चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकाले कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि हाल सम्म रु ८० लाख ३३ हजार ६ सय ४५ खर्च गरेको छ । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार कोरोना संक्रमणको तीन महिनामा राहत सहित बिभिन्न शिर्षकमा सो रकम खर्च भएको हो ।
राहतमा रु ६५ लाख ३३ हजार २ सय ५६, स्वास्थ्य सामाग्री खरिदमा रु ८ लाख ९६ हजार ६१, क्वारेन्टिनका लागि रु २ लाख २ हजार ५ सय ७ खर्च भएको छ । यस्तै क्वारेन्टिनमा रहेको व्यक्तिहरुको खाना, खाजा खर्चमा रु ४ लाख १० हजार ९ सय ४०, सवारी चालकका लागि रु ५८ हजार ८ सय ३०, इन्धन खर्च रु ४१ हजार ४२ र अन्यमा ७१ हजार ९ खर्च भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा पहिलो पटक कोरोना संक्रमित देखिएको स्थानीय तह भएकाले व्यवस्थापनमा चुस्त वनाईएको उहाँको भनाई छ । कोरोना संक्रमणको समयमा भएको खर्चको कार्यपालिका वैठकले अनुमोदन समेत गरेको बरालले बताउनुभयो ।
सो नगरपालिकामा १ सय २१ जनाले क्वारेन्टिन अबधि पार गरेका छन् । उनीहरु १८ देखि २१ दिन क्वारेन्टिनमा वसेको उहाँले जानकारी दिनुभयो । क्वारेन्टिनमा बस्नेहरुमा १३ जना महिला, १ सय १ जना पुरुष, तीन जना बालबालिका, २ जना गर्भवती र २ जना वृद्धवृद्धा रहेका छन् । राप्तीले ६ हजार ५ सय ३२ जनालाई राहत बितरण गरेको जनाएको छ । १३ वटा वडा रहेको सो नगरपालिकामा ६४ हजार जनसंख्या रहेको छ ।