डा. राजेन्द्रप्रसाद रेग्मी
प्राचीनकालदेखि नै आदिवासी थारू, माझी, दराई, कुमालहरूको बसोबास रहँदै आएको भए पनि सरकारी संयन्त्रबाट टाढै रहन चाहने, मालपोत छल्न ठाउँ सरीसरी बसोबास गर्ने, सरकारी संयन्त्रको सीमित पहुँचका कारण चितवन उपत्यकामा बसोबास व्यवस्थित हुन सकिरहेको थिएन । अर्कातिर रूखका पातहरू हल्लन पनि प्रधानमन्त्रीको अनुमति चाहिने भन्ने कथन रहेको राणाकालमा राजनीतिक गतिविधि त परै जाओस्, राजनीतिक सचेतनाको सुरुवातसम्म पनि हुन सकिरहेको थिएन । २००७ सालको आन्दोलनमा नेपाली काङ्ग्रेसका मुक्तिसेनाले चितवनको सदरमुकाम कब्जा गरेको घटनाबाट राजनीतिक चर्चा–परिचर्चा प्रारम्भ भए पनि तत्काल अन्य कुनै राजनीतिक गतिविधिहरू हुन सकिरहेका थिएनन् । २००७ सालको राजनीतिक परिवर्तनपछि समाजमा देखिएको बसाइँ–सराइको क्रमसँगै चितवनमा राजनीतिक चेतनाको सुरुवात भए पनि साङ्गठनिक संरचनाको निर्माण वि.सं.२०१३ मा मात्र देखा पर्न सक्यो । २०१३ सालमा नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचनाको निर्माण र विकास कसरी भयो भन्ने संबन्धमा छोटो चर्चा गर्न सान्दभिर्क हुनेछ ।
२००७ सालको राजनीतिक परिर्वतनको प्रभाव
राणाकालमा देशको सिमित भूभागहरुमा बाहेक अधिकांश भूभागहरुमा राजनीतिक गतिविधि सुन्यप्राय रहेको परिवेशमा चितवनमा पनि राजनीतिक गतिविधि सुन्यमात्र होइन राजनीतिक चेतना पनि सुन्यकै अवस्थामा रहेको थियो । चितवनको सदरमुकाममा रहेका सरकारी कर्मचारीहरुमा थोरबहुत राजनीतिक चेतना रहेको भए पनि तत्कालीत प्रशासनिक परिवेशमा कुनै कर्मचारीहरुले आआफ्नो राजनीतिक भावना मुखरित गर्ने अवस्था नै थिएन । झन् चितवनको समथर भूभागमा रहेका थारू समुदायमा त शिक्षाको कुनै अवसर नरहेको परिवेशमा कुनै थारू समाजमा पनि राजनीतिक गतिविधिको कल्पना गर्न नै असम्भव थियो । यस किसिमको परिवेशमा भएको २००७ सालको आन्दोलनमा चितवनमा यहाँका बासिन्दाहरु सहभागी हुने कुनै सम्भावना नै थिएन । भएन पनि । तर पनि आन्दोलनका क्रममा नेपाली काङ्ग्रेसका मुक्तिसेनाले बीरगञ्ज हुँदै तत्कालीन चितवनको व्यापारिक नाका ठोरी, शीतकालीन सदरमुकाम झुवानी तथा गृष्मकालीन सदरमुकाम उपरदाङगढी नियन्त्रणमा लिएको घटनाले चितवनको राजनीतिक परिदृश्यमा तरङ्ग पैदा गराउने घटनाका रुपमा देखा प¥यो । २००७ साल फागुन ७ गतेको घोषणापछि मुक्ति सेनाले चितवन कब्जा गरेको घटना चर्चा परिचर्चाको विषय बन्यो । राजनीतिक चेतना विस्तारै विकसित भयोे । २००७ सालको राजनीतिक परिवर्तनको एक सम्वाहक दलका रुपमा नेपाली काङ्ग्रेसका सम्बन्धमा चर्चा हुन थाल्यो । अन्ततः नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचनाका लागि एउटा आधार तयार हुँदै आयो ।
चितवनमा बखानसिंह गुरुङको आगमन तथा उनका कार्यहरु
२००७ सालको आन्दोलनमा चितवन कब्जा भएको घटना तथा २००७ सालको राजनीति परिवर्तनको घटना चितवनको राजनीतिक परिदृश्यमा चर्चाको विषय बन्दै आएको भए पनि, चितवनका विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत सीमित कर्मचारीहरु, चितवनको पूर्वी भागको कछारतिर बस्दै आएका केही पहाडीया बासिन्दाहरु, तथा विभिन्न मौंजाहरुमा जिम्दारी चलाइरहेका सीमित पहाडीया जिमिन्दारहरुमा राजनीतिक चेतना फाट्टफुट्ट रुपमा रहेको भए पनि तरङ्गित राजनीतिक परिदृश्यमा राजनीतिक चर्चा परिचर्चा गर्ने, साङ्गठनिक गतिविधि विस्तार गराउन सक्ने राजनीतिक व्यक्तित्वको अभाव नै रहेको थियो । यस अवस्थामा बखानसिंहको चितवन आगमन नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचना गठनमा बलियो आधार बन्यो ।
बखानसिंह राणाकालमा सेनाको जागिरे थिए । जागिरका क्रममा बखानसिंह दरवारको सम्पर्कमा पुगे । २००७ सालको आन्दोलनमा सहादतप्राप्त धर्मध्वज गुरुङका बाबु बखानसिंह नेपाली काङ्ग्रेसको आह्वानमा भएको आन्दोलनमा छोरा गुमाउनु परेका कारण उनी नेपाली काङ्ग्रेससँग भावनात्मक रुपमा जोडिन पुगे । औपचारिक शिक्षाको अवसरबाट विमुख रहे पनि सेनाको जागिरमा रहँदा उनले गरेको स्वाध्ययन तथा सेनाको जागीरमा रहँदा समेत उनले गरेका सामाजिक कार्यहरुले उनी जागिरमा सीमित भएर बस्न सकेनन् । राजा त्रिभुवनसँगको सामिप्यताका कारण उनी राजा त्रिभुवनकै सल्लाह र सुझावमा चितवनमा नयाँ बस्ती विकासको अभियानका साथ २००९ सालमा चितवन आएर बसोबास सुरु गरे । नारायणगढ र भरतपुरको बीचमा रहेको क्षेत्रपुरमा बन फडानी गरी बस्ती बसाउने कार्य अगाडि बढाए । यस अभियानमा लागि रहँदा उनले कयौं पटक बनमुद्दा समते खेप्नु परेको थियो । तर पनि राजा त्रिभुवनको सहयोग र निर्देशनमा बनमुद्दाबाट सफाइ पाएका थिए । वास्तवमा शहीदपिता बखानसिंहको चितवन उपस्थिति नै नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचना निर्माणमा बलियो आधार बन्यो भने अझ उनले राजा त्रिभुवनको सल्लाहमा चितवनमा बस्ती विकासमा काम गर्न गरिएको निर्देशन अनुसार क्षेत्रपुरमा बस्ती बसाउने कार्यमा गरेको अगुवाइले चितवनमा उनको प्रभाव निकै विस्तार भएको थियो । यस अवस्थामा उनको उपस्थिति, उनका प्रत्येक कार्य तथा उनका बैचारिक चिन्तनहरु चितवनमा नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचना गठनमा निकै बलियो आधार बन्यो ।
कमलकुमार राईको आगमन
कमलकुमार राई नेपाली राष्ट्रिय काङ्ग्रेसका संस्थापक, वि.सं. २००४ को विराटनगर जुट मिल हड्तालको क्रममा पहिलो दिन धर्ना टोलीमा सम्मिलित एक नेता थिए । उनलाई राजनीतिक सङ्गठनको जिम्मेवारी दिएर चितवन पठाइएको थियो । चितवनमा आएपछि राईले बस्तीविकास अभियानमा जुटिरहेका बखानसिंह गुरुङलाई अगाडि राखेर ने.का. को साङ्गठनिक गतिविधिलाई संयोजन गर्ने काम गर्दै गए । जसका कारण नेपाली काङ्गे्रसको साङ्गठनिक संरचना गठनमा निकै बलियो आधार बन्यो ।
राप्ती उपत्यका विकास योजना र सो योजनामा बखानसिंहको भूमिका
राणाकालमा प्रधानमन्त्री मोहनशमशेरको शासनकालमा पनि चितवनमा नयाँ बस्ती बसाउने योजनासहित आवश्यक केही रकम समेत विनियोजन भैसकेको थियो । तर विविध कारणले सो अभियान अगाडि बढ्न सकेन । २००७ सालको राजनीतिक परिवर्तनपछि काठमाडौ उपत्यकाबाट नजिक रहेको, राणाकालमा नै चितवन उपत्यकामा बस्ती विकासको अवधारणाका सूत्राधार भीमवहादुर पाण्डे योजना विकास, कृषि र ग्राम विकास मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेको औलो रोग नियन्त्रण गर्न सकिने निष्कर्ष निकालेर तत्सबन्धि कार्यक्रम सुरु भइसकेको वन फँडानी नगरीकन पनि बस्ती बसाउन मिल्ने उपत्यका समथर परेको, प्रशस्त खुल्ला जमीन रहेको, कृषकहरूका लागि चरनको प्रशस्त सुविधा भएको, सिंचाइका लागि साना ठूला खोला र नदीनालाहरू भएको आवादी लायक भूभाग रहेको, कृषि तथा वन पैदावारजन्य कच्चा पदार्थ प्रशस्त मात्रामा रहेका कारण विभिन्न उद्योगहरूको सम्भावना रहेको पवित्र तीर्थस्थल देवघाटको काखमा रहेको हुँदा शास्त्रीय तथा धार्मिक दृष्टिकोणबाट पनि बहुमुखी विकासका लागि ज्यादै उपयुक्त स्थल मानिएको, चितवन उपत्यका नदी घाँटीको रूपमा रहेको हुँदा पनि समाजशास्त्रीय दृष्टिकोणबाट पनि बसोबासका लागि ज्यादै उपयोगी मानिएका कारण चितवनमा नयाँ बस्ती बसाउने योजना अनुरुप २०१२ सालमा राप्ती उपत्यका विकास योजना लागु भयो । सो योजनाअनुसार जनसाधारणहरुको तर्फबाट भूमिवितरण समितिमा बखानसिंह गुरुङबाट प्रतिनिधित्व गराइएको थियो । यस योजनाको कार्यक्रमअनुसार पहाडका विभिन्न जिल्लाहरुका सुकुम्बासीहरु, बाढीपीडितहरुलाई पहिलो प्राथमिकताका साथ भूमि वितरण गरिएको थियो । जसका कारण पहाडका विभिन्न जिल्लाहरुबाट बसाइ सरी आउनेहरुको लहर नै चल्यो । विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुको उपस्थितिले चितवन एक मिश्रित समाज भएको जिल्लाका रुपमा देखियो । वास्तवमा एकल स्वरुपको बसोबासमा भन्दा मिश्रित समाजका मानिसहरुमा चेतनाको स्तर निकै नै बढी हुने हुँदा चितवनमा पनि राजनीतिक चेतना प्रबल रुपमा देखा प¥यो । २००७ सालको राजनीतिक आन्दोलनको अगुवाइ गरेको कारण अन्य जिल्लाबाट चितवन आउने अधिकांश व्यक्तिहरुमा पनि नेपाली काङ्ग्रेसप्रतिको भावना प्रचुरमात्रामा देखाप¥यो । अझ भनौं नयाँ बसोबास कार्यक्रम अन्तरगत बसोबास गराइएका नयाँ बस्तीहरुमा सहकारी समिति गठन भएका थिए । सो सहकारी समिति मार्फत् किसानहरुलाई मलविउको व्यवस्था, खेती पातीका लागि ऋणको व्यवस्था, खाद्यान्नको व्यवस्था गरिएको थियो । यसरी गठन गरिएका वस्तीहरुमा बखानसिंहको प्रत्यक्ष सम्पर्क भइरहँदा निश्चय नै बखानसिंहको आस्था रहेको नेपाली काङ्ग्रेसको बैचारिक प्रभाव नपर्ने भन्ने कुरै भएन । यस अर्थमा पनि राप्ती उपत्यका विकास परियोजनामा बखानसिंहको सम्लग्नताले नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचनाका लागि एउटा बलियो आधार तयार भएको देखिन्छ ।
यसैगरी सो योजनामा कार्यरत अधिकांश कर्मचारीहरु प्रजातान्त्रिक मूल्य मान्यताप्रति आस्थावान हुनेहरु थिए । यस योजनाका निर्देशक कृष्णबम मल्ल, सह निर्र्देशक खेमबहादुर गुरुङ, थानेदार भरत गुरुङ, माल हाकिम, ग्राम विकास समितिका प्रिन्सिपल चन्द्रबहादुर गुरुङ, माल कार्यालयका हाकिम गोपीनाथ उपाध्याय,सहकारी कार्यक्रमका मुखिया दामोदर उपाध्याय, बैदार कृष्णलाल पौडेल जस्ता जिम्मेवार कर्मचारीहरु प्रजातान्त्रिक भावनाबाट अभिप्रेरित रहेका कारण पनि चितवनमा नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचनाका लागि बलियो आधार बन्नुका साथै साङ्गठनिक विकास र विस्तारमा समेत सहजता मिलेको देखिन्छ ।
बन्दीपुरे व्यापारीहरुको प्रभाव
चितवन प्राचीनकालदेखि नै एक व्यापारिक मार्गको रुपमा प्रयोग हुँदै आइरहेको थियो । मध्यकाल, शाहकाल, राणाकालमा पनि यो मार्ग उतिकै प्रचलनमा रहेको थियो । चितवनमा औलोको प्रकोप रहँदासम्म चितवनको बाटोबाट हुँदै आएको व्यापारको स्थायी केन्द्र बन्दीपुर बजार थियो । चितवनमा औलोको प्रकोप पचाउन सक्ने थारू, दराई, कुमाल बस्ती बाहेक अन्य पहाडीयाहरुको बस्ती बस्न नसकिरहेको अवस्थामा चितवनको नारायणगढ, बेलौद, देवौली (हालको रत्ननगर बजार भन्दा थोरै दक्षिणको बस्ती) मा मौसमी बजार बस्ने गरेको थियो । यी मौसमी बजारका व्यापारिहरु जाडोको समयमा यहाँ बसेर व्यापार गर्ने गर्मी सुरु हुनासाथ बन्दीपुर गएर व्यापार गर्ने गर्दथे । यानिकि उनीहरुको स्थायी व्यापारिक केन्द्र बन्दीपुर थियो भने चितवनको नारायणगढ, देवौली अस्थायी व्यापारिक केन्द्र थियो । जसका कारण बन्दीपुरे व्यापारीहरुको प्रभाव यहाँको जनजीवनमा गहिरो प्रभाव रहेको थियो ।
बन्दीपुर व्यापारिक केन्द्र मात्र थिएन । राजनीतिक रुपमा पनि अत्यन्त सचेत र सजग थियो । राणाकालमा नै नेपाली काङ्ग्रेसको प्रभाव क्षेत्रका रुपमा विकसित भइसकेको थियो । २००७ सालको आन्दोलनमा नेपाली काङ्ग्रेसले राणा प्रशासनलाई पराजित पारी जनसरकार समेत गठन गरेको थियो । यस किसिमको सचेत बन्दीपुरको राजनीतिक प्रभाव चितवनको राजनीतिक विकास र विस्तारमा टट्कारो रुपमा रहेको देखिन्छ । नेपाली काङ्ग्रेसमा होस् वा कम्युनिस्ट पार्टी वा पञ्चायती निर्वाचनहरुमा नै किन नहोस् नारायणगढका राजनीतिक व्यक्तित्वहरुलाई पन्छाएर निर्णायक सफलता प्राप्त गर्न सहज थिएन । यस किसिमको परिवेशमा बन्दीपुरका व्यापारीहरुको प्रभाव नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचनाको विकास र विस्तारको पृष्ठभूमिमा पनि ज्वलन्त देख्न सकिन्छ । नारायणगढमा व्यापार गर्दै आएका कोमलनारायण श्रेष्ठ, लालकुमार श्रेष्ठ, जवाहरलाल प्रधान, सूर्यनारायण पिया, उदयकुमार पिया, फौदबहादुर बानिया, श्रीहर्ष खनाल आदिको योगदान यस सन्दर्भमा स्मरणीय रहेको देखिन्छ ।
अन्य राजनीतिक दलहरुको साङ्गठनिक संरचना गठन नभएको अवस्था
राणाकालभरी चितवनमा राजनीतिक चेतना सुन्यको अवस्थामा रहेको भए पनि २००७ सालको राजनीतिक परिवर्तन पछि शनैः शनैः राजनीतिक चर्चा परिचर्चा सुरु भयो । बन्दिपुरको राजनीतिक प्रभाव पनि पर्दै गयो । विभिन्न जिल्लाबाट राजनीतिक चेतना भएकाहरु पनि बसाइ सरी आउने क्रम पनि बाक्लिदै गयो । यस अवस्थामा विभिन्न वैचारिक समूहहरुको थलो बन्दै गयो । तर नेपाली काङ्ग्रेसको बैचारिक प्रभावका तुलनामा अन्य बैचारिक प्रभाव न्युन नै रह्यो । जसका कारण अन्य कुनै पनि बैचारिक समूहहरुले साङ्गठनिक संरचना गठन गर्न सकेनन् । यस अवस्थामा नेपाली काङ्ग्रेसको बैचारिक प्रभाव सघन बन्दै गयो । साङ्गठनिक संरचनाको बलियो आधार विकसित भयो । जसका कारण साङ्गठनिक संरचना गठन हुनुका साथै साङ्गठनिक प्रभाव विस्तारित हुँदै गयो ।
मुक्तिसेनाका कार्यरत व्यक्तिहरुको प्रभाव
२००७ सालको आन्दोलनमा सरिक भएका एमबी सुब्बा, डीबी राई, डीके शाहीलगायतका थुप्रै योद्धाहरू पनि चितवनको नयाँ बस्तीविकास कार्यक्रमअन्तर्गत चितवनमा बसोबास गर्न आएका थिए । उनीहरुको उपस्थितिले पनि नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचनाको विकास र विस्तारमा मनोबैज्ञानिक प्रभावलाई पनि यस सन्दर्भमा पन्छाएर हेर्न सकिदैन ।
साङ्गठनिक संरचना गठन र तथा पुनर्गठन
चितवनमा नेपाली काङ्ग्रेसको साङ्गठनिक संरचना गठनमा देखिएका उपरोक्त विभिन्न आधारहरुको परिवेशमा वि.सं. २०१३ को फागुनमा बखानसिंह गुरुङको अध्यक्षतामा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गठन भयो । प्रामाणिक स्रोतको अभावमा सो समितिमा को–को पदाधिकारी तथा सदस्यहरु रहेका थिए एकीन भन्न नसकिए पनि तत्कालीन समयमा क्रियाशिल उपलब्ध व्यक्तिहरुसँगको भेटवार्ता तथा अन्तरक्रियाकाबाट ६ जना सदस्य रहेको कार्यसमिति गठन भएको देखिन्छ जसमा अध्यक्षमा बखानसिंह गुरुङ (बखानपुर), सचिवमा कमल कुमार राई (भुवनबस्ती) तथा सदस्यहरुमा कृष्णप्रसाद बास्तोला (तोरीखेत), शिवकान्त मैनाली (भण्डारा), उदयनाथ अधिकारी (चैनपुर) र मैँयादेवी श्रेष्ठ (नारायणगढ) रहेका थिए । वास्तवमा यो समिति ने.का. चितवनको साङ्गठनिक इतिहासमा मात्र नभएर चितवनको राजनीतिक इतिहासमा पहिलो राजनीतिक सङ्गठन थियो । यस समितिको अर्काे विशेषता के रहेको थियो भने नेपाली काङ्ग्रेस चितवनको पहिलो कार्य समितिमा नै महिला वर्गको पनि प्रतिनिधित्व भएको थियो ।
माथि बर्णित विभिन्न कारणहरुले ने.का. को साङ्गठनिक स्थिति मजबुत हुँदै गयो । साङ्गनिक विकास र विस्तार हुँदै जाँदा वि.सं. २०१४ कार्तिकमा ने.का. जिल्ला समिति विस्तार गरी पुनर्गठन गरियो । सो पुनर्गठित कमिटीको अध्यक्षमा बखानसिंह गुरुङ, सचिवमा पूर्वी चितवन क्षेत्रबाट किशोरचन्द्र ढुङ्गाना र पश्चिम चितवन क्षेत्रबाट कमल कुमार राई तथा सदस्यहरुमा हरिप्रसाद गुरुङ, मु. लालकुमार पिया, मैंयादेवी श्रेष्ठ, कृष्णप्रसाद बास्तोला, उदयनाथ अधिकारी, भीष्मप्रताप ढुङ्गाना, देवीबहादुर कुँवर, पुष्पराज सुवेदी, शशीकुमार खनाल, मोहनबहादुर ढुङ्गाना, लालध्वज गुरुङ, विश्वकान्त मैनाली र कृष्णलाल पौडेल रहेका थिए ।
वि.सं.२०१४ को सत्याग्रहको पूर्वसन्ध्यामा गठन भएको उक्त समिति विशेष त सत्याग्रह आन्दोलनमा सक्रिय देखिएको र छिट्टै नै यस समितिमा पुनर्गठन भएका कारण यस समितिलाई कतिपय नेताहरूले जिल्ला समिति भन्नुभन्दा पनि ‘सत्याग्रह आन्दोलन सञ्चालन समिति’ भनी नाम दिनु उपयुक्त ठान्दछन् । तत्कालीन अवस्थामा सङ्गठनको कार्यक्षेत्र, कार्यप्रणाली, सङ्गठन सञ्चालन प्रक्रिया आजको जस्तै पक्कै थिएन । त्यसैले पनि उक्त समितिले सत्याग्रह सञ्चालनको अभिभारा पूरा ग¥यो । अन्य कार्यहरूमा ध्यान दिन सकेन र लगत्तै अर्को कमिटी देखापरेको स्थितिमा उक्त कमिटीलाई ‘सत्याग्रह आन्दोलन सञ्चालन समिति’ भन्नु त्यति अनुपयुक्त भन्न सकिंदैन ।
भद्र अवज्ञा आन्दोलन २०१४
२००७ साल फागुन ७ गतेको घोषणामा संविधानसभाको निर्वाचन गर्ने भनी उल्लेख भए पनि निर्वाचन हुन नसकिरहेको, २०११ सालको फागुनमा त्रिभुवनको स्वर्गारोहण पछि राजा भएका महेन्द्रका बोली र व्यवहारले निर्वाचन टार्ने काम हुँदै गइरहेको अवस्थामा ने.का. ले संविधान सभाको माग गर्दै ‘भद्र अवज्ञा आन्दोलन’ का नाममा वि.सं. २०१४ मार्ग २२ गतेबाट सत्याग्रह आन्दोलन गर्ने निर्णय ग¥यो । सोहीअनुरुप चितवनमा पनि बखानसिंह गुरुङ, विश्वबन्धु थापा, उदयनाथ अधिकारी, किशोरचन्द्र ढुङ्गानाको नेतृत्वमा सत्याग्रह आन्दोलन सुरु भयो । सत्याग्रह आन्दोलनको पूर्व निर्धारित कार्यक्रमअनुसार मार्ग २२ गतेबाट चितवनको तत्कालीन सदरमुकाम उपरदाङगढीमा धर्ना कार्यक्रम प्रारम्भ गरियो । कार्यक्रमको प्रथम दिन जुडीपानीस्थित मोहनबहादुर ढुङ्गानाको घरमा चितवनका नेता कार्यकर्ताहरू जम्मा भई जुलुससहित अपार जनसमुदाय उपरदाङगढीमा जम्मा भए । त्यहाँ रहेका माल कार्यालय, अदालत, वन जाँच अड्डामा धर्ना दिइयो । बखानसिंह गुरुङ, विश्वबन्धु थापा, उदयनाथ अधिकारी, किशोरचन्द्र ढुङ्गाना, कृष्णलाल पौडेल आदि नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको सो धर्ना कार्यक्रममा तत्कालीन कर्मचारीहरूको पनि पूर्ण सहयोग रह्यो । दिनभरिको धर्ना कार्यक्रमपछि नेताहरूबाट उपस्थित जनसमुदायहरूलाई सम्बोधन गर्ने काम भयो । सम्बोधनमा सत्याग्रहको औचित्य प्रकाश पार्नुका साथै राजाले संविधान सभाको तिथि नतोकेसम्म प्रत्येक सरकारी कार्यालयहरूमा काम ठप्प गराउने कार्यक्रमबारे जानकारी दिइयो । राजधानी काठमाडौँबाट टाढा रहेको, चितवनमा रहेका कर्मचारी प्रशासकहरू पनि ने.का. ले सञ्चालन गरेको सत्याग्रहप्रति सद्भाव र सहानुभूति राखेका कारण कार्यक्रम सफल रूपमा सञ्चालन भइरह्यो । यसरी चितवनलगायत देशका विभिन्न स्थानहरूमा सत्याग्रह आन्दोलन प्रभावकारी हुँदै गएपछि राजा महेन्द्रले वि.सं.२०१५ फागुन ७ गतेबाट आम निर्वाचन प्रारम्भ गरिने घोषणा गरे । निर्वाचनको तिथि घोषणापछि चितवनमा भइरहेको सत्याग्रह आन्दोलनसमेत स्थगन भयो ।
यस सत्याग्रह आन्दोलनबाट चितवनको राजनीतिक परिदृश्यमा एउटा अर्काे तरङ्ग पैदा भयो । जसबाट नेपाली काङ्ग्रेस चितवनको साङ्गठनिक विकास र विस्तारमा थप उर्जा मिलेको महशुश भयो । परिणामतः २०१५ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसको सफलताका लागि बलियो आधार तयार भयो ।