ? बृद्ध एक्कासी रुन थाले र भन्न थाले ,“कोही पनि छैन मेरो, भात खान नपाएको सात दिन भयो ।” त्यसपछि एउटा होटेलमा लगेर टन्न खाना खुवाएर पैसा तिरेँ , मेरो मनले यसलाई धर्म मान्छ ।

असहाय मानिसहरु पिडामा छन्, रोईरहेकाछन्, कसैले कसैलाई कुटीरहेको छ , किन कुटेको ? कोही रोइरहेको छ , किन रोएको ? एक चक्की सिटामोलले मानिसको ज्यान बाँच्न सक्छ तर मान्छे यती वेवास्ता गरेर हिँड्छ की उसलाई आफ्नो बाहेक अरुको केही मतलब छैन । जे सुकै होस् अनि के को धर्म ? कसको लागि र के को लागि गर्ने धर्म ? पाएसम्म ठगेको छ, लुटेको छ, झुट बोलेको छ, फट्याई गरेको छ, मान्छे मारेको छ अनि के हो धर्म ?

यी सबै कुरा खोतल्दा र दिमागमा यीनीहरुको बारेमा सोच्दा, यो मनले भन्छ जैले पनि धर्म के हो रु पाप के होरु मानिस धार्मिक आस्थावान हुन र साथसाथै धर्मले देखाएका सुमार्गमा हिँडुन ताकी अर्कालाई देखाउनलाई फेसनको रुपमा धर्म, व्रत, पूजा नगरुन भन्ने लाग्दछ । धर्मले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ, मानिसलाई पाप, कुकर्म र सत्कर्म छुट्याउन सक्ने बनाउनुपर्छ । लोभ लालच, धोका— धडी, छलकपटबाट मुक्त बनाउन सक्नुपर्छ र स्वास्थ्य शरिरमा स्वस्थ मस्तिष्कको विकास गर्दै समुन्नत राष्ट्र निर्माणमा अघि बढ्न सक्ने जनशक्ती तयार गर्ने वातावरण बनाउनसक्नुपर्छ अनि बढ्छ धर्मको महत्व ।

प्रतिक्रिया दिनुहोस !