चितवनः राजधानी भित्रिने र बाहिरिने सवारीका यात्रुले खाना खाने ठाउँले चिनिएको मुग्लिन बजारमा दुई दशकभन्दा बढी समयदेखि साझा पत्रकारका रुपमा चिनिनु हुन्छ रोहिणी त्रिपाठी । उहाँले चितवनलगायत छिमेकी जिल्ला र राजधानीका पत्रकारहरुलाई मुग्लिन र आसपासका सूचना बाढ्दै आउनु भएको छ । यो वा त्यो नभनि उहाँले सबै पत्रकारहरुलाई समाचार उपलब्ध गराउनुहुन्छ ।
बि.सं. २०५३ सालमा चितवनको पारदर्शी साप्ताहिकबाट पत्रकारिता शुरु गर्नु भएका त्रिपाठीले चितवन पोष्ट, नारायणी साप्ताहिक, जनअर्पण जस्ता पत्रपत्रिकामा समाचार पठाउने गर्नुहुन्थ्यो । उहाँले राजधानी काठमाण्डौंबाट प्रकाशित हुने गोरखापत्र, दृष्टि, छलफल, नेपाल समाचारपत्र, जस्ता धेरै पत्रिकामा समाचार पठाएर सहयोग गर्नुभयो । उहाँले भरतपुरको सिनर्जी एफएममा निरन्तर रुपमा आठ वर्षसम्म समाचार पठाउनु भयो । त्यसो त चितवन, गोरखा, कास्की, तनहुँ लगायतका जिल्लाका विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारका समाचारका स्रोतका रुपमा त्रिपाठी रहनु भयो ।
राष्ट्रिय समाचार समिति चितवनका पूर्व प्रमुख गणशेखर शर्मा त्यस क्षेत्रको गतिविधि त्रिपाठीले अरु पत्रकारलाई दिने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “उनले हामीलाई समाचारहरु दिने गर्दथे ।” नारायणगढ मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा हुने दुर्घटनाका सूचना त्रिपाठीले धेरैलाई टिपाउने गर्नुहुन्थ्यो । त्यसो त अहिले पनि कतिपयले उहाँलाई नै सोध्ने गर्छन् ।
त्रिपाठीले विगतलाई सम्झँदै भन्नुभयो “सशस्त्र द्वन्द्वको समयमा जलवीरेमा तत्कालिन माओवादीले गाडी जलाएको समाचार मिडियालाई टिपाएको भन्दै सात दिनसम्म स्थानीय प्रशासनको तारेखमा बस्नु प¥यो ।” त्यतिबेला बन्दका कारण गाडी नचलेपछि पारदर्शी दैनिकको कार्यालयमा सात दिनसम्म रात बिताएको पीडा पनि उहाँले सुनाउनुभयो ।
विगतलाई सम्झँदा गहभरी आँशु पार्दै उहाँले भन्नुभयो “सूचना दिएकै कारणले मुग्लिन प्रहरीको पटक पटक कुटाई मैले खानु प¥यो ।” मुग्लिन बजारमा उहाँको पुस्तक पसल छ । त्यही पसलमा बि.सं. २०५९ सालमा फोन र फ्याक्स जडान भएपछि उहाँलाई सूचना दिन अझ सहज भयो । त्यस अघिको व्यथा सुनाउँदै उहाँले भन्नुभयो “समाचार लेखेर पु¥याउन म आफै नारायणगढ पुग्थे ।” अर्काे पीडा टेलिफोन नहुँदा उहाँलाई पिसिओमा अन्यत्रबाट पत्रकारले फोन गर्दा पनि पैसा तिर्नुपर्ने बाध्यता थियो ।
ती दिन सम्झँदै उहाँले भन्नुभयो “समाचार दिए वापत पारिश्रमिक त परैको कुरा फोन आएको खबर गर्नेलाई उल्टै एक पटकको रु.१० तिर्ने गर्थे ।” अनौठो त के छ भने त्रिपाठीले झण्डै २४ वर्षको यो अवधिमा समाचारको पारिश्रमिक अहिलेसम्म नबुझेको बताउनुभयो । त्यसो त चितवनको पारदर्शी दैनिकमा उहाँ शेयरधनी समेत हुनुभयो । त्यसमा गरेको लगानी पनि कहिल्यै फिर्ता आएन ।
उहाँले पारदर्शीमा काम शुरु गरेका बेलाका साथी पत्रकार तिलक रिमाल त्रिपाठी साझा र स्वयंसेवी पत्रकार भएको बताउनुहुन्छ । रिमालले भन्नुभयो “उहाँले दुःखका साथ समाचार दिनुहुन्थ्यो, पारिश्रमिक त परैको कुरा मुग्लिन पुग्ने प्रत्येक पत्रकारलाई चिया, खाजा, खाना केही न केही खुवाएर पठाउनुहुन्थ्यो । कतिपयलाई बेखर्ची हुँदा भाडा तिरेर पठाउनुहुन्थ्यो ।” त्रिपाठीको त्यो स्वभाव अहिले पनि छ । मुग्लिन पुगेर उहाँलाई भेट्ने सबै पत्रकारलाई केही नखुवाई उहाँले पठाउनुहुन्न । त्यो बेलाको स्मरण गर्दै रिमालले भन्नुभयो “मुग्लिनबाट समाचार बोकेर नारायणगढ आउँजाउँ गर्दा उहाँले पाउने होइन, उल्टो उहाँको खर्च हुन्थ्यो ।”
अधिकांश पुराना पत्रकारसँग बढी सँगत भएका त्रिपाठीको नवप्रवेशीसम्मका पत्रकार साथी छन् । उहाँले म पत्रकार हुँ भन्ने जोकोहीलाई पनि मुग्लिन आसपासको समाचार दिन भने कन्जुस्याई गर्नुहुन्न ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा त्रिपाठी पहाडी क्षेत्रका समाचारको स्रोत व्यक्तिका रुपमा स्थापित भएको बताउनुहुन्छ । राजधानी काठमाण्डौं, पोखरा, तराईका जिल्लाहरु आवातजावत गर्ने केन्द्रविन्दुमा रहेका त्रिपाठीले समाचार मात्रै होइन, पत्रकारहरुलाई दुःख पर्दा साथ दिने खतिवडा बताउनुहुन्छ । उहाँले भन्नुभयो “नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा हुने सवारी दुर्घटनाका समाचार स्रोतको रुपमा त्रिपाठी स्थापित हुनुभएको छ ।”
हक्की स्वभावका त्रिपाठी अरुको दमन सहन नसकेपछि सूचना दिंदै जाँदा पत्रकार बन्नु भएको हो । पत्रकारिता शुरु गरे यता उहाँ नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि लगायत विभिन्न पदमा निरन्तर रहनु भएको छ ।
जीवनभर पत्रकारका रुपमा चिनिए पनि उहाँको परिवार पाल्ने पेशा भने पुस्तक पसल नै बन्यो । पछिल्ला वर्षहरुमा पुस्तकपसलसँगै पान पसल पनि उहाँले सञ्चालन गर्नुभएको छ । जसको नेतृत्व श्रीमती शान्त त्रिपाठीले गर्दै आउनु भएको छ । दुई छोरा मध्ये एउटाले स्नातक गरिसक्नु भएको छ भने अर्काे छोराले स्नातक पढ्दै हुनुहुन्छ ।
आफ्नो उर्वर समय पत्रकारितालाई दिएर तपाईले के पाउनु भयो ? भन्ने जिज्ञासामा उहाँले गहभरी आँसु पार्दै भन्नुभयो “खुशी कमाएँ ।”








