सनद अधिकारी

नारायणगढ (चितवन), १८ कात्तिक ः चितवन, तनहुँ र नवलपुर जिल्लाको संगमस्थल र त्रिशूली–कालिगण्डकी नदीको मिलनबिन्दुमा अवस्थित पवित्र देवघाटधाममा. आज “देवघाटधाम गण्डकी परिक्रमा महोत्सव–२०८२” सम्पन्न भएको छ । बैकुण्ठ चतुर्दशीका अवसरमा आयोजना गरिएको एकदिने पदयात्रा वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसारका उद्देश्यले गरिएको हो ।

नेपाल सन्त समाजको आह्वानमा देवघाटधाम क्षेत्रमा शालग्रामसहित गण्डकी पूजन गरी आयोजित छब्बीस दशमलव पाँच किलोमिटर लामो गण्डकी परिक्रमामा हजारौँ भक्तजन, सन्त–महन्त तथा स्थानीय प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रम संयोजक फडिन्द्र पौडेलका अनुसार देवघाटधामको धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्व विश्वसामु चिनाउनका लागि यो परिक्रमा आयोजना गरिएको हो । उहाँले करिब चार–पाँच हजार भक्तजनहरूले पूर्ण समय सहभागी भई गण्डकी परिक्रमा सम्पन्न गर्दै कार्यक्रमलाई सौहार्दपूर्ण रूपमा सम्पन्न गरेको जानकारी दिनुभयो । परिक्रमाको उद्देश्य देवघाट क्षेत्रको जलाधार र प्राकृतिक सम्पदाको संरक्षण गर्दै यसको धार्मिक र सांस्कृतिक महत्व भावी पुस्तामा हस्तान्तरण गर्नु रहेको बताइएको छ ।

संयोजक पौडेलका अनुसार परिक्रमाको औपचारिक सुभारम्भ आज बिहान देवघाटधामस्थित बेणी सङ्गममा शालग्राम तथा गण्डकी पूजन गरी गरिएको हो । त्यसपछि तनहुँतर्फ सिद्धेश्वर मन्दिरमा जलप्रसाद ग्रहण गरी मणिमुकुन्देश्वर चक्रवर्ती हुँदै यात्राको प्रारम्भ गरिएको थियो । त्यसपश्चात् भक्तजनहरू चितवनतर्फ प्रस्थान गरी त्यहाँका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्दै नारायणी नदी पार गरी नवलपुर प्रवेश गरे । नवलपुरमा गैँडाकोटस्थित मौलाकाली भगवती मन्दिर लगायतका स्थलहरूको अवलोकनपछि रमणीय पर्वतीय भू–भाग हुँदै नवलपुरको हर्दी र तनहुँको देवपुर हुँदै पुनः मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर परिक्रमा सम्पन्न भएको हो ।

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीका अनुसार गण्डकी परिक्रमा विगतदेखि नै हुँदै आएको भए पनि केही वर्ष रोकिएको थियो, जुन २०७८ सालदेखि पुनः निरन्तर गरिएको हो । उहाँले देवघाटलाई वैदिक धर्मावलम्बीहरूको प्रमुख धार्मिक धरोहरका रूपमा विश्वसामु प्रस्तुत गर्न यस परिक्रमाले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

यस परिक्रमाले धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । नेपाल सन्त समाजको आह्वानमा आयोजित गण्डकी परिक्रमा देवघाट क्षेत्र विकास समिति, स्थानीय पालिका तथा विभिन्न धार्मिक संघ–संस्थाको समन्वयमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !