काठमाण्डौं । सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दोश्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेलाको उद्घाटन गर्दै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए। दुई देशबीचको घनिष्ठ सम्बन्ध र सहकार्य भए पनि भाषिक समस्याका कारण जनस्तरसम्म शिक्षा, संस्कृति र अनुभव आदान प्रदानमा कठिनाई हुने गरेको सभामुख महराले बताए।
‘चीनले शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभले विकासोन्मुख देशहरुलाई समेट्दै विकासका पूर्वाधारहरु निर्माण गरिरहेको भन्दै सभामुख महराले उक्त परियोजनाबाट नेपालले अन्तरदेशीय कनेक्टिभिटी, पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन, शिक्षालगायतका क्षेत्रमा सहकार्य गर्न सक्ने थुप्रै सम्भावना रहेको बताए।
चीनले गरेको चमत्कारिक विकासले विश्वलाई नयाँ सन्देश दिइरहेको भन्दै सभामुख महराले चीनको अभूतपूर्व विकासका पछाडि त्यहाँका विश्वविद्यालयहरु र शिक्षा प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए।